१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाँचथर हत्याकाण्ड : घाइते बालिकाको अवस्था सामान्य

अर्जुन राजवंशी

दमक — पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या हुँदा भागेर बाच्न सफल १२ वर्षीया बालिका सीता खजुमको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

पाँचथर हत्याकाण्ड : घाइते बालिकाको अवस्था सामान्य

सोमबार राति मिक्लाजुङ ३ आरुबोटेमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी दुई परिवारका ९ जनाको हत्या गरेका थिए । घटनास्थलबाट भागेर बाँच्न सफल खजुमको दायाँ हातमा चोट लागेको छ । बालिकाको हातको कुइनोमा चार टाँचा लगाइएको छ । कडा सुरक्षाबीच बालिकाको उपचार भइरहेको छ ।


मंगलबार दिउँसो बालिकाको स्वास्थ्य अवस्थाबारे प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले अस्पतालमै आएर जानकारी लिएका छन् । अनुहार छोपेर आएका व्यक्तिले आफन्तलाई धारिलो हतियार प्रहार गरेको देखेपछि भाग्ने क्रममा बालिकाको हातमा चोट लागेको डीआईजी रिजालले बताए ।

बालिकाको अवस्थाबारे जानकारी लिएपछि पत्रकारहरूसँग कुरा गर्दै डीआईजी रिजालले हत्याकाण्डको अनुसन्धानमा कुनै कसर बाँकी नराखेको बताए । उनले तीन वटै घटनास्थलमा कुनै त्रुटि नहुने गरी अनुसन्धान अघि बढाएको बताए ।


सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको अज्ञात व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार नै उक्त घटनामा संलग्न रहेको भनी आशंका गरिएका मानबहादुर माखिम झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।


डीआईजी रिजालले माखिम मृत भेटिएको स्थल र उक्त घटनाबारे पनि विशेष महत्त्वका साथ अनुसन्धान गर्ने काम गरिरहेको बताए ।

प्रकाशित : जेष्ठ ७, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?