कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रदेश ५ मा महिला : १० महिनामा २८ को हत्या

अमृता अनमोल

बुटवल — विवाहका लागि घरसल्लाह चल्यो । आफन्तले जेठ महिनाभित्र बिहेको टुंगो लगाए । बिहे छिनोफानो भएकै साँझ रूपन्देहीको गैडहवा गाउँपालिकाको भुजौलीकी १९ वषर्ीया सवनम निशा हराइन् । गत मंगलबार हराएकी उनको परिवारले निकै खोजबिन गरे ।

प्रदेश ५ मा महिला : १० महिनामा २८ को हत्या

छिमेकी र आफन्तकहाँ चहारे । उनी फेला परिनन् । बुधबार बिहान घरनजिक कुलोमा उनी मृत अवस्थामा फेला परिन् । हत्या गरेर शव त्यहाँ फ्याँकिएको दाबीसँगै परिवारले दोषीमाथि कारबाहीको माग गरेका छन् ।


प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि परिवारको दाबीतर्फ संकेत गरेको छ । स्थानीयको भनाइमा निशा छिमेकी युवकसँग प्रेम सम्बन्धमा थिइन् । उनी हराएदेखि ती युवक पनि बेपत्ता छन् । 'हत्या कि आत्महत्या पोस्टमार्टमपछि मात्र वास्तविकता खुल्नेछ,' प्रहरी उपरीक्षक हृदय थापाले भने, 'मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडाैं पठाएका छौं ।'


घटनामा संलग्न भएको आशंकामा प्रहरीले छिमेकी अजितउद्दीन मुसलमानलाई पक्राउ गरेको छ । हराएका युवकको खोजी तीव्र पारेको प्रहरी प्रमुख थापाले बताए । गत वैशाख २१ मा बुटवल-१४ विनायकपुरकी २५ वषर्ीया लक्ष्मी खत्री घरभित्रै मृत भेटिइन् । मृत्युको अघिल्लो बिहान उनी सासूबाट कुटिएकी थिइन् । स्थानीयका अनुसार उक्त दिन राति १० बजेतिर घरमा रुवाबासी चलेको थियो । अर्को दिन बिहान झुन्डिएको अवस्थामा भेटिइन् ।


अर्घाखाँची, गोखुंगाकी लक्ष्मीको सात वर्षअघि यहाँ विवाह भएको थियो । बिहेपछि नै दाइजो नल्याएको निहँुमा परिवारबाट हिंसा झेलेकी थिइन् । उनीमाथि कुटपिट हुन्थ्यो । उनकी ६ वर्षे छोरी छिन् । पति वैदेशिक रोजगारीमा छन् । बाबु डोमबहादुर खत्रीले नातिनी जन्मिसकेकाले यसअघि छोरीले हिंसाका कुरा बताउँदा पनि बेवास्ता गरेको बताए । बाबु र छिमेकीले लक्ष्मीको हत्या भएको उजुरी दिएका छन् ।


इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले सासू हरिमाया खत्रीलाई पक्राउ गरेको बताए । आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मुद्दा दायर गरेको जानकारी उनले दिए । 'हत्या हो कि भन्ने विषयमा पनि थप अनुसन्धान हुँदैछ । छिमेकीले नन्दको पनि संलग्नता भएको दाबीसहित नाराजुलुस गरेका थिए,' उनले भने, 'छुट्टै अनुसन्धान गरिरहेका छौं ।'


पछिल्लो समय प्रदेश ५ मा महिला हत्याका घटना बढेका छन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म प्रदेशभर २८ महिलाको हत्या भएको छ । ३ सय ६४ ले आत्महत्या गरेका छन् । धेरैले हिंसा सहन नसकेर आत्महत्या गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।


प्रदेशका प्रहरी कार्यालयमा दिनहुँजसो हत्या गरिएका र आत्महत्या गर्न बाध्य पारिएको भन्ने उजुरी आउने गरेका छन् । मृत अवस्थामा भेटिने अनुसन्धान गर्दै जाँदा हत्या वा आत्महत्या गर्न बाध्य भएका घटना आएको प्रदेश प्रहरी प्रवक्ता टीकाबहादुर कार्कीले बताए । धेरै घटनामा परिवार संलग्न भएको पाइएको उनले बताए । लोभ, लालच र इगोलाई बेलैमा समाधान गर्न नसक्दा साना विवादमा हत्याका घटना भएकोे प्रहरीको अनुसन्धानले देखाएको छ ।


