प्रहरीद्वारा भोजपुरमा चन्द समूहका कार्यकर्तामाथि गोली प्रहार, एक जना घाइते, पेस्तोलसहित विस्फोटक पदार्थ बरामद

आपराधिक समूहप्रति प्रहरी आक्रमक
कान्तिपुर संवाददाता

काठमाडौँ — भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका नेत्रविक्रम चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

प्रहरीले चलाएको गोलीबाट चन्दका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए।

धोत्लेखानी जंगलमा हतियारसहित ३०/३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाएको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो। गस्तीको अघिल्लो टोलीमाथि घिमिरे आइलागेका थिए, त्यसपछि प्रहरीले गोली हानेकोप्रहरी निरीक्षक राजवंशीले बताए। अन्य कार्यकर्ता भने भागेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, ५ थान गोली, बाइनोकुलर १, डेटोनेटर २० मिटर, बारुदसहित विस्फोटक पदार्थ बरामद गरेको छ। त्यस्तै चन्द नेतृत्वको नेकपाका दस्तावेज समेत फेला पारिएको छ।

आपराधिक समूहप्रति प्रहरी आक्रमक

केही दिनयता प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहमाथि निगरानी बढाएको छ। हिजोमात्रै प्रहरीले गोली हानेरशृंखलाबद्ध डकैतीमा संलग्न काले भन्ने विष्णु तामाङलाई काठमाडौंको टोखाबाट पक्राउ परेको थियो। त्यसको भोलिपल्टभोजपुरमा चन्द समूहका कार्यकर्तामाथि गस्ती बढाएको छ।

मुलुकभर आपराधिक गतिविधि बढाएको भन्दै सरकारले चन्द समूहमाथि प्रतिबन्ध घोषणा गरेको छ। प्रतिबन्ध घोषणासँगै विभिन्न जिल्लाहरुबाट चन्दका कार्यकर्ताहरु पक्राउ परिरहेका छन्।

यो पनि पढौं :डकैती गर्नेलाई घुँडामुनि गोली


प्रकाशित : जेष्ठ ७, २०७६ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्

दैनिक हजार चालकलाई कारबाही

सीमा तामाङ

काठमाडौँ — नेपाल प्रहरीको महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक १ हजार ५३ चालकलाई कारबाही गर्ने गरेको छ । त्यसमा मादक पदार्थ सेवन गरेका चालक मात्रै ८९ जना पर्छन् । कारबाहीबाट दैनिक ६ सय ९६ रुपैयाँ राजस्व रकम दाखिला हुन्छ । 

ट्राफिक प्रहरीले पछिल्ला १० महिनामा ३ लाख ८४ हजार २ सय ६ चालकलाई कारबाही गरेको छ । त्यसबाट २५ करोड ३७ लाख ११ हजार रुपैयाँ राजस्व दाखिला भएको महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए । लेन अनुशासन उल्लंघन गरी सवारी साधन चलाएकामा ३२ हजार २७ जना पुरुष र ३ हजार १ सय ९ महिला चालक कारबाहीमा परेका छन् ।

२०७४ वैशाख १ मा सुरु गरिएको हर्न कारबाहीमा २०७६ वैशाख मसान्तसम्म १२ हजार २ सय ७१ सवारी साधन परेका छन् । गत मंसिर ८ मा सुरु गरिएको ह्वील लक कारबाहीमा २ हजार ८ सय ७६ सवारी साधन परेका छन् । सीसी क्यामेराको सहायताले ५ हजार ६० सवारी चालकलाई कारबाही भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मापसे गरी सवारी चलाउने २६ हजार ५ सय ९८ चालक कारबाहीमा परेका छन्, जसमा पुरुष २६ हजार ४ सय ९ जना र महिला १ सय ९ जना छन् ।

२०७५ मंसिर २० मा सुरु गरिएको टयाक्सी कारबाहीमा १ हजार ७ सय ८७ वटा टयाक्सी परेका छन् । मिटरमा जान नमान्ने टयाक्सीलाई ३ हजार जरिवाना र ५ पटकभन्दा बढी कसुर गरे ६ महिनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था छ ।

बाइकमा पछाडि बस्नेलाई हेलमेट
महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेलाई पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ ।

दुईपांग्रे सवारी दुर्घटना धेरै हुँदा पछाडि सवार मान्छेको टाउको फुट्ने र दुर्घटनास्थलमै मृत्यु हुने जोखिम उच्च रहेकालाई यस्तो नियम ल्याउन लागिएको एसएसपी पन्तले जानकारी दिए । नेपाल गुणस्तर तथा नापतौल विभागले आईएसओ स्टयान्डर्डको हेल्मेटको मापदण्ड तयार पारिसकेको समेत उनले जानकारी दिए ।

प्रशिक्षार्थी

प्रकाशित : जेष्ठ ७, २०७६ १७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्