जसले हिमाल चढ्न छाडे...

कुम्भराज राई

सोलुखुम्बु — वर्षमा एकपटक मात्र सगरमाथा चढेको भए अहिले फुर्वाटासी शेर्पाले २७ पटक चढिसकेका हुन्थे । तर, उनले पाँच वर्षअघि आरोहणलाई त्यागे । त्यति बेलासम्म उनी २१ पटक चढिसकेका थिए । सगरमाथासँगै उनले मनास्लु, चोयु, ल्होत्से, सिसापाङमा, आमादब्लमजस्ता कैयौं हिमाल चढे । उनी अहिलेका कीर्तिमानी आरोही कामीरिताका समकालीन हुन् ।

जसले हिमाल चढ्न छाडे...

पछिल्लो समय फुर्वाटासी सगरमाथा आरोहणका लागि चर्चित थिए । उनको हिमाल चढ्ने क्षमता देखेर अरू आरोही छक्क पर्थे । तर, उनले आमाको निधन भएयता २०७० देखि हिमाल चढ्न छाडे । खुम्बुपासाङल्हामु गाउँपालिका ४ खुम्जुङका फुर्वाटासी उमेरले ४९ पुगे । फुर्वाले जीवनको आधाभन्दा बढी उमेर हिमाल चढ्नमै बिताए । उनले हिमाल चढ्न चटक्कै छोड्नुको कारण आमाकै सम्झना हो ।


'हिमाल भनेको हाम्रो देवी हो । त्यहाँ पटक्कै नजानु नचढ्नु भनेर आमाले सानैदेखि भनिरहनु हुन्थ्यो ।' आधारशिविरमा भेटिएका फुर्वाले भने, 'तैपनि जीविकाकै लागि भनेर मैले सगरमाथा २१ पटक चढें । आमा बितेपछि मैले उहाँलाई सम्झेर हिमाल चढ्न छोडेको हुँ ।' आमा बाँचुन्जेल भनेको नमाने पनि निधनपछि हिमाल चढ्न छाडेको बताए ।


सम्भवतः सगरमाथा शिखरमा सबैभन्दा बढीपटक डोरी टाँग्ने (रोप फिक्सिङ) गर्नेमा फुर्वाटासी पर्छन् । उनले नेपालतर्फबाट ४ पटक र तिब्बती मोहडाबाट ३ पटक गरेर ७ पटक रोप फिक्सिङ गरेका छन् । हाल उनी विभिन्न आरोहण कम्पनीमै आबद्ध भएर काम गरिरहेका छन् । तर, आधारशिविरभन्दा माथि उक्लँदैनन् । उनका ३ छोरा, २ छोरी र श्रीमती छन् । आरोहण पेसाबाट उनले छोराछोरी पढाएका छन् ।


आरोहणका क्रममा कैयौं जोखिमहरू मोलेका घटना उनका दिमागमा अविस्मरणीय छन् । सँगै हिँडेका साथीहरू गुमाएका घटना आँखामा झल्झली छन् । तर, उनले नभुलेको एउटा घटना छ । एकजना फ्रेञ्च नागरिक जसले तिब्बती मोहडाबाट सगरमाथा आरोहण गरेका थिए । उनले फर्किने क्रममा 'स्नो बोर्ड' खेल्दै फर्किने बताए । फुर्वाको जिम्मा भिडियो खिचिदिने थियो । त्यसअघि उनले विभिन्न हिमालमा आरोहण गरेर फर्किने क्रममा स्नो बोर्ड खेलिसकेका थिए ।


त्यसैले उनको भिडियो लिँदालिँदै नर्थ फेसबाट हात हल्लाउँदै बिदा भएका उनी कहाँ पुगे, कसैलाई पत्तो भएन । 'अहिलेसम्म ती फ्रेञ्चको अत्तोपत्तो छैन रे,' फुर्वाले भने, 'हिमालमा साहसिक कीर्तिमानी राख्ने यस्ता मान्छे देख्दा भने अचम्म लाग्छ ।' सन् २००२ को त्यो घटना उनले कहिले बिर्सन सकेका छैनन् । उनलाई हिमालमा कीर्तिमानीको रहर कहिल्यै लागेन ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?