पिण्डेश्वरको जग्गा कागजमा मात्रै

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानको पिण्डेश्वर शिव मन्दिर धेरै अचल सम्पत्ति भएको देवालयमा पर्छ । मन्दिरका नाममा जग्गा कति छ ? जवाफ मन्दिरमा पुजारी भएर बस्दै आएका गुठी संस्थान प्रतिनिधिलाई पनि थाहा छैन । 

धरान-१४ विजयपुर डाँडामा रहेको उक्त मन्दिरका नाममा विभिन्न जिल्लामा घटीमा ५ हजार बिघा जमिन से्रस्तामा रहेको भनाइ पुजारीहरूको छ । ती जग्गा कहाँ कहाँ क-कसले उपभोग गर्दै छन् र त्यसबापत कहाँ कति बुझाउँछन् भन्ने प्रश्नको उत्तर दिन भने उनीहरू सक्दैनन् ।

अरू जिल्लामा रहेको सम्पत्तिको कुरो त परै जाओस्, मन्दिर आसपासकै १८ बिघा जमिन पनि अतिक्रमणका कारण एक बिघामा सीमित भएको छ । गुठी संस्थानअन्तर्गत सञ्चालित पिण्डेश्वर मन्दिरको स्वामित्वमा धरान-१४ को विजयपुर डाँडामा ३६ बिघा जग्गा थियो ।

तीमध्ये १८ बिघा पिण्डेश्वर विद्यापीठ (क्याम्पस) को स्वामित्वमा गयो । बाँकी रहेको जमिन पनि संरक्षण हुन सकेको छैन । मन्दिरका सहायक पुजारी गोकुल र नारायण पोखरेलले भने, ‘मन्दिरका नाममा सयौं बिघा जमिन स्रेस्तामा छ तर कता छ, थाहा छैन । यही आसपासको जमिन पनि अतिक्रमणमा परेर एक बिघामा खुम्चिएको छ ।’

मन्दिरको पुरानो सिमानाअनुसार दक्षिणमा धरान-१५, बाझगराको नीराजन बस्ती, पूर्वमा सेउती किनार, उत्तरमा गणेशचोक र पश्चिममा तुर्केधारासम्म जग्गा थियो । ती सबै क्षेत्रमा झन्डै ४ सय घरधुरी आफूलाई सुकुम्बासी बताउनेहरू बसेका छन् । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपाली भन्छन्, ‘जग्गा अतिक्रमण नहुने थियो होला तर पुजारीहरूले दानदक्षिणा र भेटीमा मात्र ध्यान दिए ।

मन्दिरका नाममा रहेको अथाह जग्गाजमिन संरक्षण गर्नतिर कसैको ध्यान गएन ।’ उक्त मन्दिर कहिले, कसले निर्माण गरेको हो भन्ने अझै खोजीको विषय छ । मुख्य मन्दिर प्रस्तरलाई काटेर बनाइएको छ । गुम्बज आकारमा रहेको मन्दिर असमको कामाक्षा मन्दिरको समकालीन र पशुतिनाथ मन्दिरभन्दा पुरानो दाबी गरिएको छ ।

मन्दिरमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले घण्ट चढाएका छन् । बराहक्षेत्रको औलिया गुठीअन्तर्गत पिण्डेश्वर मन्दिर सञ्चालनमा आएको थियो । महन्त प्रथामा चलेको मन्दिर २००७ सालमा अन्तिम महन्तले विवाह गरेपछि दुर्गाप्रसाद पोखरेललाई पूजाअर्चना गरिखान जिम्मा दिएका थिए ।

त्यसयता पुजारी प्रथाअनुसार मन्दिर सञ्चालन हुँदै आएको छ । ‘मन्दिरका नाममा रहेको सयौं बिघा जमिनबारे हामी बेखबर छौं,’ समिति अध्यक्ष बनेपाली भन्छन्, ‘भक्तजनले दु:ख नपाऊन् भनेरहामीले चन्दा उठाएर आश्रम भवन भने बनाएका छौं ।’

