३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

यसरी भयो दुई परिवारको संहार

आरुबोटे, मिक्लाजुङ/विराटनगर — सुनसान रातमा मुकुन्डो लगाएका व्यक्ति बमबहादुर फियाकको घरमा छिरे । हातमा खुकुरी बोकेका उनले प्रतिवाद गर्ने मौकै नदिई चार जनाको हत्या गरे । लगत्तै बमबहादुरका ज्वाइँ धनराजको घर पुगे । त्यहाँ रहेका पाँच जना कसैलाई पनि बाँकी राखेनन् । मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेका ज्वाइँ-ससुराको दुई परिवारमा सोमबार राति ९ जनाको ज्यान गयो । 

यसरी भयो दुई परिवारको संहार

७४ वर्षीय बमबहादुरसँगै उनकी पत्नी ७१ वर्षीया फर्सिमाया, छोरी ३१ वर्षीया मनकुमारी र १३ वर्षीया नातिनी श्रेयाको हत्या भएको हो । बमबहादुरकै ज्वाइँ ४१ वर्षीय धनराज सेर्मा, उनकी ३६ वर्षीया श्रीमती जस्मिता, छोरीहरू १३ वर्षीया युवाना तथा ६ वर्षीया मुना र छोरा ८ वर्षीय इच्छा पनि जोगिएनन् । सबैको खुकुरी प्रहारबाट हत्या भयो । अधिकांशको शव क्षतिविक्षत पाइएको छ । टाउको, पाखुरा र शरीरका अधिकांश भागमा खुकुरी प्रहार गरिएको छ । घटनापछि गाउँ त्रास र शोकमा छ । महिला र बालबालिका आतंकित बनेका छन् ।


बमबहादुरकी १२ वर्षीया नातिनी सीता खजुमले भने भागेर ज्यान बचाएकी छन् । बमबहादुरकै घरमा रहेकी सीता अभिभावकमाथि खुकुरी प्रहार हुन थालेपछि भागेकी थिइन् । मुख छोपेर आएका एक व्यक्तिले सबैलाई खुकुरी हान्न थालेपछि भाग्दै गर्दा आफूलाई पनि लखेटेको र भाग्ने क्रममा लडेपछि बोजु पर्नेको घरभित्र लुकेको सीताले बताएको घटनाको अनुसन्धानमा खटेका प्रहरी निरीक्षक तेजनारायण यादवले बताए । सीतालाई हतियार प्रहार गरिएको छैन । भाग्ने क्रममा लडेर हातमा चोट लागेको छ । उनी अर्धचेत रहेकाले उपचारका लागि दमक लगिएको थियो ।


सीताले मध्यरातमा हस्याङफस्याङ गर्दै आएर ढोका खोल्न भनेको छिमेकी कान्छीमाया फियाकले बताइन् । ‘ढोका खोल्नुस् बोजु, सबैलाई सखाप पारिसक्यो, मलाई पनि सिध्याउँछ भनेपछि ढोका खोलें, पानी माग्दामाग्दै बेहोस भई, त्यसपछि रातभर एक्लै रुँगेर बसेँ,’ उनले भनिन् ।


कान्छीमायाको घर बमबहादुरकोबाट सय मिटर दूरीमा छ । सधैं सबेरै उठ्ने छिमेकी ५ बज्दासम्म नउठेपछि हेर्न जाँदा घरमा शव देखेर गाउँलेलाई बोलाएको छिमेकी बुद्धमाया फियाकले बताइन् । गाउँलेले इलाका प्रहरी कार्यालय रविमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथर, इलाका प्रहरी कार्यालय रवि, सशस्त्र प्रहरी बिट राँके र इलामस्थित चिसापानी प्रहरीचौकीबाट खटेको टोलीले दुवै घरमा सिलबन्दी गरी सुरक्षा गरेको थियो ।

धनराज सेर्माको परिवारका सबै सदस्यको क्षतविक्षत शरीर घरभित्रै थुनिएका थिए । बमबहादुरको भने घरकै सिकुवामा र परिवारका अन्य ३ जनाको घरभित्र शव थियो । दुई घरबीचको दूरी करिब एक किमि छ । दुवै घर एकान्तमा रहेकाले घटना हुँदा कसैले पनि थाहा पाएनन् । प्रदेश प्रहरी कार्यालय विराटनगरबाट साँझ पुगेको टोलीले मृतकको शव रहेको स्थानको प्रकृति मुचुल्का तयार गरेको थियो ।


