पाँचथर हत्या काण्ड : ९ जनाकै शव परीक्षणका लागि बीपी प्रतिष्ठानमा

कान्तिपुर संवाददाता

विराटनगर — पाँचथरको मिक्लाजोङ गाउँपालिका-३ मा हत्या गरिएका ९ जनाको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीय प्रहरी चौकीहरुबाट खटेका प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का तयार पारेर मंगलबार राति ९ वटै शव घटनास्थलबाट उठाएको थियो।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले विशेष प्रकृतिको ठूलो घटना भएकाले गृह मन्त्रालय र प्रदेश सरकारको निर्देशनअनुसार शव परीक्षणका लागि बीपी प्रतिष्ठान पठाइएको हो। घटनाको अनुसन्धानका लागि प्रहरीको विशेषज्ञ टोली घटनास्थल पुगेको छ।

मिक्लाजोङ-३ आरुबोटेका ७४ वर्षीय बमकुमार फियाक, उनकी ७१ श्रीमती श्रीमती फर्सिमाया फियाक, ३१ वर्षीया छोरी मनकुमारी फियाक र जेठी सासुकी १३ वर्षीया छोरी श्रेया फियाकसहित ४१ वर्षीय धनराज सेर्मा उनकी ३६ वर्षीया श्रीमती जस्मिता सेर्मा १३ वर्षीया नातीनी युवाना सेर्मा, ६ वर्षीय मुना सेर्मा र ८ वर्षीय इच्छा शेर्माको खुकुरी प्रहार गरी हत्या भएको थियो।

घटनामा भागेर ज्यान जोगाउन सफल १२ वर्षीय नातीनी सीताखजुमको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। हत्यामा संलग्न भनी शंका गरिएका मिक्लाजोङ ७ का मनबहादुर माखिमले झुन्डिएर आत्महत्या गरेका थिए।

घटनापछि आरुबोटे पुगेका पाँचथरका सुरक्षा अधिकारीहरु बुधबार बिहान सदरमुकाम फर्केका छन्। शव उठाएपछि अवस्था सामान्य बन्दै गएको भन्दै उनीहरु फर्केका हुन्। आरुवोटे क्षेत्रका स्थानीय बासिन्दा भने त्रसित अवस्थामै छन्।

प्रकाशित : जेष्ठ ८, २०७६ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्

दर्जनौं सर्वेक्षण 'फेल' भएको अस्ट्रेलियाको चमत्कारिक निर्वाचन

नारायण खड्का

अस्ट्रेलिया — आफ्नो पार्टीले अप्रत्याशित रूपमा जीत हासिल गरेपछिको पहिलो विजयी भाषणमा प्रधानमन्त्री स्कट मरिसनले 'आफू चमत्कारमा विश्वास गर्ने' बताएका थिए । विभिन्न संस्थाहरूको ५६ वटा सर्वेक्षणले जीत हासिल हुने नतिजा देखाइरहेको सन्दर्भमा सर्वेक्षणको विपरीत विपक्षी दल लेबरले लज्जास्पद हार ब्योहोरेपछि यहाँ हुने सर्वेक्षणहरूमै प्रश्न उठेको छ । 


अहिले अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले उठाइरहेको प्रश्न नै नहार्नुपर्ने निर्वाचन लेबरले कसरी हार्‍यो भन्नेमै केन्द्रित छ। करिब ३ वर्षदेखि भइरहेका सबै सर्वेक्षणहरूले लिबरलले हार ब्यहोर्ने प्रक्षेपण गरिरहेको सन्दर्भमा त्यसको विपरीत अपेक्षा गरेभन्दा बढी मत सहित बहुमतको सरकार बनाउने बाटोमा 'लिबरल कोअलिसन' अघि बढिसकेको छ।

