कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वर्षा र वनले रोक्यो काम

दिप्ती सिलवाल

पर्वत — चालु वर्षभित्रै ७० प्रतिशत काम सक्ने गरी अघि बढेको मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ खण्डमा बेमौसमी झरी र सामुदायिक वन बाधक बनेको छ । पर्वतको मालढुंगादेखि कास्कीको फेदीसम्मको सडकको अधिकांश क्षेत्र आउँदो असारसम्म कालोपत्रे गरिसक्ने योजना थियो ।

पर्वत खण्डको ८ र कास्कीतर्फको १२ किमि कालोपत्रेको अन्तिम तयारी भइरहेका बेला कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित ढाँवमा ढुंगा निकाल्न वन सब-डिभिजन कार्यालयले रोक लगाएको निर्माण व्यवसायीको भनाइ छ । नयाँपुलदेखि फेदी खण्ड निर्माण गरिरहेको श्रेष्ठ दिवा एपेक्स जेभीका अनुसार ढाँवमा निर्माण सामग्री निकाल्न वन कार्यालयले रोकेपछि समस्या परेको छ ।


हालसम्म ६ किमि बढी सडक कालोपत्रेका लागि आधार तयार पारिएको छ । बाँकी ६ किमि कालोपत्रे गर्ने आधार बनाउन नपाइएपछि काम रोकिएको एपेक्सका प्रतिनिधि काशीराज बोहराले बताए ।


‘असारअघि १२ किमि बढी सक्ने योजनामा थियौं,’ उनले भने, ‘निर्माण सामग्री सकिएर ठप्प भयो । बाँकी निकाल्न वनले रोक्यो ।’ ०७७ भदौसम्म सक्ने जिम्मा लिएको एपेक्सले सम्झौताअघि नै काम सकेर आयोजनालाई जिम्मा लगाउने योजना राखेको छ ।


निर्माण कम्पनीले गाउँपालिकाको स्वीकृति लिएर वन क्षेत्रबाट ढुंगा उत्खनन गरेको थियो । निर्माण सामग्री निकाल्ने अरू विकल्प नभएका कारण वन क्षेत्रमा असर नपर्ने गरी उत्खननको पहल भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना पर्वतका प्रमुख आशिष थापामगरले बताए ।


‘सामग्री अभावले काम रोकिएको कुराप्रति हामी गम्भीर छौं,’ उनले भने, ‘सम्बन्धित गाउँपालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको छ ।’ छिट्टै समस्या समाधान

गरी निर्माण अगाडि बढाइने उनले बताए ।


अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीस्थित वनको सब-डिभिजन कार्यालय प्रमुख धु्रव मल्लले निर्माण कम्पनीले ढुंगा, गिट्टी निकालेको उजुरी परेपछि अनुसन्धानका लागि रोकिएको बताए । ‘पहिल्यै गाउँपालिकाले पनि रोकेको छ,’ उनले भने, ‘के-कसरी उत्खनन गरेको हो । अनुमति छ/छैन भनेर आएको उजुरीका कारण अनुसन्धानलाई रोकिएको हो ।’


लोकमार्गको पोखरा-बागलुङ खण्ड स्तरोन्नतिको काम २०७४ चैतदेखि आरम्भ भएको थियो । पर्वत खण्डमा हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयको दाबी छ ।


अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किमिमध्ये कुश्मा बजारक्षेत्र र कडा चट्टान भएका पहराबाहेक स्थानमा सडक चौडा पार्ने, नाली, ग्याबिनलगायतका सबै काम सकिएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका परियोजना प्रमुख गोविन्द भुसालले बताए । ‘कुश्मा बजारमा पानीका पाइप र विद्युता पोल व्यवस्थापनले केही समस्या भयो,’ उनले भने, ‘चुवालगायत केही स्थानमा पहरो फुटाउन समस्या छ । बाँकी काम अन्तिम भइसकेको छ ।’


हिउँदमा लगातार परेको बेमौसमी वर्षाले काममा धेरै अवरोध पुर्‍याएको उनले बताए । कुश्मा क्षेत्रमा ४ लेनको बनाउने गरी सडक विस्तार गर्नुपर्दा बजारमा वितरित खानेपानी र छेउछाउका विद्युत् पोल व्यवस्थापनमा समस्या भएको उनले बताए ।


अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किमिमा असारसम्ममा मालढुंगादेखि जिल्ला प्रहरी कार्यालय पर्वतसम्मको ८ किमि सडक कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको लामा कन्स्ट्रक्सनले जनाएको छ ।


प्रकाशित : जेष्ठ ८, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?