वनकरियाकहाँ घरबास

प्रताप विष्ट

हेटौंडा — फिरन्ते जीवन त्यागेर घर बनाई बस्न थालेका लोपोन्मुख वनकरियाको जनसंख्या ८९ मात्रै छ । उनीहरूका बस्तीमा अब घरबास (होमस्टे) सञ्चालनमा आउने भएको छ । यसका लागि फिरन्ते जीवन त्यागेर सुरुमा उनीहरूले बनाई बसेको जस्तै घर 
तयार पारिँदै छ । अल्पसंख्यकको बस्तीमा गाउँपालिकाले घरबास सञ्चालनको योजना अघि सारेको हो । 

वनकरियाकहाँ घरबास

यतिबेला खरको छानो हाल्दै घरबासको पूर्वाधार निर्माण भइरहेका छन् । 'चारैतिर बाँसको घेराबेरा लाएर माटोले लिपेका भित्ता र खरको छाना भएको घरबास निर्माण भइरहेको छ,' मनहरी गाउँपालिका अध्यक्ष्ा एकराज उप्रेतीले भने, 'वनकरिया समुदायको पुरानै शैलीको घर बनाएर पाहुनालाई अग्र्यानिक किसिमको अनुभूति दिन खोजेका छौं ।' शौचालय निर्माणको काम भइसकेको छ भने घर बनाउने काम पनि अन्तिम चरणमा पुगेको उनले बताए ।


मकवानपुरको मनहरी ४, हाँडी खोला मुसेधापको बस्तीमा बाबुराम भट्टराई प्रधानमन्त्री छँदा एक रात बास बसेका थिए । भट्टराई बास बसेको माया वनकरियाको घरबाटै घरबास सुरु हुन लागेको छ । मायाको घरसँगै उनकै जमिन घरबासमा आउने पाहुना राख्न पूर्वाधार निर्माण गरिएको वडाध्यक्ष्ा ध्रुव खडकाले बताए ।


सात वर्षअघि भट्टराई एक रात बास बस्दै वनकरियाका परम्परागत खान्की गिठ्ठा भ्याकुर र कोदाको ढिँडो भोर्लाको पातमा राखेर खाएका थिए । 'उनी बास बसेको घरबाट घरबास सञ्चालन गर्ने अवस्थामा पुगिसकेका छौं,' अध्यक्ष उप्रेतीले भने, 'गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । होमस्टे समुदायले चलाउने हो ।'


भट्टराई बास बसेको कतरे घर अहिले पनि त्यस्तै छ । 'त्यही घरबाट होमस्टे सुरु गर्दै छौं,' गाउँपालिका उपाध्यक्ष मनिला विष्टले भनिन्, 'प्रधानमन्त्री बास बसेको घर ऐतिहासिक हो ।' गाउँपालिकाले वनकरिया समुदायसँग छलफल गरी घरबास चलाउने वातावरण बनाइएको हो । सञ्चालनका लागि माया वनकरियाको संयोजकत्वमा व्यवस्थापन समिति पनि गठन भएको छ ।


सञ्चालनका पूर्वाधार तयार पार्न गाउँपालिकाले समुदायलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । यो रकमबाट शौचालय र खरको छानो छाउने काममा भइरहेको छ । मायाको घरबाट सुरु गरिने घरबासको प्रभावकारिता हेेरेर वनकरिया बस्तीमा थप विस्तारको योजना अघि बढाउने जनप्रतिनिधिको जोड छ ।


गाउँमा घरबास सञ्चालन गरिने भएपछि नियमित सरसफाइ पनि भइरहेको छ । घरबासबारे व्यावहारिक ज्ञान हासिल गर्न गाउँपालिकाले वनकरिया समुदायलाई नवलपरासीलगायत विभिन्न क्षेत्रमा अवलोकन भ्रमण गराइसकेको छ । घरबासमा आउने पाहुनालाई स्थानीय उत्पादन खुवाउन तरकारी फलाउनेदेखि स्थानीय जातका कुखुरापालन गर्न पनि तालिम दिइएको छ ।


केहीले तरकारी खेती र स्थानीय जातका कुखुरा पाल्न थालेका छन् । मुलुकको अन्य क्षेत्रमा वनकरिया समुदायको बसोबास छैन । मुसेधापको बस्तीमा १८ घरधुरी वनकरिया छन् । करिब २१ वर्ष अघिसम्म चुरेघाँचमा फिरन्ते जीवन बिताउँदै आएका वनकरिया समुदाय २०५५ देखि मुसेधापमा छाप्राे हालेर बस्न थालेका हुन् ।


सरकारले उक्त समुदायलाई राज्यको मूलधारमा ल्याउने उद्देश्यले २०६६ देखि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । जन्मदर्ता गर्नेबित्तिकै वनकरियाले मासिक प्रतिव्यक्ति २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?