१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

१२ कट्ठा कब्जा

भैरहवा/कञ्चनपुर — सिद्धार्थनगर नगरपालिका-१ स्थित बेलहिया माविले दुई दशकदेखि भोगचलन गर्दै आएको १२ कट्ठा जमिन व्यक्तिका नाममा दर्ता भएको छ । उक्त जमिन स्थानीयले विद्यालयका लागि खरिद गरेर दान गरेका थिए । ०५३ सालदेखि विद्यालयका नाममा दर्ता गर्न प्रक्रिया चलिरहेको थियो । 

कित्ता नम्बर ३१० र ३११ को १२ कट्ठा १५ धुरमध्ये १२ कट्ठा ४ धुर जमिन व्यक्तिका नाममा दर्ता गरिएको हो । ‘वर्षौंदेखि भोगचलन गर्दै आएको र विद्यालयका नाममा दर्ता प्रक्रिया चलिरहेको अवस्थामा व्यक्तिका नाममा दर्ता भएको पाइयो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षत्रीले भने ।


केही सरकारी कर्मचारी र भूमाफियाको मिलेमतोमा व्यक्तिका नाममा दर्ता भएको उनले दाबी गरे । ०७० चैत ६ गते सिद्धार्थनगर ९ बस्ने विजयकुमार जैसवाल र श्रीमती गंगोत्रीदेवी जैसवालबाट उक्त जग्गा सिद्धार्थनगर ३ की ज्ञानेश्वरी श्रेष्ठका नाममा रजिस्टे«सन पास भएको फेला परेको हो ।


क्षत्रीका अनुसार स्थानीय श्यामदेई निशा मुसलमानले भोगचलन गर्दै आएको उक्त जमिन ०५३ जेठ ४ गते स्थानीय समाजसेवीले खरिद गरी विद्यालयलाई दान गरेका थिए । विद्यालयका नाममा दर्ता गर्न पटक-पटक प्रयास गर्दा मालपोत कर्मचारीले त्यस क्षेत्रमा नयाँ गोश्वारा नापी भएपछि दर्ता हुने बताउँदै आएका थिए ।


उक्त जमिन सरकारको छुटकित्ता भएकाले विद्यालयका नाममा दर्ता गर्न नगरपालिकाले पटक-पटक सिफारिस गरेको थियो । ०५३ भदौ १४ मा पहिलो पटक दर्ताका लागि सिफारिस गरिएको थियो । ०६० असोज ११ मा सिद्धार्थनगर १ को सर्जिमिन मुचुल्का, ०५४ पुस २९ र ०६० भदौ २९ गते नापी शाखाको फिल्ड बुक उतारको पत्र, ०६१ वैशाख २१ मा मालपोत र नापीको स्थलगत निरीक्षण टोलीले प्रतिवेदन तयार गरेको छ । त्यसपछि ०६० असोज १३ मा सिद्धार्थनगर नगरपालिकाको विद्यालयको नाममा दर्ता गर्न दोस्रो सिफारिस गरेको थियो । यस्ता कागजात तयार गरी दर्ता प्रक्रिया चालिएको थियो ।


अहिले विद्यालयको नाममा दर्ता प्रक्रिया अघि बढाइएपछि जग्गा श्रेष्ठका नाममा रजिस्टे«सन पास भएको खुलेको स्थानीय विष्णुप्रसाद शर्माले बताए । ०५३ सालबाट विद्यालयले भोगचलन गर्दै आइरहेको जग्गा ०६९ फागुन २० गतेदेखि पहिलो पटक श्री शर्मा एन्ड कम्पनी प्रालि र पछिल्लो पटक सुरेशप्रसाद कलवारलाई भाडामा दिइएको उनले बताए । जमिन व्यक्तिका नाममा पास गराएका बेला मालपोत भैरहवाको प्रमुखमा शंकरप्रसाद सुवेदी कार्यरत थिए ।


