हिमालयको जहाज फेरि भाडामा

हिमालय एयरलाइन्सले भाडामा लिएको जहाज योजनाअनुरुप व्यापार गर्न नसकेपछि भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा
सुरज कुँवर

काठमाडौँ — तीन वर्षदेखि काठमाडौंलाई हब बनाउँदै अन्तर्राष्ट्रिय उडान थालेको हिमालय एयरलाइन्सले योजनाअनुरूप व्यापार गर्न नसकेपछि आफ्नो एउटा जहाज भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा दिएको छ ।

हिमालयका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठका अनुसार १५८ सिट क्षमताका तीनवटा एयरबस ए३२० न्यारोबडी विमानमध्ये नेपालमा दर्ता भएको ‘नाइन नोभेम्बर (अल्फा लिमा माइक) कल साइन को एयरबसए३२० गत शुक्रबार भियतनाममा पठाइएको हो ।

हिमालयको जहाज ५ महिनादेखि व्यावसायिक उडान थालेको भियतनामको निजी कम्पनी ब्याम्बो एयरलाइन्सले त्यहाँको राजधानी हनोईबाट जापान, कोरिया, ताइवान तथा भियतनामका १४ वटा आन्तरिक सेक्टरमा उडाउनेछ । नौवटा जहाज रहेको ब्याम्बोले आफ्नो नयाँ विमान थपिएपछि हिमालयको न्यारोबडी फर्काउने जनाउ दिएको सम्बद्ध स्रोतले जनाएको छ ।

उपाध्यक्ष श्रेष्ठका अनुसार उक्त विमान एक वर्षका लागि ‘वेटलिज’ अवधारणामा भाडामा दिइएको छ । वेटलिजमा हिमालयको जहाज यसै कम्पनीका चालक दलले उडाउनेछन् । विमानको नियमित मर्मत र बिमा खर्च पनि हिमालयले नै व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

‘एक वर्षको सम्झौता ६/६ महिनामा नवीकरण गरिने व्यवस्था राखिएको छ,’ उपाध्यक्ष श्रेष्ठले कान्तिपुरसँग भने । ‘यो सम्झौताअनुसार ब्याम्बोले प्रतिघण्टा १८ सय डलर (२ लाख रुपैयाँ) हाराहारीमा हिमालयलाई बुझाउनुपर्नेछ,’ स्रोतले भन्यो, ‘ब्याम्बोले यो दरअनुसार महिनामा ३ सय घण्टा हाराहारी जहाज उडाउनैपर्छ । नउडाएमा हिमालयले कम्तीमा मासिक ३ सय घण्टाको हिसाब दिनुपर्नेछ । यस हिसाबले उक्त विमान दैनिक १० घण्टा उडाउनैपर्ने हुन्छ ।’

स्थापना भएयता व्यापारमा मुनाफा आर्जन गर्न नसकिरहेको हिमालयले नेपालमा विभिन्न संस्थाहरूलाई बुझाउनुपर्ने बक्यौता बढ्दै गएको स्रोतको दाबी छ । ०७१ मा दर्ता भएको हिमालयले ०७३ जेठमा काठमाडौंबाट दोहा उडान थाल्दै गर्दा ५ वर्षभित्र १५ वटा जहाजमार्फत कम्तीमा एक दर्जन क्षेत्रमा सेवा विस्तार गर्दैहवाई व्यापारमा नेपाली एयरलाइन्सले आर्जन गर्दै आएको ५ प्रतिशत हिस्सालाई ५० प्रतिशत पुर्‍याउने घोषणा गरेको थियो । नेपालमा वार्षिक १ खर्ब रुपैयाँ हाराहारीको हवाई व्यापार हुने गरेको अनुमान छ ।

तीन वर्षयता हिमालयले घोषणा गरेअनुसार व्यापार गर्न सकेको छैन । कोलम्बो र म्यानमारमा छ महिनाभन्दा बढी टिक्न नसकेर सेवा नै बन्द गरिसकेको छ ।

