पाँचथर हत्या काण्डबारे मिक्लाजुङ गाउँपालिका अध्यक्ष भन्छन्- 'हामी पुग्दा घटनास्थल रगताम्मे थियो'

काठमाडौँ — मैले यो घटना मंगलबार बिहान ६ बजेर ११ मिनेटमा थाहा पाएँ । थाहा पाउने वित्तिकै नजिकैको प्रहरी चौकीमा खबर गरेँ । र, इन्सपेक्टरसहित हामी घटनास्थलमा पुग्यौं । तत्कालै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि खबर गरियो ।

पाँचथर हत्या काण्डबारे मिक्लाजुङ गाउँपालिका अध्यक्ष भन्छन्- 'हामी पुग्दा घटनास्थल रगताम्मे थियो'

हामी घटनास्थलमा पुग्दा ससुरा र ज्वाइँको घरमा घटना भएको देखियो । ससुरा र ज्वाइँको घर माथि र तल छ । सुरुमा हामीले ससुरा बमबहादुर फियाकको शव देखियो । बमबहादुर घरबाहिर सिखुवामा सुतेका रहेछन् । उनको अनुहारभरी धारिलो हतियार प्रहार गरेको देखियो । अनुहार नचिन्ने गरी हानिएको छ । छ्याकछ्याक पारेको देखियो । यताउता रगत लत्पतिएको देखियो ।


बमबहादुरको घरमा ४ वटा शव थिए । जसमा एउटा बाहिर र ३ वटा भित्र । हेर्नै नसकिने अवस्था थियो ।


त्यसपछि ज्वाइँ धनराज शेर्माको घरमा जाँदा झनै विभत्स दृश्य देखियो । भित्र जान सकिएन । बाहिरैबाट हेर्दा २ बालबालिका खाटमा रगताम्य भएर लडिरहेको देखियो । ३ वटा शव खप्टिएको देखियो । जताततै रगतै रगत थियो । रगतको 'खोलै' बगे जस्तै थियो ।


अहिले गाउँ शोकमग्न भएको छ । भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खजुमका अनुसार हत्याराले मुख नचिनुन् भनेर अनुहार छोपेर आएका थिए । अहिलेसम्म कसले, के कारणले हत्या गर्‍यो अनुमान गर्नै सकिएको छैन । जिल्ला सदरमुकामबाट पनि अनुसन्धानका लागि डिएसपीको नेतृत्वमा आउँदै छ भन्ने सुनेको छु ।


हाम्रो गाउँपालिकाका सबैजसो जनप्रतिनिधि यहाँ भेला भएका छौं । यहाँको वातावरण निकै भावविह्वल छ । प्रहरीले घटनास्थल सिल गरेको छ । वरपर कसैलाई जान दिएको छैन । फोटो खिच्न दिइएको छैन । मृतकहरुको त्यस्तो कोहीकसैसँग नराम्रो भए जस्तो त मलाई लागेको थिएन । कसले, किन हत्या गर्‍यो प्रहरी अनुसन्धानबाट खुल्छ भन्ने विश्वासमा हामी छौं ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमसँग कञ्चन अधिकारीले गरेको कुराकानीमा आधारित


यो पनि पढ्नुहोस्ः

पाँचथर हत्या काण्ड : भागेर बाँच्न सफल बालिका भन्छिन् - 'धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरे'

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

प्रकाशित : जेष्ठ ७, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?