२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

डकैती गर्नेलाई घुँडामुनि गोली

इन्काउन्टरका घटनाबाट मानव अधिकार उल्लंघनमा तानिने शंका भएपछि प्रहरीले घाइते बनाएर पक्रन थालेको छ
जनकराज सापकोटा

काठमाडौँ — शृंखलाबद्ध डकैतीमा संलग्न काले भन्ने विष्णु तामाङ सोमबार बिहानै टोखाबाट पक्राउ परे । त्यसक्रममा प्रहरीले उनलाई घुँडामुनि गोली हानेको थियो । 

चोरी र डकैतीका घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको यो पहिलो घटना भने होइन । शृंखलाबद्ध डकैतीमा संलग्न राजन लिम्बूलाई नियन्त्रणमा लिन प्रहरीले गत मंसिर २१ मा ठ्याक्कै यस्तै शैली अपनाएको थियो । डिल्लीबजार जेलबाट फरार कैदी टिके भनेर चिनिने टीकाबहादुर थापा मगरलाई पक्राउ गर्दा पनि गोली चलाइएको थियो ।


महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सोमबार पक्राउ परेका तामाङ चोरी अभियोगमा ६ वर्ष जेल बसेर २०७२ मा छुटेका थिए । उनी पछिल्ला दस वर्षमा चोरी र डकैतीका १६ घटनामा संलग्न भएको रेकर्ड छ ।


ललितपुर, नखीपोटस्थित गीता गुरुङको घरबाट २०७३ पुसमा ४५ तोला सुन र साढे २ लाख नगद चोरेको अभियोग थियो । २०७३ जेठ ३१ मा नागार्जुन नगरपालिका १ स्थित राज्यवती त्रिपाठीको घरमा भएको चोरीमा पनि तामाङको संलग्नता देखिन्छ ।


उनले घरमा कोही नभएको मौका छोप्ने, घरभित्र पस्ने, नगद र गरगहना चोर्ने गरेको देखिन्छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उनी २०६६ देखि चोरी र डकैतीमा संलग्न भएको देखिएको छ ।


महाशाखाका एसएसपी सहकुल थापा प्रहरीमाथि हतियार देखाएर आइलागेका कारण प्रहरी फायरिङ खोल्न बाध्य भएको बताए । थापाले तामाङमाथि हातहतियार खरखजाना ऐन र चोरी मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए ।


महाशाखाका एसएसपी थापाका अनुसार भाग्न खोजेपछि घुँडामुनि गोली हानेर तामाङलाई नियन्त्रणमा लिइएको हो । पैदल हिँडिरहेका तामाङ गोली लागेलगत्तै ढलेका थिए । प्रहरीले उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको छ ।


चिकित्सकलाई उद्धृत गर्दै महाशाखाका एक अनुसन्धान अधिकारीले जनाएअनुसार गोलीले तामाङको हड्डी टुक्र्याएको छ । महाशाखाले तामाङबाट एक थान कटुवा पेस्तोल बरामद गरेको दाबी गरेको छ ।


प्रहरीले मंसिर २१ मा लिम्बूलाई पनि महाशाखाको टोलीले घुँडामुनि गोली हानेर घाइते बनाई कालोपुलबाट नियन्त्रणमा लिएको थियो । उनको पनि डकैती र लुटपाटमा संलग्न भएको लामो रेकर्ड छ । त्यतिबेला महाशाखाले उनीको साथबाट नाइन एमएम पेस्तोल बरामद गरेको दाबी गरेको थियो ।


माघ १३ मा थापा मगरलाई पक्राउ गर्दा प्रहरीले हात र खुट्टामा दुई गोली हानेको थियो । महाशाखाको टोलीले चितवनको रामनगरबाट उनलाई पक्राउ गरेको थियो । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनी माघ ४ मा काँडेतार काटेर कारागारबाट भागेका थिए ।

प्रहरीले पक्राउका क्रममा आइलाग्न खोजेपछि गोली प्रहार गरिएको दाबी गर्ने गरेको छ । यी तीनै घटनामा प्रहरीले घुँडामुनि मात्रै गोली हानेको छ । महाशाखामा काम गरेका एक पूर्वअधिकारीका अनुसार नक्कली इन्काउन्टरका घटनाबाट प्रहरी धेरै आलोचित भएपछि र मानव अधिकार उल्लंघनमा प्रहरी पनि तानिने खतरा बढेपछि घुँडामुनि गोली हान्ने नीति अख्तियार गरिएको हो ।