पिण्डेश्वरमा २०३७ सालदेखि बर्सेनि साउनमा बराहक्षेत्रको कोका नदी र सप्तकोसीको जल चढाउने बोलबम मेला लाग्ने गरेको छ । मन्दिरमा चढाइने भेटीको रकमलाई पारदर्शी बनाउन समितिले गुठी संस्थानमा पनि पटकपटक पत्राचार गरेको छ । विगतमा पुजारी विनोद पोखरेलले गुठी संस्थान गएर मन्दिर सञ्चालन समिति गठनगरेर आएका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यौन हिंसाको जोखिममा छन् कलिला बालिका

माया श्रेष्ठ

काठमाडौँ — गत साता राजधानीमा चार बालिका बलात्कृत भएका घटना सार्वजनिक भए । भक्तपुरको मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोककी १० वर्षीया बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बुका ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । भक्तपुरमै धम्क्याएर १५ वर्षीया बालिकालाई बलात्कार गर्ने सिरहाका १८ वर्षीय विजय भुजेल पनि अहिले हिरासतमा छन् । 

यस्तै बर्दिया घर भई हाल भक्तपुरको दुवाकोटमा बस्ने २० वर्षीय आशिष चौधरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परे । यता काठमाडौंको शान्तिनगरस्थित एक घरमा काम गर्ने महिलाले सात वर्षीया छोरीलाई बलात्कार गरेको किटानी जाहेरी दिएपछि ५० वर्षीय राजु खरेललाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गर्‍यो ।

थुप्रैमध्ये यी प्रकाशमा आएका केही घटना हुन् । प्रत्येक दिन बालिकाहरू यौन हिंसाको सिकार भइरहेको घटनाक्रमले देखाइरहेका छन् । प्रहरीका अनुसार घटनाका तथ्यांकले बालिका बलात्कृत हुने क्रम बर्सेनि बढिरहेको देखाएको छ । काठमाडौं उपत्यकामा मात्रै गत वर्ष यस्ता १ सय १ वटा घटना भएका छन् ।

गत वर्ष प्रदेश नम्बर ३ मा ८८ बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रदेश नम्बर १ मा २ सय ३७, प्रदेश २ मा १ सय ३०, गण्डकीमा ७४ र प्रदेश ५ मा १ सय ५५ बालिका बलात्कारको सिकार भएका छन् । कर्णालीमा ५२ र सुदूरपश्चिम प्रदेशमा १ सय १ जना बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ । कानुनअनुसार १८ वर्ष मुनिका सबै बालबालिका हुन् ।

कुन उमेर समूहका बढी पीडित रहेको हेर्न तथ्यांक केलाउने हो भने समाजमा छोरीहरू सानैदेखि असुरक्षित छन् भन्ने देखाउँछ । जबर्जस्ती करणीमा परेका बालिकाका आफन्तले समाजको डर र लाजले उजुरी दिन ढुक्क भएर आउने नसक्ने भएकाले धेरै घटना गुपचुपमै रहने गर्छ भन्छिन् राष्ट्रिय महिला आयोगका मुद्दा व्यवस्थापक विमलाखड्का । घरपरिवारभन्दा टाढा भएका अन्य परिवारसँग आश्रित बालिकाहरू त्यस्ता घटना बढी परेको पाइने उनले बताइन् ।

‘अपांग, सुस्तमनस्थितिका बालिका पनि बलात्कृत भएका घटना छन्,’ उनले भनिन्, ‘घाँसदाउरा गर्न वन गएको र छाउपडी बसेको समयमा पनि बालिका जबर्जस्ती करणीमा पर्ने गरेका छन् ।’

