१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

परराष्ट्रले भन्यो - ‘राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’

काठमाडौँ — अमेरिकी राजदूत र्‍यान्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए । 

परराष्ट्रले भन्यो - ‘राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’

त्यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न भएपछि परराष्ट्र सचिव शंकर बैरागी त्यसबारे मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै कान्तिपुरसँग भनेका छन्, ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न मिल्दैन ।’


युवालाई लक्षित गरेर राजदूतले अमेरिकी व्यवस्थाबारे सूचना दिन खोजेको भए पनि परराष्ट्रलाई जानकारी नगराइएको सचिव दाहालले जनाए । उनले भने, ‘यसबारे मन्त्रालयले सोधखोज गर्नेछ ।’


बेरीले आफ्नो दूतावासको सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरूका जिज्ञासा र सरोकार सम्बोधन गर्न गफगाफमा आउन लागेको भिडियो सन्देश दिएका थिए । परराष्ट्रसँग सहमति नलिएको भन्नेबारे प्रश्न गर्दा दूतावासकी प्रवक्ता एन्डी डे अरमेन्टले भनिन्, ‘पब्लिक डिप्लोमेसी भनेको जनतासँग संवाद गर्नु हो । राजदूतले आफूलाई लागेको जवाफ दिनुहुनेछ । सूचना दिनुहुनेछ । कूटनीति भनेको यही हो ।’


पूर्वराजदूत केदारभक्त माथेमाले यस्तो व्यवहार कूटनीतिक मर्यादाबाहिर हुन सक्ने टिप्पणी गरेका छन् । कूटनीतिमा यस्तो संवादको आफ्नै सीमा हुने तर्क गर्दै उनले भने, ‘केही विषयमा कुनै धारणा राख्नु वा विज्ञप्ति जारी गर्नु र अन्तरसंवादमा प्रत्यक्ष बस्नु एकदमै फरक कुरा हो ।’


प्रश्नोत्तर गर्दा धर्म, राजनीति, कूटनीति, देशहरूबीचको सम्बन्धसहित गैरकूटनीतिक विषय पनि उठ्न सक्ने हुनाले त्यस्तो अभ्यास अप्ठ्यारो हुने पनि उनले बताए ।


बेरीले आफ्नो अन्तरसंवादबारे सूचना राख्नेबित्तिकै कूटनीतिक मामिलाका जानकारले यसैगरी भोलि भारतीय वा चिनियाँ राजदूत अथवा जोकोहीले ‘जनतासँग कुराकानी’ गर्न थाले के होला भन्ने प्रश्न गरेका छन् । टिप्पणीकार टीकाप्रसाद ढकालले लेखेका छन्, ‘अमेरिकी भिसा र निम्ताको पर्वाह नगरी प्रश्न सोध्ने हिम्मत गरौं : जनतासँग प्रधानमन्त्री कार्यक्रमको समानान्तर ‘राजदूतसँग गफगाफ’ कार्यक्रम गर्न कूटनीतिले छुट दिन्छ ?’


पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव बैरागीलाई ध्यानाकर्षणका लागि ‘मेन्सन’ गर्दै ट्वीट गरेका छन्, ‘आफ्नो राष्ट्रिय स्वार्थको स्पेस खाली रहे अरू कसैकाले त्यो भरिन्छ । कूटनीतिक वृत्तबाट सोझै जनतासँग स्टाइलको लहरले सुनामीको रूप लिनु पहिले नै स्पष्टता, सुझबुझ र सतर्कता रहँदा कति राम्रो राम्रो ।’

प्रकाशित : जेष्ठ ८, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?