यसैबीच लगानी पारदर्शी नभएको जनाउँदै भारतको नागरिक उड्डयनले तीन वर्षदेखि यसलाई उक्त मुलुकमा उड्न अनुमति दिएको छैन । हिमालयले पहिलो गन्तव्य भारतको नयाँदिल्ली घोषणा गरेको थियो ।

भारतमा उड्न नपाएपछि दोहाबाट व्यावसायिक उडान थालेको थियो । ‘५१ प्रतिशत नेपालीको लगानी भनिएको छ तर बोर्ड सदस्यमा अधिकांश चिनियाँ नागरिकको नेतृत्व हाबी किन छ ? भन्दै भारतले प्रश्न गरेको,’ स्रोतले भन्यो, ‘हाम्रो कम्पनीले उनीहरूलाई जवाफ दिन सकिरहेको छैन ।’

‘हिमालयको व्यवस्थापन पक्ष कमजोर छ, यस कम्पनीले कम्तीमा ६ अर्ब रुपैयाँ नोक्सान व्यहोरेको छ,’ स्रोतले भन्यो, ‘त्रिभुवन विमानस्थलमा जहाज पार्किङलगायतका सेवा उपभोग गरेबापत बुझाउनुपर्ने रकम, क्याटरिङ, होटल, कर्मचारीको तलबलगायतमा तिर्नुपर्ने दायित्व बढेको देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले हिमालय एयरलाइन्सले १५ करोड २१ लाख बक्यौता नतिरेको आइतबार संघीय संसदको सार्वजनिक लेखा समितिमा हिसाब बुझाइसकेको छ ।

समितिले विमानस्थललाई स्वेदशी एयरलाइन्सबाट प्रभावकारी कार्ययोजना बनाई असुल्न भनेको छ भने विदेशी वायुसेवालाई कालोसूचीमा राख्न निर्देशन दिएको छ ।

व्यापार घाटा बढदै गएपछि हिमालयले ब्याम्बोलाई जहाज दिनुअघि ओमनको सलाल एयरलाई भाडामा दिने तयारी गरिरहेको थियो । भाडामा ल्याइएको जहाजलाई फेरि भाडामा लिने कानुनी प्रक्रिया नमिलेका कारण सलाल सम्झौताबाट पछि हटेको स्रोतले बतायो ।

यो नेपाली व्यवसायी र चिनियाँको संयुक्त लगानीमा स्थापना भएको निजी कम्पनी हो । यसमा ५१ प्रतिशत लगानी यती एयरलाइन्सका सञ्चालकको कम्पनी यती वर्ल्ड इन्भेस्टमेन्ट र ४९ प्रतिशत लगानी तिब्बत एयरलायन्सको छ । यो कम्पनीसँग भएका तीनवटा विमान चाइना डेभलप्मेन्ट बैंकबाट १२ वर्षका लागि ड्राई लिजमा ल्याइएका हुन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उजाड बगरमा हरियो तरकारी

मोहन बुढाऐर

धनगढी — ६० वर्षीय हबिब अहमदको पूरै जीवन बालुवामा पानी हाल्दैमा बित्यो । उनले आफ्नै सिको गर्न लगाए, छोरा सफिरलाई पनि । हबिब परिवार कैलालीको खुटिया नदीको बगरमा हरियो तरकारी फलाउन व्यस्त छ । यसैबाट उनीहरूको जीविका चल्छ ।

कैलालीको खुटिया नदीको बगर क्षेत्रमा उत्पादित तरकारी ।तस्बिर : मोहन/कान्तिपुर


हबिबले करिब ३ बिघा बगरमा तरकारी फलाएका छन् । बर्खा लागेर बाढीले नबगाउन्जेलसम्म छोरा सफिरले बगरबाट तरकारी टिपेर बजार पुर्‍याउने काम छोड्ने छैनन् । तीन महिना उनी नदीको किनारमा बसेर बर्खा काट्छन् । फेरि बगरको बालुवामा हरियो फलाउन उस्तै व्यस्त हुन्छन् । ‘यो मेरो खानदानी पेसा हो,’ उनले भने ।