श्रीमान्-श्रीमती र परिवार, साथी तथा छिमेकीबीचको अविश्वास बढा पनि धेरै घटना भएका छन् । अपरिपक्व उमेरमा हुने प्रेम सम्बन्ध, यौन विचलन र नशालु पदार्थको सेवनले महिलामाथि हिंसा हुँदै हत्यामा परिणत भएका छन् । हिंसा सहन नसकेर प्रतिकार गर्ने महिलाको हत्या भएको छ ।


त्यसको उदाहरण वाणगंगा नगरपालिकाको बालापुरकी २१ वषर्ीया सुनीता थारू हुन् । गत १६ वैशाखमा हत्या गरी फालिएको अवस्थामा घरनजिक वाणगंगा खोला किनारमा उनको शव भेटिएको थियो । मनमुटावपछि उनी र उनका पति सुरेश थारूबीच हत्याको अघिल्लो दिन प्रहरीमा मिलापत्र भएको थियो । कागजी रूपमा मिलापत्र भए पनि सुरेशको रीस शान्त भएको थिएन । आवेशमा उनले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


हत्यामा संलग्नताको आशंकामा प्रहरीले सुनीताका पतिसहित तीन जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको छ । प्रदेश प्रहरी प्रमुख डीआइजी पीताम्बर अधिकारीले महिला हिंसा र त्यसपछि हुने हत्याका धेरै कारणमा सामाजिक र पारिवारिक विचलन रहेको बताए । कतिपयमा हिंसा बढदै जाँदा त कतिपयमा विचलन बढदै जाँँदा हत्याका घटना भएका छन् ।


'सम्बन्धमा विश्वास र नैतिकता हराउँदा पारिवारिक र सामाजिक विचलन बढाएको छ,' डीआईजी अधिकारीले भने, 'यसले मानसिक विकार बढाउँदा महिलाहरू हत्याका सिकार भएका छन् ।' महिलामाथि भएका हत्याका शृंखला घटाउन के गर्नुपर्ला ? प्रदेश प्रहरी प्रमुखले यसको उपाय प्रहरीभन्दा पनि सामाजिक अगुवाले खोज्नुपर्ने बताए । 'स्थानीय तहले पनि लैंगिक समानता, सामाजिक सहअस्तित्व र नैतिक मर्यादा बढाउने खालका कार्यक्रम गर्नुपर्छ,' उनले भने ।


लैंगिक व्यवहार, काम तथा जिम्मेवारी बाँडफाँटमा समानताको अभ्यास घरघरबाट नथाल्दासम्म महिलामाथिको हिंसा र हत्याका घटना न्यूनीकरण नहुने नेता राधा ज्ञवालीले बताइन् । 'अझै पनि हाम्रा व्यवहार मात्र होइन, पाठ्यपुस्तकमै आमा भात पकाउनुहुन्छ र बाबा अफिस जानुहुन्छ भन्नेछ,' उनले भनिन्, 'यही विभेद तोड्न खोज्ने महिला हिंसा र हत्याको सिकार भएका छन् ।'


मनोविज्ञानका प्राध्यापक डा. नारायण पन्थले महिला अस्तित्व नस्वीकार्ने अहम् र आवेगले मानसिक विकृति बढा हत्याका घटना बढेको बताए । यसलाई रोक्न समाजलाई लैंगिक समानता र नैतिक शिक्षा सिकाएर मानसिक रूपले स्वस्थ हुन प्रेरित गर्नुपर्ने उनको तर्क छ । 'अनुशासन र आचरणको पहिलो पाठशाला घरपरिवार, दोस्रो समुदाय र तेस्रो विद्यालय हो । यी तीन क्षेत्रबाटै महिलालाई हिंसामा पर्नबाट र पुरुषलाई अपराधी हुनबाट जोगाउन सकिन्छ,' उनले भने, 'हिंसा सहनु सट्टा त्यसविरुद्ध बोल्ने बानी विकास गराए हत्या हुन पाउँदैन ।'

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?