नेकपाका नेता नेम्वाङ भन्छन्, ' मिडिया विधेयक संशोधन हुन्छ'

काठमाडौँ — नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले 'मिडिया काउन्सिल' विधेयकमा रहेका त्रुटि सच्याउने बताएका छन् । पत्रकार महासंघको टोलीसँगको भेटमा उनले संसदीय प्रक्रियाबाटै विधेयक परिमार्जन गरिने बताए । 

नेकपाका नेता नेम्वाङ भन्छन्, ' मिडिया विधेयक संशोधन हुन्छ'

उनले आफूलाई थाहा नभइकनै विधेयक संसदमा दर्ता भएको र महासंघले उठाएको विषयतर्फ ध्यानाकर्षण भएको बताए । 'विधेयकलाई लिएर उत्पन्न प्रतिक्रिया तथा चासोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,' उनले भने, 'संविधानअनुकूल हुने गरी परिमार्जन गर्छौं । हाम्रा सांसदमार्फत आवश्यक संशोधन हालेर अगाडि बढ्छौं ।'


महासंघ अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले नेम्बाङलाई भेटेको थियो । उनले विधेयकमा गर्नुपर्ने आवश्यक संशोधनको सूची दफावार ढंगले दिन महासंघलाई आग्रह गरे । महासंघका सचिव रामप्रसाद दाहालले सत्तारूढ दलका उपनेताको प्रतिक्रियाले संसदीय प्रक्रियामार्फत विधेयक सच्चिने विश्वास जागेको बताए ।


महासंघको टोलीले प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक देव गुरुङ, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, संघीय समाजवादी फोरमका सांसद रामसहाय प्रसाद यादव र राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई भेटेर आफ्नो चासो राखेको छ । सरकारले राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकका प्रावधान संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको भन्दै पत्रकार महासंघले त्यसको विरोध गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?