बालिकाहरूलाई प्रभावमा परेर वृद्धदेखि युवा र आफन्तबाट नै बलात्कृत भएका उजुरी आयोगमा पनि आउने गरेको उनले बताइन् । आयोगले जबर्जस्ती करणीका उजुरी प्रहरीकहाँ पठाउने गरेको छ । उजुरीकर्ता कठिन अवस्थामा रहेका बेलामा आयोगले मुद्दा चल्ने अवधिभर सहयोग गर्ने उनले बताइन् ।

बाल्यकाल वा किशोरावस्था कतिपयलाई त आफूमाथि भएको व्यवहार यौन हिंसा हो भन्नेसम्म पनि थाहा हुँदैन । काठमाडौंमा बस्दै आएकी २४ वर्षीय गुल्मीकी एक महिलाले बाल्यकालमा आफू यौन हिंसामा परेको अहिले थाहा पाएको बताइन् ।

‘मीठो चकलेटको लोभ देखाएर घर नजिकको पसले काका पर्नेले मेरो छाती, सु गर्ने ठाउँ चलाउने गथ्र्याे,’ उनले भनिन्, ‘म कक्षा ४ पढ्ने बेलासम्म मौका छोपेर यस्तो काम गथ्र्याे उसले ।’ एकजना साथीलाई पनि त्यस्तै व्यवहार गर्ने गरेको अहिले सम्झना आउँदा अहिले भए मुद्दा चलाउन सकिन्थ्यो भन्ने लाग्ने गरेको उनले बताइन् । ‘हामी दुवै जना बाल यौन हिंसाका सिकार भएका थियौं ।

त्यो अपराध हो भन्ने पनि थाहा थिएन,’ उनले भनिन्, ‘अहिले थाहा भयो तर, प्रमाण नहुनाले कानुनी कारबाही गर्न असमर्थ छौं ।’ बितेका कुराले बेलाबेलामा गाह्रो हुने उनले बताइन् ।

मुलुकी अपराध संहिता २०७४ मा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई जबर्जस्ती करणी गरेकामा जन्म कैद सजाय तोकिएको छ ।

यस्तै १० वर्ष वा त्यसभन्दा बढी १४ भन्दा कम उमेरकी बालिका भए १८ वर्षदखि २० वर्षसम्म कैद सजाय तोकिएको छ । १४ वर्ष वा त्यसभन्दा बढी १६ भन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय तोकिएको छ । १६ भन्दा बढी १८ वर्षभन्दा कम उमेरकी बालिकालाई जबर्जस्ती करणी गर्नेलाई १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय तोकिएको छ ।
मनोविज्ञका अनुसार बालिकालाई जबर्जस्ती करणी गर्ने व्यक्ति सामाजिक रूपमा सामान्य देखिए पनि मानसिक रूपम्ँँ असामान्य रहने गर्छ । मानसिक अवस्था असन्तुलित भएका मानिसले जबर्जस्ती करणी गर्नेे मनोविज्ञ सनम पौडेलले बताइन् । ‘त्यस्ताले अरूलाई दु:ख दिएर आनन्द लिने गर्छन्,’ उनले भनिन्, ‘अनि आक्रामक खालको बानी व्यवहँर देखाएर जबर्जस्ती करणी गर्न सक्छन् ।’

यस्तो स्वभाव हुनेहरूले अक्सर साना नानीहरूलाई खानेकुराको लोभ देखाएर पैसा दिई अनैतिक कार्य गर्ने गरेको उनले बताइन् । यौनजन्य दुव्र्यवहारमा परेका बालिकालाई मानसिक तथा शारीरिक रूपमा सक्षम बनाउन मनोसामाजिक परामर्श दिन आवश्यक हुने उनको भनाइ छ । त्यस्ता दुर्घटना हुन नदिन अभिभावकहरू बालबालिकाको साथी बन्नुपर्ने उनी बताउँछिन् ।

उनका अनुसार घरपरिवारमा झगडा भइरहने, अभिभावकको माया ममताको कमी र सौतेनी आमा बाबा भएका छोराछोरी प्राय: यौन हिंसाको सिकार भएका घटना पाइएका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT