आरुबोटे हत्याकाण्ड पारिवारिक कलहले : गृहमन्त्री

सीआईबीद्वारा स्थानीयसँग सोधपुछ, सबै शव धरान लगियो
ज्ञानु घिमिरे

पाँचथर — गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको घटना पारिवारिक कलहसँग सम्बन्धित रहेको बताएका छन् । उनले अनुसन्धान भइरहेकाले थप सत्यतथ्य त्यसपछि बाहिर आउने बताए ।

आरुबोटे हत्याकाण्ड पारिवारिक कलहले : गृहमन्त्री

राष्ट्रिय सभामा बुधबार घटनाबारे जानकारी दिँदै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीका वरिष्ठ अधिकारीबाट अनुसन्धान भइरहेको जानकारी दिए । उनले केही दिनभित्रै सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे ।


गृहमन्त्रीले घाइतेको उपचार भइरहेको र अपराधी पत्ता लगाउने एउटा सूत्रका रूपमा पनि उनी रहेको बताए । उनले घटनास्थल र वरिपरिको स्थिति नियन्त्रणमा राख्न आवश्यक सुरक्षाकर्मीको टोली खटाइएको उल्लेख गरे । घटना निकै बीभत्स रहेकाले अपराधी पत्ता लगाउन कसर बाँकी नराखिने उनले बताए ।


सीआईबीद्वारा स्थानीयसँग सोधपुछ, सबै शव धरान लगियो


मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली बुधबार घटनास्थल पुगेको छ । एसपी उमा चतुर्वेदीको नेतृत्वमा आएको ६ जनाको अनुसन्धान टोलीले स्थलगत अवलोकन र स्थानीयसँग छलफल सुरु गरेको छ ।


एसएसपी सुरज खत्री नेतृत्वको टोलीले पनि बुधबार बिहानैदेखि स्थानीयसँग सोधपुछ गरेको छ । प्रहरीले हत्यामा संलग्न रहेको शंका गरिएका मानबहादुर माखिमको परिवारलगायतसँग सोधपुछ गरेको हो । मानबहादुर सोमबार राति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।


एसएसपी सुरज खत्रीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मानबहादुरले हत्या गरेको शंका भए पनि उनी एक्लैले घटना घटाए वा अरू पनि संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेको छ । हत्या गरिएका ९ जना र मानबहादुरको शव पोस्टमार्टमका लागि धरान लगिएको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार बुधबार बिहान ५ बजे शव धरान पुर्‍याइएको हो ।


प्रहरी नायब उपरीक्षक नरेद्र कुँवरले मानबहादुरले झुन्डिएर आत्महत्या गर्नुअघि कसैलाई टेलिफोन गरेर 'पहिलेको बिराम बल्झेला जस्तो छ, ५ हजार रुपैयाँ सापटी पाऊँ न, उपचारका लागि जानुपर्‍यो' भनेको बताए । घरमा पनि दबाई किन्न जानु छ भनेर सोमबार बिहान ९ बजे निस्किएको परिवारका सदस्यले बताएका छन् । उनले अरू क-कसलाई फोन गरेका थिए, त्यसको पनि अनुसन्धान हुने कुँवरले बताए । कुँवरका अनुसार मानबहादुरको साथमा केही रकम र मोबाइल थियो । हत्यामा प्रयोग भएको हतियार र उनले लगाएको कपडा भने उनी झुन्डिएको स्थानबाट केही टाढा थियो ।


छिमेकी हस्तराज फागोका अनुसार माइला जेठान धनराज सेर्मा र जस्मितासँग मानबहादुरको पारिवारिक विवाद थियो । बोलचाल नभएको एक वर्ष भएको थियो । उनीहरू दुवै जनाको हत्या भएको छ ।


मानबहादुरले बमबहादुरकी कान्छी छोरी मनकुमारीसँग प्रेम विवाह गरेका थिए । विवाह भएको केही समय मात्र श्रीमान्सँग बसेकी मनकुमारी करिब ३ वर्षदेखि माइतमा थिइन् । उनको पनि हत्या गरिएको छ । मनकुमारीका जेठा भिनाजु रणबहादुर तुम्साका अनुसार मानबहादुर र मनकुमारीका जुम्ल्याहा सन्तान जन्मिएको भए पनि मृत्यु भइसकेको थियो । मनकुमारी ढाकाको कपडा सिलाइबुनाइ गर्थिन् । उनीहरूबीच सम्बधविच्छेदको कुरा चलिरहेको स्थानीयले बताए ।


मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राईका अनुसार गाउँपालिकामा पनि सम्बन्धविच्छेदको कुरा आएको थियो । गाउँपालिकामा दोहोरो पक्षबीच कुरा नमिलेपछि जिल्लातर्फ जाने तयारी भइरहेको थियो । घटनास्थलमा प्रहरीले कडा सुरक्षा अपनाएको छ । करिब ५०/६० जना प्रहरी टोली परिचालित छ ।


छानबिन माग

कांग्रेसले सामूहिक हत्याको घटनालाई रहस्यमय भन्दै गम्भीर छानबिनका लागि सरकारसँग माग गरेको छ । कांग्रेसले सत्यतथ्य बुझ्न प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे र पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ लिम्बूलाई घटनास्थल पठाएको छ । 'अत्यन्तै क्रूरतापूर्वक भएको हत्याकाण्डले शोकमग्न बनेका गाउँलेवासीमा पार्टीले समवेदना प्रकट गरेको छ,' केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा छ, 'कांग्रेस यो रहस्यमय घटनाको गहिरो र गम्भीर छानबिन गर्न सरकारसँग माग गर्छ ।'

प्रकाशित : जेष्ठ ८, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?