पक्राउमा संलग्न प्रहरी अधिकारीहरूले औपचारिक रूपमा गोली हान्नैपर्ने परिस्थिति आएको बताउने गरे पनि अनौपचारिक संवादमा गोली प्रहार गरेपछि गुन्डागर्दी र डकैतीका शृंखलाबद्ध घटना कमी आउने गरेको अनुभव सुनाउँछन् ।


गत साउन २१ मा भक्तपुर पेप्सीकोलाका ११ वर्षीय निसान खडकाको अपहरणपछि हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङ इन्काउन्टरमा मारिएको प्रहरीले दाबी गरे पनि अजय र गोपालको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा घटनाबारे छानबिन गर्न माग गर्दै उजुरी दिएका थिए । त्यति बेला प्रत्यक्षदर्शीले प्रहरीले नियन्त्रणमा लिइसकेपछि हत्या गरेको बताएका थिए ।


८ भारतीय पक्राउ

काठमाडौं (कास)– प्रहरी परिसर काठमाडौंले नेटवर्किङ व्यवसाय विस्तारमा संलग्न ८ भारतीयलाई पक्राउ गरेको छ । वैशाख २८ मा प्रहरीले साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्ने १२ भारतीयलाई पक्राउ गरेको थियो । सोमबार पक्राउ परेकाहरू यही समूहका अन्य सदस्य भएको प्रहरीले जनाएको छ ।


प्रहरीले मोहम्मद मियाँ, तेजनारायण शुक्ल, नूर ऐन बार्सी, राजेशकुमार शुक्ल, अटल त्रिपाठी, रवि गिरी, नितिन श्रीवास्तव र मोहम्मद सोयललाई ठमेल र बबरमहलबाट पक्रेको हो । उनीहरूको साथबाट प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपैयाँ बरामद गरेको छ ।


उक्त रकम उनीहरूले नेटवर्कको सदस्य बनेका नेपालीबाट उठाएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । परिसर प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले पक्राउ परेकालाई संगठित अपराधमा मुद्दा चलाउने प्रक्रिया थालिएको बताए ।


यो समूहले दुबईमा प्रधान कार्यालय तथा भारतको लखनउ, हङकङ र मौरिससमा शाखा कार्यालय रहेको बताउँदै नेटवर्क व्यवसाय विस्तार गरेको थियो । न्यूनतम १२ सय ५० डलर जम्मा गरेर खाता खोल्न सकिने, जसमा कम्पनीले त्यति नै रकम थप गरिदिने र ६ महिनापछि क्रेडिट कार्ड पाइने बताउँदै कम्पनीले सदस्यता विस्तार सुरु गर्छ ।


खातामा २५ सय डलर जम्मा भएपछि प्रत्येक महिना ५ प्रतिशत कमिसन पाइने र नयाँ सदस्य बढाउन सके १५ प्रतिशतसम्म कमिसन पाइने प्रलोभन देखाइन्छ ।


१९ मेसम्म बम्पर अफर रहेको र यो अवधिमा खातामा रकम जम्मा गरे १० देखि १५ प्रतिशत कमिसन पाउने अफर पनि कम्पनीले ल्याएको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोगटीले पक्राउ परेकाले बताएअनुसार दुबईमा मुख्यालय नरहेको बताए । कम्पनीको वेबसाइटमा पनि यसबारे भरपर्दो तथ्य भेटिँदैन ।


खुकुरी देखाएर लुटपाट

काठमाडौं– इमाडोलस्थित मनी ट्रान्सफरको कारोबार गर्ने असल इन्भेस्टमेन्ट प्रालिबाट एक लाख रुपैयाँ लुटिएको छ । प्रोप्राइटर सुरेशराज शर्मा सटर खोलेर पस्नासाथ हातमा खुकुरी बोकेका एक युवासहित दुई जना छिरेर धम्क्याउँदै रकम लुटेका हुन् ।


कान्तिपुरलाई प्राप्त सीसीटीभी फुटेजमा पैसा निकालिसक्दा एक जनाले सुरेशको मुख र आँखामा समेत पट्टी बाँध्न भ्याइसकेको देखिन्छ । लगत्तै दुवै जना पैसा लिएर फरार भएका थिए ।


महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जेठ ३ गतेको उक्त घटनामा संग्लनको खोजी भइरहेको बताए । ‘शंकास्पद केहीलाई पक्राउ गरेका थियौं, संग्लनता नखुलेपछि छाड्यौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?