चार भाइ एकैसाथ कञ्चनजंघामा

कुम्भराज राई

ओखलढुंगा — विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघामा संखुवासभाका चार दाजुभाइले एकैपटक पाइला टेकेका छन् । मकालु गाउँपालिका १, इङलुवाका ३५ वर्षीय छिजिनोर्बु शेर्पा, ३३ वर्षीय फुर्वा शेर्पा, ३० वर्षीय तेन्जिङ शेर्पा र २५ वर्षीय पासाङदावा शेर्पा जेठ १ बुधबार बिहान ६ बजे कञ्चनजंघा शिखरमा पुगेका हुन् । उनीहरू माइला, साइँला, काइँला र कान्छा दाजुभाइ हुन् ।

जेठा दाजु गाउँमै बस्छन् । कञ्चनजंघा आरोहण चारै जनाको पहिलोपटक हो । दाजुभाइमध्ये पनि कान्छा पासाङदावाका लागि पहिलो हिमाल आरोहण हो । काइँला तेन्जिङले गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा र एकपटक ल्होत्से आरोहण गरेका थिए । साइँला फुर्वाले यो वर्ष कञ्चनजंघाको ‘रोप फिक्सिङ’ र ग्रुपसहित गरी दुईपटक शिखर चुमे । ग्रुपसहित शिखर चुम्ने क्रममा चारै दाजुभाइ यसपटक एकै समयमा शिखरमा पुगेका हुन् ।

माइला छिजीनोर्बु १४ हिमाल (फोर्टिन पिक) आरोहणका अभियन्ता हुन् । ‘फोर्टिन पिक’ भन्नाले नेपाल, तिब्बत र पाकिस्तानमा भएका १४ वटा हिमाल छन् । उनले अब पाकिस्तानका दुईवटा हिमाल मात्र आरोहण गर्न बाँकी छ । उनीहरू कञ्चनजंघामा यो वर्ष पिक प्रमोसन प्रालिको आरोहण दलबाट क्लाइम्बिङ शेर्पाका रूपमा गएका थिए ।

‘हामी चारै दाजुभाइ सल्लाह गरेरै गएका हौँ,’ छिजीनोर्बुले टेलिफोनमा भने, ‘हाम्रो देशको हिमाल चढ्न यतिका विदेशीहरू आउँछन् । हामी चारै दाजुभाइ चढेर एउटा सन्देश दिऊँ भनेर चढेका हौँ ।’

छिजीनोर्बु सन् २००७ देखि हिमाल चढ्ने पेसामा छन् । उनीहरू कसैले पनि कक्षा पाँचभन्दा माथि पढेका छैनन् । आरोहीहरूका अनुसार प्राविधिक रूपले कञ्चनजंघा आरोहण सगरमाथाभन्दा कठिन मानिन्छ । उनीहरूले कञ्चनजंघा आरोहण गरेपछि भारतीय संस्था ‘गिरिप्रेमी’ ले गिनिज वल्र्ड रेकर्डका लागि आवश्यक प्रक्रिया अघि बढाएर सहयोग गरेको छ । एकै घरका चार दाजुभाइ कञ्चनजंघामा एकैपटक आरोहण गरेको पहिलो भएको दाबी गरिएको छ ।

हिमाल चढ्न जानुअघि चारै भाइ नजानका लागि आग्रह गर्दै उनीहरूकी आमा ङिमा खाङदुक शेर्पा निकै रोएकी थिइन् । बुवा पासाङ ओङदी शेर्पा र आमा ङिमा खाङदुकसमेत छोराहरूको सफलताबाट खुसी भएको माइला छिजीले बताए । चारै दाजुभाइमा हिमाल चढ्ने अद्भुत क्षमता भएको पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए ।

कञ्चनजंघा आरोहणको इतिहासमै यो वर्ष सबैभन्दा धेरैले आरोहण गरेका छन् । पिक प्रमोसन, सेभेन समिट र सांग्रिला नेपालका गरी ३४ जनाले आरोहण अनुमति लिएका थिए । त्यसमध्ये ३२ विदेशी र २ नेपाली थिए । पिक प्रमोसनका १६ विदेशी, २ नेपाली र २६ शेर्पा चुचुरोमा पुगे ।

सांग्रिला नेपालका १ विदेशी र ४ शेर्पाले शिखर चुमे । सेभेन समिटका ७ आरोही र ७ शेर्पाले शिखरमा पाइला टेके । सहयोगी शेर्पासहित कुल ६६ जनाले आरोहण गरेका हुन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०७:४७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बीपी राजमार्ग खुल्यो

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ को खनियाँखर्क नजिक पहिरो खसेर अवरुद्ध भएको सडकमा खुलेको छ । आँधीहुरीसहित भएको वर्षातका कारण ४ ठाउँमा पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको थियो । 

ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार उक्त क्षेत्रको ४ स्थानमा खसेको पहिरो मेसिन प्रयोग गरी पन्छाएपछि सवारीसाधन गुड्न थालेको हो। पूर्वी नेपालबाट राजधानी काठमाडौंसँग जोडिने यो छोटो वैकल्पिक मार्ग हो। गाउँमा सडक लैजानका लागि जथाभावी ट्र्याक सडक खोल्दा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०७:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्