जग्गा पास गर्ने अधिकृतका रूपमा खिमानन्द आचार्य रहेको शर्माले जनाए । आचार्यले भने उक्त जग्गा पास गर्न आफ्नो कुनै भूमिका नरहेको र आफ्नो नामबाट किर्ते हस्ताक्षर गरेर जग्गा पास गराइएको दाबी गरे । घटनाको सत्यतथ्य बाहिर ल्याउन र संलग्नलाई कारबाही गर्न आपूmले सहयोग गर्ने उनले जनाए । बेलहिया-वसन्तपुर बाइपास सडक विस्तारका क्रममा उक्त जमिनको ११ धुर सडकमा परेको थियो । त्यसपछि बाँकी जमिन विद्यालयका नाममा गराउन खोज्दा व्यक्तिका नाममा दर्ता भएको खुलेको थियो ।


मालपोत कार्यालय प्रमुख शिवप्रसाद रेग्मीले यस विषयमा छानबिन जारी रहेको, जग्गा बिक्री गर्ने र खरिद गर्ने दुवै पक्षलाई पत्र काटेर बयानका लागि बोलाइएको बताए । ‘यस विषयमा गरिएको प्रारम्भिक अनुसन्धानअनुरूप मालपोत कार्यालयमा पूरै किर्ते कागजात तयार पारी व्यक्तिका नाममा जग्गा दर्ता गराएको देखियो,’ रेग्मीले भने, ‘उक्त जग्गाको लिखत पास गर्दा कागजातमा उल्लेख गरिएको दर्ता नम्बर अर्कैको देखिन्छ ।’ लिखत, मोठ सबैमा किर्ते गरिएको र पछि कुनै माध्यमबाट मोठमा जग्गाधनी ज्ञानेश्वरी श्रेष्ठका नाम उल्लेख गराइएको उनले बताए ।


सटर सस्तोमा भाडा

महेन्द्रनगरको भृकुटी माविका वर्षौंअघि बनेका भवन जीर्ण छन् । विद्यार्थीका लागि खेल मैदान छैन तर बजारको मुख्य चोकमै रहेको जग्गामा व्यापारिक भवन बनाएर सस्तो मूल्यमा भाडा लगाइएको छ ।


निजी स्रोतका शिक्षक र कर्मचारीलाई तलब खुवाउन समस्या परेको भन्दै सात वर्षअघि बनाइएका ९ वटा सटर विद्यालयले १५ वर्षका लागि मासिक २ हजार रुपैयाँ लिने गरी भाडामा लगाएको हो । जबकि वरपरका सटरहरू ५ देखि १० हजारसम्ममा भाडा लागेका छन् । अहिले त्यही भवनको माथिल्लो तलामा ९ वटा सटर बनिरहेको छ । मासिक दुई हजारका दरले भाडा तिर्ने गरी एक लाख रुपैयाँ धरौटी तिरेर व्यापारी आफैंले बनाएका छन् ।


‘निजी स्रोतका शिक्षक र कर्मचारीलाई तलब खुवाउन पनि सटर भाडामा दिनुपर्ने अवस्था आयो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम भट्टले भने, ‘तल्लो तलाका सटर सस्तोमा दिइएकाले माथिल्लो तलामा पनि सस्तोमै दिनुपर्‍यो ।’ उनले बजार क्षेत्रमा चलनचल्तीको दरभन्दा निकै सस्तो भाडा रहेको बताए ।


महेन्द्रनगर बजार क्षेत्रका बैजनाथ र महेन्द्रनगर माविसँग करिब १० बिघा हाराहारी जमिन छ । दुवै विद्यालयले खेल मैदानसमेत बाँकी नराखेर जमिन भाडामा दिएका छन् । प्रतिबिघा वार्षिक २०/२५ हजार मात्र भाडा लिने गरी उक्त जमिन भाडामा दिइएको हो ।


वर्षौंदेखि सस्तो मूल्यमा जमिन भाडामा दिइए पनि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले यसतर्फ चासो दिएका छैनन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?