कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सगरमाथाको उचाइ नाप्ने नेपाली टोली चुचुरोमा

पहिलोपटक नेपालले नै नाप्दै छ सगरमाथाको उचाइ
कुम्भराज राई

ओखलढुंगा — सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथा शिखरमा पुगेका छन् । विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली शिखरतर्फ गएका थिए । टोलीका सदस्य रविन कार्की सहित क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले शिखरमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए ।

सगरमाथाको उचाइ नाप्ने नेपाली टोली चुचुरोमा

उनीहरु फर्केर साउथकोल आइसकेका छन् । बिहीबारसम्ममा आधारशिविर आइपुग्ने पिक प्रमोशनले जनाएको छ । शिखरतर्फ जानुअघि टिम लिडर गौतमले कम्तिमा आधाघण्टा शिखरमै काम गर्नुपर्ने भएकोले राति नै शिखरमा पुग्नुपर्ने चुनौती रहेको बताएका थिए । शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको छ ।


टोलीकै दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल भने आधारशिविरमा बसेर सहयोग गरिरहेका छन् । शिखरमा पुग्ने बित्तिकै उचाइ पत्ता नलाग्ने नापी विभागले जनाएको छ । अब जिपिएसमा सेट भएका तथ्यांकहरुको आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि उचाइ टुंगो लगाएर पुष्टि गर्नेछन् । त्यसका लागि कम्तिमा अझै ६ महिना लाग्नेछ ।


नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ नाप्ने चर्चा चलेको एकवर्ष नाघिसकेको छ । नापी विभाग अन्तर्गत सगरमाथाको उचाइ नाप्नका लागि प्रमुख काम मध्येमा शिखरमा पुग्नुपर्ने चुनौती थियो । यसअघि सन् १८५६ मा व्रिटिस सर्वेयर जर्ज एभरेष्टले सर्वे गरी विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए । त्यसअघि भारतीय सर्वेयर राधानाध सिख्धरले १९५२ मै सगरमाथा सर्वोच्च शिखर भएको दाबी गरेका थिए ।


चीनले समेत यसअघि पटकपटक सगरमाथाको उचाइ नाप्ने काम गरेको छ । सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा सगरमाथाको उचाई समुन्द्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको भनिएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?