२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फेरि कामीरिताको कीर्तिमान

सुरज कुँवर

काठमाडौँ — सोलुखुम्बु थामेका ४९ वर्षीय कामीरिता शेर्पाले २४ औं पटक सगरमाथाको चुचुरामा पाइला टेक्दै नयाँ विश्व कीर्तिमान बनाएका छन् । उनले एकै सातामा दुईपटक सगरमाथा आरोहण गर्दै उक्त रेकर्ड बनाएका हुन् । 

फेरि कामीरिताको कीर्तिमान

सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार, प्रख्यात आरोही कामीरिता मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा चुचुरोमा पुगेका थिए । अघिल्लो बुधबार आफ्नै २२ औं पटकको रेकर्ड ब्रेक गर्दै उनी २३ औं पटक ८ हजार ८ सय ४८ मिटर उचाइको चुचुरोमा पाइला टेकेका थिए । ६ दिनपछि कामीरिता फेरि उक्त रेकर्ड बे्रक गर्दै मंगलबार बिहान २४ औं पटक चुचुरोमा पुगेका हुन् ।

उनको आरोहण व्यवस्थापन गर्ने काठमाडौंस्थित एक्सपिडिसन कम्पनी सेभेन समिट टे«क्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार आइतबारमात्रै उनी ५२ सय मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट हिँडेका थिए । ‘सोमबार दिउँसो कामीरिता ८ हजार मिटर उचाइमा रहेको चौथो (अन्तिम) शिविरमा पुगेका थिए,’ मिग्माले कान्तिपुरसँग भने, ‘सोमबार साढे ७ बजे ११ जना भारतीय प्रहरी आरोहीका साथ हिँडेका कामीरिता करिब ११ घण्टापछि चुचुरोमा पुग्न सफल भएका थिए ।’ अध्यक्ष शेर्पाका अनुसार उनीसहित १३ शेर्पा र ११ भारतीय प्रहरीले पनि सगरमाथा आरोहण गरेका छन् ।

‘सोमबार र मंगलबार मौसमले साथ दियो,’ मिग्माले भने, ‘सबै आरोही चौथो शिविर र त्यसभन्दा तल फर्किसकेका छन् । कामीरिता दोस्रो शिविरमा आइपुगेका छन् ।’ शेर्पाका अनुसार, यसै टोलीमा रहेका एक भारतीय प्रहरी २ घण्टा चुचुरोमा हराएका थिए तर उनलाई शेर्पाहरूले मंगलबार सकुशल उद्धार गरी चौथो शिविरमा ल्याइपुर्‍याएका छन् ।

अक्सिजनको सहायतामा आरोहण गरिरहेका कामीरिताले चाहेमा फेरि यसै सिजनमा अर्कोपटक सगरमाथा आरोहण गराउने योजना रहेको सेभेन समिटका अध्यक्ष शेर्पाले बताए । ‘कामीरिता बुधबार आधार शिविरमा आइपुग्छन् । त्यहाँ उनीसँग सल्लाह गरेर फेरि २५ औं पटक तथा ह्याट्रिक गराउने योजना बनाएका छौं,’ उनले भने ।

कामीरिताले एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेको यो चौथो पटक हो । यसअघि सन् २००९, २०१० र २०१३ मा एकै सिजनमा दुईपटक दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेका थिए । यो हिमालमा सबभन्दा पहिले ६६ वर्षअघि पहिलो आरोहण भएको थियो ।

त्यतिबेलै पहिला आरोहीहरू एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले बनाएको बाटो हुँदै कामीरिता यो ग्रहकै सबभन्दा अग्लो चुचुरोमा सर्वाधिक पुग्ने एक्ला आरोही बनेका छन् । सगरमाथा धेरै आरोहण गर्नेमा सोलुखुम्बुकै आप्पा शेर्पा, फुर्वातासी शेर्पा र ङिमा नुरु शेर्पा छन् । उनीहरूले २१ पटक चुचुरामा पाइला राखिसकेका छन् । २४ वर्षको उमेर छँदा ०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका कामीरिताले २५ पटक आरोहण गरेरमात्रै विश्राम लिने सार्वजनिक गरेका छन् ।

एकपटक तिब्बततर्फको उत्तरी मोहडाबाट चुचुरामा पुगेका कामीरिताले २३ पटक नेपालतर्फको दक्षिणी मोहडाबाट सगरमाथा चुचुरामा पाइला राखेका हुन् । उनले ८ हजारभन्दा अग्ला सगरमाथाबाहेक आठपटक चोयु, एकपटक ल्होत्से, दुईपटक मनास्लु र एकपटक पाकिस्तानको केटु गरी ३६ पटक आरोहण गरिसकेका छन् ।


प्रकाशित : जेष्ठ ८, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?