१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

उखुको भुक्तानी माग्दै किसान अनशनमा

ओमप्रकाश ठाकुर

सर्लाही — उखुको भुक्तानी माग गर्दै जिल्लाका किसानले रिले अनशन सुरु गरेका छन् । भुक्तानी नपाएर भोकै बस्नुपरेको भन्दै किसानहरूले आइतबारदेखि रिले अनशन थालेका हुन् ।

धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र बगदहस्थित महालक्ष्मी सुगर मिलमा उखु बेचेको लामो समय बित्दा पनि भुक्तानी नदिएको भन्दै किसानहरूले मलंगवाको सहिद चोकमा रिले अनशन थालेका हुन् ।


उनीहरूले सरकारले तोकेको मूल्य पाउनुपर्ने, तौलमा २० प्रतिशतसम्म काटिएको रकम पाउनुपर्ने माग गरेका छन् । उद्योगीले आज-भोलि भन्दै भुक्तानी रोकेको किसानको गुनासो छ । पटकपटक ताकेता गर्दा पनि भुक्तानी नपाएपछि आन्दोलन गर्न बाध्य भएको किसानहरू बताउँछन् ।


उखु किसानसँगै बलरा नगरपालिका प्रमुख अभयकुमार सिंह र राजपा नेपालका सहमहामन्त्री राकेश मिश्र पनि रिले अनशनमा सहभागी भएका छन् । मिश्रले यस क्षेत्रका किसान भुक्तानी नपाएर भोकै बस्न बाध्य भएकाले आन्दोलनमा आफू पनि सहभागी बनेको बताए । 'पैसा नपाएर किसानको बिजोग छ, दुई छाकको गर्जो टार्न पनि समस्या भएको छ,' उनले भने, 'यस क्षेत्रका नेतृत्वकर्ता भएको हिसाबले किसानको समस्या टुलुटुलु हेरेर बस्न सकिनँ, किसानले भुक्तानी नपाएसम्म आन्दोलनमा मेरो सहयोग रहन्छ ।'


मिश्रकै नेतृत्वमा किसानले वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै ७२ घण्टाभित्र भुक्तानी उपलब्ध गराउन माग गरेका थिए । तर, भुक्तानीका लागि पहलै नभएपछि रिले अनशन सुरु गरिएको उखु किसान संघर्ष समिति क्षेत्र ४ का अध्यक्ष रामसोगारथ रायले बताए । जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योग यस वर्षको उखु क्रसिङ सकेर बन्द भइसकेका छन् ।


यसै वर्षदेखि सञ्चालनमा आएको महालक्ष्मीले यो वर्षको र अन्नपूर्णले ३ वर्षदेखिको भुक्तानी नदिएको किसानहरू बताउँछन् । 'उद्योगमा बिक्री गरेको उखुको भुक्तानी नपाउँदा घर-व्यवहार चलाउनै मुस्किल परेको छ,' हरकठवाका किसान जगरूप हजारी भन्छन्, 'उखु बेचेको पैसा नपाउँदा ऋणमाथि ऋण थुपि्रएको छ ।'


उखु किसानको भुक्तानी दिलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल बताउँछन् । उनले उद्योगी सम्पर्कमा आउन नचाहे पनि कर्मचारी स्तरमा भने यसबारे संवाद भइरहेको बताए । 'चिनी उद्योगी सम्पर्कमा छैनन्, उद्योगीको प्रतिनिधि सम्पर्कमा आएका छन्,' उनले भने, 'सोमबार छलफल गरी भुक्तानी दिलाउने प्रयासमा छु ।'


चिनी बिक्री नभएकाले किसानलाई भुक्तानी दिन समस्या भइरहेको उद्योगीहरूले बताउँदै आएका छन् । उखुको मूल्यका लागि बर्सेनि आन्दोलन गर्नुपर्ने, निर्धारित मूल्य पनि उद्योगले समयमै नदिने जस्ता कारणले सर्लाहीका किसान मारमा पर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?