कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पिण्डेश्वरको जग्गा कागजमा मात्रै

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानको पिण्डेश्वर शिव मन्दिर धेरै अचल सम्पत्ति भएको देवालयमा पर्छ । मन्दिरका नाममा जग्गा कति छ ? जवाफ मन्दिरमा पुजारी भएर बस्दै आएका गुठी संस्थान प्रतिनिधिलाई पनि थाहा छैन । 

धरान-१४ विजयपुर डाँडामा रहेको उक्त मन्दिरका नाममा विभिन्न जिल्लामा घटीमा ५ हजार बिघा जमिन से्रस्तामा रहेको भनाइ पुजारीहरूको छ । ती जग्गा कहाँ कहाँ क-कसले उपभोग गर्दै छन् र त्यसबापत कहाँ कति बुझाउँछन् भन्ने प्रश्नको उत्तर दिन भने उनीहरू सक्दैनन् ।


अरू जिल्लामा रहेको सम्पत्तिको कुरो त परै जाओस्, मन्दिर आसपासकै १८ बिघा जमिन पनि अतिक्रमणका कारण एक बिघामा सीमित भएको छ । गुठी संस्थानअन्तर्गत सञ्चालित पिण्डेश्वर मन्दिरको स्वामित्वमा धरान-१४ को विजयपुर डाँडामा ३६ बिघा जग्गा थियो ।


तीमध्ये १८ बिघा पिण्डेश्वर विद्यापीठ (क्याम्पस) को स्वामित्वमा गयो । बाँकी रहेको जमिन पनि संरक्षण हुन सकेको छैन । मन्दिरका सहायक पुजारी गोकुल र नारायण पोखरेलले भने, ‘मन्दिरका नाममा सयौं बिघा जमिन स्रेस्तामा छ तर कता छ, थाहा छैन । यही आसपासको जमिन पनि अतिक्रमणमा परेर एक बिघामा खुम्चिएको छ ।’


मन्दिरको पुरानो सिमानाअनुसार दक्षिणमा धरान-१५, बाझगराको नीराजन बस्ती, पूर्वमा सेउती किनार, उत्तरमा गणेशचोक र पश्चिममा तुर्केधारासम्म जग्गा थियो । ती सबै क्षेत्रमा झन्डै ४ सय घरधुरी आफूलाई सुकुम्बासी बताउनेहरू बसेका छन् । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपाली भन्छन्, ‘जग्गा अतिक्रमण नहुने थियो होला तर पुजारीहरूले दानदक्षिणा र भेटीमा मात्र ध्यान दिए ।


मन्दिरका नाममा रहेको अथाह जग्गाजमिन संरक्षण गर्नतिर कसैको ध्यान गएन ।’ उक्त मन्दिर कहिले, कसले निर्माण गरेको हो भन्ने अझै खोजीको विषय छ । मुख्य मन्दिर प्रस्तरलाई काटेर बनाइएको छ । गुम्बज आकारमा रहेको मन्दिर असमको कामाक्षा मन्दिरको समकालीन र पशुतिनाथ मन्दिरभन्दा पुरानो दाबी गरिएको छ ।


मन्दिरमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले घण्ट चढाएका छन् । बराहक्षेत्रको औलिया गुठीअन्तर्गत पिण्डेश्वर मन्दिर सञ्चालनमा आएको थियो । महन्त प्रथामा चलेको मन्दिर २००७ सालमा अन्तिम महन्तले विवाह गरेपछि दुर्गाप्रसाद पोखरेललाई पूजाअर्चना गरिखान जिम्मा दिएका थिए ।


त्यसयता पुजारी प्रथाअनुसार मन्दिर सञ्चालन हुँदै आएको छ । ‘मन्दिरका नाममा रहेको सयौं बिघा जमिनबारे हामी बेखबर छौं,’ समिति अध्यक्ष बनेपाली भन्छन्, ‘भक्तजनले दु:ख नपाऊन् भनेर हामीले चन्दा उठाएर आश्रम भवन भने बनाएका छौं ।’


पिण्डेश्वरमा २०३७ सालदेखि बर्सेनि साउनमा बराहक्षेत्रको कोका नदी र सप्तकोसीको जल चढाउने बोलबम मेला लाग्ने गरेको छ । मन्दिरमा चढाइने भेटीको रकमलाई पारदर्शी बनाउन समितिले गुठी संस्थानमा पनि पटकपटक पत्राचार गरेको छ । विगतमा पुजारी विनोद पोखरेलले गुठी संस्थान गएर मन्दिर सञ्चालन समिति गठन गरेर आएका थिए ।


प्रकाशित : जेष्ठ ८, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?