हत्यामा संलग्नता रहेको आशंका गरिएका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिम भने मिक्लाजुङ-७ लिम्बास्थित घरनजिकै झुन्डिएको अवस्थामा फेला परेका छन् । त्यही स्थानबाट हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जनाए । उनी झुन्डिएको स्थान घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमा पर्छ । उनी झुन्डिएको ठाउँभन्दा एक किलोमिटर टाढा रगत लागेको कपडा भेटिएको छ ।


हत्या गरिएकी बमकुमारकी छोरी (हत्यामा संलग्न रहेका भनिएका मानबहादुरकी श्रीमती) मनकुमारी माइतमा बस्दै आएकी थिइन् । करिब ३ वर्षदेखि श्रीमती ससुरालीमा बसेपछि मनबहादुरले सम्बन्ध विच्छेदको माग गर्दै आएको मृतकका जेठा ज्वाइँ रणबहादुर तुम्साले बताए । उनका अनुसार श्रीमानले सम्बन्ध विच्छेद गर्न गरेको प्रस्ताव मनकुमारीले अस्वीकार गर्दै आएकी थिइन् । प्रहरी निरीक्षक नरेन्द्र कुँवरका अनुसार मानबहादुर र मनकुमारीबीच एक वर्षअघि सम्बन्ध बिग्रेको थियो ।


प्रदेश १ प्रहरी प्रमुख डीआईजी केदार रिजालले पनि घटनाको प्रकृतिका आधारमा शंका गरिएका व्यक्ति झुन्डिएको अवस्थामा फेला परेको बताए । बाँच्न सफल सीताले पनि घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन् ।


घटनामा मारिएका बमबहादुरका जेठा ज्वाइँ रणबहादुर तुम्साका अनुसार मनकुमारी र मानबहादुरको सम्बन्धमा खटपट थियो । ‘ससुराबाले कान्छी छोरी-ज्वाइँबीच सम्बन्धमा खटपट आएको छ, के हुने हो ? कान्छी घर जान मान्दिनँ, ज्वाइँको बानी राम्रो छैन, केही अप्ठ्यारो पार्छन् कि भन्नुहुन्थ्यो,’ उनले भने, ‘मैले परिवार बसेर मिलाऔं भनेर सम्झाएको थिएँ ।’


पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । प्रदेश १ प्रहरी कार्यालयका अनुसार हत्या घटनाबारे अनुसन्धान गर्न अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूह, धरानस्थित संघीय प्रहरी इकाईबाट वरिष्ठ प्रहरी उपरीक्षकसहितको टोली सक्रिय बनाइएको छ ।


अनुसन्धानका लागि विशेष तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ । स्थानीय गणेशप्रसाद लुइँटेलका अनुसार धनराजका छोराछोरी घरमा धामी बस्ने भन्दै स्कुलबाट छिटो घर आएका थिए । ‘कसैलाई नबिझाउने परिवार थियो । कसैसँग नराम्रो बोल्दैनथे,’ उनले भने ।


धनराजको घरबाट ५० मिटरको दूरीमा वडा कार्यालय छ । प्रहरीचौकी करिब तीन किलोमिटर टाढा छ । धनराजले भाइ खम्बासिंहलाई एक साताअघि फोन गरी आमाबुवा भएको घर आउन मन लागेको बताएका थिए । ‘केही कुरा गर्नुछ, घर आउन मन लागेको छ,’ उनले भनेका थिए ।


धनराजको घरमा एक साताअघि नुनमा सिसा मिसाइएको भेटिएको थियो । उनले साढुभाइ मानबहादुरले मिसाएको शंका गरेका थिए । उनले वडाध्यक्ष हस्तराज फियाकलाई जानकारी गराएर छानबिन पनि भएको थियो ।


बालिकाको अवस्था सामान्य

दमक- झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचाररत सीता खजुमको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट भागेर बाँच्न सफल सीताको दायाँ हातमा चोट लागेको छ । हातको कुइनोमा चार टाँचा लगाइएको छ ।


कडा सुरक्षाबीच उनको उपचार भइरहेको छ । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले अस्पतालमै आएर मंगलबार दिउँसो बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।


प्रकाशित : जेष्ठ ८, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?