कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बेबी बुद्ध भित्र्याउँदा हर्षबढाइँ

२५६३ वर्षअघि नवजात सिद्धार्थ गौतम लुम्बिनीदेखि राजप्रासाद तिलौराकोट आउँदाको झल्को देखाउन आइतबार मायादेवी प्रसूति उत्सव मनाइएको छ
मनोज पौडेल

कपिलवस्तु — विवाहको धेरै पछि रानी गर्भवती भइन् । सुत्केरी हुने दिन नजिक आउन लाग्दा उनलाई माइत जान मन लाग्यो । राजाले सहमति दिए । कपिलवस्तुदेखि देवदह राज्यसम्मको बाटोघाटो सफा गर्न लगाए । वैशाख पूणिर्माका दिन रानीलाई पालकीमा बसाएर पठाए । रानीसँगै नगरका सैन्य, कर्मचारी र सुुसारेको लावालस्कर थियो । कपिलवस्तु र देवदह सहर बीचमा लुम्बिनी शालोद्यान पथ्र्यो । 

बेबी बुद्ध भित्र्याउँदा हर्षबढाइँ

रानी त्यहाँ पुगेपछि मनोरम उद्यानको आनन्द लिन पालकीबाट ओर्लिन् । प्राकृतिक सौन्दर्यको सुखानुभूति गरिरहेका बेला उनले शारीरिक स्वभावमा परिवर्तन भएको अनुभूति गरिन् । नजिकैको सालको हाँगा समातेर उभिइन् । सँगै आएका सुसारेले सेवा गर्न थाले । तत्कालै रानीले पुत्र जन्माइन् । कपिलवस्तु र देवदहका जनताले लुम्बिनीमा भेला भएर हर्ष मनाए । रानी र राजकुमार सिद्धार्थलाई लिएर दरबारका कर्मचारी, सुुसारे सिन्दूरजात्रा गरी कपिलवस्तु फर्किए । राजाले पुत्रलाई देखेपछि हर्षको आँसु निकालेर बन्दना गरे ।


२५६३ वर्षअघि सिद्धार्थ गौतम लुम्बिनीदेखि राजप्रासाद तिलौराकोट आउँदाको उक्त झल्को देखाउन मायादेवी प्रसूति उत्सव मनाइएको छ । बुद्धपूणिर्माको भोलिपल्टको यो उत्सव मनाउन तिलौराकोटबाट एक टोली लुम्बिनी पुगेर नवजात शिशुलाई राजा शुद्धोधन र मायादेवीका सन्तानलाई तिलौराकोट दरबार लगे जसरी नै दरबार लगे । ५ नं. प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ को उपलक्ष्यमा उक्त उत्सव आयोजना गरेको हो । पर्यटकीय आकर्षण थप्दै राजकीय परम्परालाई जीवन्त बनाउन उत्सव गरिएको हो ।


तिलौराकोटबाट राजा शुद्धोधनको भेषमा सजिएका एक पुरुषसहितको एउटा टोली सुत्केरी मायादेवी र शिशुलाई लिन कपिलवस्तु नगरको प्रवेशद्वार मानिने जमुवार पुल पुगेको थियो । त्यहाँ लुम्बिनीबाट ल्याइएकी मायादेवीको भेषमा रहेकी महिला र नवजात शिशु (मूर्तिलाई बनाएर) को राजाले भव्य स्वागत गरे ।


राजा शुद्धोधन, महारानी मायादेवी र शिशुलाई सजाइएको द्वारपालसहितको आकर्षक बग्गीमा बजार परिक्रमा गर्दै दरबार पुर्‍याइएको थियो । तौलिहवा, लुम्बिनी, रामग्राम र देवदहबाट आएका व्यक्तिहरूले जयजयकार गर्दै बग्गी पछिपछि हिँडेका थिए । अघि अघि कडा सुरक्षा व्यवस्था गरिएको थियो । पछि रहेको पञ्चेबाजा र सशस्त्र प्रहरीको बाजाले शोभायमान बनाएको थियो । ठाउँठाउँमा मंगल धुन बजाइएको थियो । प्रचण्ड गर्मीमा पनि नगरवासीले ४ किमि लामो पैदल यात्रा गर्दै नवजात शिशुलाई दरबार पुर्‍याएका थिए ।


राजकुमार बालक दरबार पुग्दा चारै ढोका खोलिए । जयजयकारको वातावरण उल्लासमय बन्यो । पुष्प वषर्ा र अबिर जात्रा भयो । सबैले खुसियाली मनाए । बग्गीबाट उत्रनासाथ रातो कार्पेटमा हिँड्दै नवजात शिशुलाई लिएर राजा र रानी दरबारभित्र पसे । जनता र सुरक्षाकर्मीले हर्षबढाइँ गरे ।


बिहान १२ बजे लुम्बिनीबाट हिँडेको शोभायात्रा १ बजे तौलिहवा बजार प्रवेश गरेको थियो । राजकुमारलाई ल्याउन बजारका मुख्य चोक सरसफाइ गरी चिरिच्याट्ट बनाइएको थियो । पूर्वको नगरपालिकाको प्रवेशद्वार जमुवार पुल प्रवेश गर्नासाथ नगरवासीले शिशुको दर्शन गर्न तँछाडमछाड गरेका थिए । बाटो दायाँबायाँ जम्मा भएका श्रद्धालुले पुष्पगुच्छा र अबिरले बेबी बुद्धको स्वागत गरेका थिए ।


महारानीसहित शिशु दरबार आउँदा बाटोमा फूलमाला र अबिर जात्रा गरेर खुसियाली मनाए जस्तै यो यात्रालाई सर्वसाधारण, श्रद्धालु र उपासक उपासिकाले भव्य स्वागत गरेका थिए । लुम्बिनीबाट तौलिहवा आउँदा बाटोमा पर्ने लवनी, पकडी, बर्रोहिया र दोहनीमा ठूलो भीड थियो । यात्रामा ठूलो संख्यामा उपासक-उपासिका, भिक्षु-भिक्षुणी र बौद्ध विद्वान् सहभागी थिए ।


दरबारमा नयाँ सदस्य थपिएपछि जति खुसियाली भएको थियो, कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले भने त्योभन्दा बढी खुसी आफू मायादेवी र बेबी बुद्धमूर्ति लिन लुम्बिनी पुग्दा भए । राजा शुद्धोधनले ५७ वर्षको उमेरमा राजकुमार सिद्धार्थलाई जन्माएका थिए । ठाउँ ठाउँमा सुसारे र दरबारका कर्मचारीले स्वागत गरेको स्मरण गराउन यात्राका क्रममा ठाउँ ठाउँमा तुल, ब्यानर, पर्चा, पम्प्लेट टाँसेर सिँगारिएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?