अस्ट्रेलियामा गरिने सर्वेक्षणहरूलाई अत्यन्तै महत्त्वका साथ हेर्ने गरिएको छ र यसपटकको निर्वाचनमा समेत सर्वेक्षणको नतिजालाई नै अन्तिम जस्तो मानेर ढुक्क भएको लेबरले नराम्रो हार ब्योहोरेको छ। यसको विपरीत लिबरलले तल्लो सदन र माथिल्लो सदन सिनेटमा सोचेभन्दा बढी मत ल्याएको छ। यसपटकको नतिजाले सर्वेक्षणको विश्वसनीयतामा प्रश्न त उठाइदिएको छ नै जनताले कुन एजेण्डालाई प्राथमिकता दिइरहेका छन् भन्नेमा केन्द्रित हुन समेत दलहरूलाई शिक्षा दिएको छ।

अस्ट्रेलियाको राजनीतिलाई बुझेका डा. भरतराज पौडेलको भनाई अनुसार मुख्य कुरा त सर्वेक्षणमा लिइएको नमुना नै सानो सङ्ख्यामा भएकाले यसले सम्पूर्ण अस्ट्रेलियाको मतलाई समेट्न सकेको थिएन। अर्कोतिर मुख्य चारवटा विषयमा लेबर चुकेको कारणले समेत नराम्रोसँग हार ब्योहोर्नुपरेको हो। उसले दिगो अर्थतन्त्र र नेगेटिभ गियरिङको विषयमा स्थिर र विश्वासिलो धारणा दिन नसक्नु, कन्जरभेटिभ दक्षिणपन्थी धार भएका र दुर्गमका मतदाताले सरकारलाई धेरै विश्वास गर्नु, एसिया प्रशान्त क्षेत्रमा बढ्दै गएको चीनको प्रभाव कम गर्न लेबरलाई भन्दा सरकारलाई विश्वास गर्नु र महत्त्वपूर्ण तीन मन्त्रालय अध्यागमन, सामाजिक सुरक्षा र अर्थ सफलतापूर्वक सम्हालिसकेको व्यक्ति प्रधानमन्त्री भएकाले स्कट मरिसनलाई विल सर्टनभन्दा बढी पत्याउनु पनि लेबरको हारको कारण बनेको पौडेलले बताए।

अस्ट्रेलियाको राजनीतिक दलको भविष्यको छिनोफानो यहाँका जनताले सर्वेक्षणभन्दा पनि नीति तथा कार्यक्रमहरूका आधारमा गर्ने गरेका छन्। अस्ट्रेलियाको कानुनमा विद्यावारिधि गरेका डा. समसेरसिंह थापा लिबरलले ल्याएको आर्थिक र आप्रवासी नीति विशेष गरेर दुर्गम क्षेत्रमा रहने मतदाताहरूले मन पराएका कारण सबै सर्वेक्षणहरूको प्रक्षेपण असफल भएको हो। लिबरलले अभिभावक भिसाको नीतिमा ल्याएको परिवर्तन दुर्गम भेगमा बस्ने नागरिकहरूले मन पराएको कारण समेत उनीहरूको मत निर्णायक देखिएको हो।

अर्कातिर आप्रवासीको वाषिर्क कोटा ३० हजारले घटाएर दक्ष आप्रवासीहरूलाई प्राथमिकतामा राखेर र आप्रवासीहरूलाई दुर्गम भेगहरूमा सीमित गराउने लगायतका नीतिमा जोड दिएकाले समेत लिबरल मत पाउन सफल भएको थापाको विश्लेषण छ।

अस्ट्रेलियाको निर्वाचनलाई एसिया प्रशान्त क्षेत्रमा मात्र नभएर विश्वका ठुला अर्थतन्त्र भएका मुलुकहरूले चासोका साथ हेर्ने गरेका छन्। यसका लागि ६ वर्षपछि पुनः सरकारमा फर्कने पूर्ण विश्वासका साथ निर्वाचनमा होमिएको पार्टीको हारसँगै पार्टी नेता बिल सर्टनले राजीनामा दिएपछि नेतृत्व सम्हाल्ने रस्साकस्सीमा लेबरका अन्य नेताहरू लागिसकेका छन्।

यता यसको विपरीत 'चमत्कारिक' रूपमा जीत हासिल गरेपछि लिबरल कोअलिसनका नेताहरू भने निर्वाचन आयोगबाट आधिकारिक रूपमा बहुमत सिटको घोषणाको बाटो हेरिरहेका छन्।

प्रकाशित : जेष्ठ ८, २०७६ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्