कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

शल्यक्रियापछि संक्रमण : ३ लाख खर्च भयो, निको भएन

विनोद भण्डारी

विराटनगर — विराटनगर–८ का दुर्गाबहादुर कार्कीले असोज ८ गते विराट नर्सिङ होममा एपेन्डिसाइटिसको शल्यक्रिया गराए । डा. आरके साबुले पेटमा तीनवटा प्वाल पारेर दूरबिनबाट शल्यक्रिया गरेका थिए । यो प्रविधि उक्त नर्सिङ होममा भर्खर भित्रिएको थियो ।

शल्यक्रियापछि संक्रमण : ३ लाख खर्च भयो, निको भएन

शल्यत्रियाको डेढ महिनामा तीनवटै प्वालबाट पीप आउन थाल्यो । ‘पुनः नर्सिङ होम पुगें, डा. साबुले छालामा ‘इन्फेक्सन’ भएको भन्दै ‘स्विच सिवी’ र ‘चिमोरेई फोर्ट’ नामक औषधि लेखिदिए,’ कार्कीले सुनाए ।


घाउबाट पीप र पानी बग्न छाडेन । उनी फेरि डा. साबुकहाँ पुगे । उनले लिर्वोफलक्स ७ सय एमजीको औषधि दिए । ‘त्यसले पनि काम नगरेपछि ५ सय एमजीको फियुपेन, शून्य दशमलव २५ एमजीको क्लोनाज औषधि चलाए,’ कार्कीले भने, ‘त्यसले पनि ठीक नभएपछि गत पुस २६ मा ‘अ टिपिकल म्याइक्रोब्याक्टेरियम इन्फेक्सन’ हुन सक्ने भन्दै ५ सय एमजीका ‘क्लारब्याक्ट सिप्रोवेव’ ५ सय एमजी र ‘पेन्टाज’ ४० एमजीको दिए ।’


त्यति गर्दा पनि घाउ निको नभएपछि कार्की दिल्ली गएर जँचाए । दिल्लीको गंगाराम अस्पतालमा केही औषधि लिए । फर्केर आएको केही दिनपछि फेरि समस्या बल्झियो । घाउ पाक्न छाडेन । पुनः डा. साबुलाई देखाए । उनले नोबेल मेडिकल कलेजका डा. रोहितप्रसाद यादवकहाँ जान सुझाव दिए । यादवले घाउ खोल्नुपर्ने बताउँदै तीन सातासम्म ७ सय ५० एमजीको ‘एमिटेक्स’ इन्जेक्सन लगाउनुपर्ने सुझाव दिए । घाउ सफा गरेर ५ सय एमजीको ‘क्यालारा ब्याट ट्याबलेट’ खान भने ।


घाउ पाक्न नछाडेपछि फेरि दिल्ली पुगेर गंगाराम अस्पतालका डा. सुरेश सिंहभीबाट दुइटा प्वालको शल्यक्रिया गराए । केही दिनपछि अर्को घाउ पाकेकाले विराट नर्सिङ होममै डा. साबुले फेरि शल्यक्रिया गरेर औषधि दिए । ‘स्ट्रेप्टोमाइसिन’ नामक सुई ८ दिनसम्म घाउ भएकै स्थानमा लगाउन डा. साबुले सुझाव दिएको बताए ।


काठमाडौंस्थित नर्भिक र मेडिसिटी अस्पतालका चिकित्सकले भने विराटमा दिइएको उक्त सुई घाउमा हान्न नमिल्ने र पछि मृगौलामा समस्या आउने बताएको कार्कीको सुनाए । ‘संक्रमणपछिको उपचारमा मात्र करिब ३ लाख रुपैयाँ खर्च भइसक्यो,’ कार्कीले भने ।


चारवटा प्वाल पारेर पुस दोस्रो साता उक्त नर्सिङ होममा पिक्तथैलीको शल्यत्रिया गराएकी झापा शान्तिनगर ७ की राधा निरौलाले पनि डेढ लाखभन्दा बढी रकम खर्चिन् । पीप र पानी बग्न छाडेको छैन । चिकित्सकलाई देखाएर फेरि शल्यक्रिया गरिएको उनले बताइन् । ‘त्यसको एक महिनासम्म घाउमा ‘ड्रेसिङ’ गराएँ, अहिले चारवटै प्वालमा गाँठा पलाएका छन्,’ उनले सुनाइन् । उनले चिकित्सकले गाँठामै २० वटा इन्जेक्सन हाने पनि बिसेक नभएको बताइन् । उनको छातीमा पनि गाँठा पलाएको छ ।


यही संक्रमणबाट प्रभावित कोसी अञ्चल अस्पतालका रेडियोलोजिस्ट भानु साह काठमाडौंका मेडिसिटी अस्पतालमा थप उपचार गरेर बुधबार विराटनगर फर्किएका छन् । उनले दुई महिनाअघि विराट नर्सिङ होममै दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए ।

सप्तरी, महुलीकी शशिकला दासको पाठेघरको शल्यक्रियापछि भएको संक्रमण निको भएको छैन ।


पाँचवटा प्वालमध्ये दुइटाबाट पीप बगिरहेको उनले बताइन् । उनकी आमा बिना दासले भनिन्, ‘एक लाख रुपैयाँ खर्च भइसक्यो । पीप बग्न छाडेको छैन ।’


यो नर्सिङ होममा असोजयता दूरबिनबाट पित्तथैली, एपेन्डिसाइटिस र फाठेघरको शल्यक्रिmया गराएका दर्जनौं बिरामीमा संत्रमण देखिएको छ । संक्रमणबाट मुत्त हुन एक लाखदेखि ३ लाख रुपैयाँसम्म खर्च गरिसक्दा पनि बिसेक भएका छैनन् ।


नर्सिङ होमले असोजयता शल्यक्रिया गरिएका २ हजार १ सय बिरामीमध्ये २१ जनामा मात्र ‘इन्फेक्सन’ भएको दाबी गरेको छ । यो प्रविधिअन्तर्गत भुँडीमा तीनदेखि पाँचवटा साना प्वाल पारी त्यसमा दूरबिन छिराएर कम्फ्युटर स्क्रिनमा हेरेर शल्यत्रिया गरिन्छ ।


नर्सिङ होमले संक्रमण नियन्त्रणमा आएको दाबी गरे पनि बिरामी अझै उपचारका लागि विभिन्न स्वास्थ्य संस्था धाइरहेका छन् । अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले अपरेसन थिएटरका उपकरणका कारण संक्रमण देखिएको उल्लेख गर्दै पुराना हटाएर फेरिएको बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?