भारतको औद्योगिक नगर रुद्रपुरका हबिब ३० वर्षअघि धनगढी आएका थिए । दुई भाइको परिवारलाई पनि आफूसँगै ल्याए । रुद्रपुरमा औद्योगिक क्षेत्र स्थापना भएपछि स्थानीय नदीको बगरमा तरकारी लगाउने समुदाय विस्थापित भयो । हबिबका छोरा सफिर भन्छन्, ‘उद्योगले काम नलाग्ने वस्तु नदीमा बगाइदिँदा बगर कालो भयो । प्रदूषण पनि बढ्यो । त्यसपछि बुबाका तीन भाइ परिवार बगर खोज्दै यहाँसम्म आइपुगे ।’ पछि भारतकै सीतारगन्जलगायत बजारबाट बगर खेती गर्ने परिवार यहाँ थपिए । अहिले मोहना र खुटिया नदी बगरमा १५ परिवार भारतीय छन् ।

सफिर मोहना नदीकै बगरमा जन्मिए । बुबासँगै बालुवामा पानी हालेर हरियो फलाउन सिके । उनी भन्छन्, ‘बगरमै हुर्कें, ठूलो भएँ, बगरकै झुपडीमा बिहे भयो, अहिले परिवारको गुजारा पनि बगरमै गरेको मिहिनेतबाट भइरहेको छ ।’ उनको परिवारले तीन बिघा क्षेत्रफलमा तरकारी लगाएको छ । वार्षिक ५ लाखको तरकारी बेच्ने गरेको बताउँछन् । यतैको आम्दानीले रुद्रपुरमा घरघरेडी जोडेका छन् । अहिले भारतीयका साथै रैथानेहरूले पनि बगरमा तरकारी लगाउन सुरु गरेको सफिरले बताए ।

‘अब नेपाली पनि बगर खेतीतर्फ आकर्षित हुँदै छन् । यहाँबाट पनि विस्थापित हुनुपर्ला जस्तो छ,’ सफिरले भने, ‘पहिलो हाम्रो बुबाले बगरमा तरकारी फलाउँदा नेपालीका घरमा करेसाबारी पनि हुन्थेन । तरकारी लगाउन हामीबाटै सिकेका हुन् ।’ खुटियाको कनरी नदी पुल क्षेत्र आसपासको १५ बिघा बगर क्षेत्र पूरै हरियो देखिन्छ । काँक्रा, फर्सी, तरभुजा, खुर्सानी, लौका र करेलालगायत तरकारी फलाएर बगरलाई हरियाली बनाएका छन् ।

बगर खेती बर्खाका तीन महिना बन्द हुन्छ । त्यसबेला उनीहरू नदीको ढिकमा बसेर बेर्ना उमार्छन् । असोजबाट नदीमा बाढी नआउने भएकाले बगरमा काम गर्न सुरु गरिन्छ । बाढी आएर नबगाएसम्म बगरको तरकारी बजार पुग्ने गरेको सफिरले बताए । बगरमा उत्पादित तरकारीको मुख्य बजार धनगढी हो ।

हुलाकी सडक निर्माण भएपछि उनीहरूले कनरीको पुलको छेउमा छाप्रा बनाएर तरकारी बेच्ने गरेका छन् । स्थानीयले पनि तरकारी खरिद गर्छन् । बगरमा उत्पादन हुन थालेपछि भारतबाट आयातित हुने तरकारी घटाएको व्यवसायी भोजराज जोशीले बताए ।

बगर खेतीको विस्तारसँगै स्थानीय तहले राजस्व पनि उठाउन सुरु गरेको छ । धनगढी उपमहानगरपालिकाले मोहना र खुटिया नदीको बगर क्षेत्रमा तरकारी फलाउनेबाट वार्षिक राजस्व उठाउने गरेको हो । खुटिया नदीको १५ बिघा क्षेत्रमा बगर खेती गर्नेहरूले वार्षिक ६०हजार ठेकेदारलाई बुझाउने गरेको बताउँछन् । ‘नेपाली नभएकाले बगरको ठेक्का स्थानीयले लिन्छन् र हामीलाई तरकारी लगाउन दिएबापत ६० हजार रुपैयाँ लिन्छन्,’ सफिरले भने ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT