सर्वोच्च शिखरमा एकै दिन २ सय

सुरज कुँवर

काठमाडौँ — सगरमाथामा बुधबार २ सयजना हाराहारी पर्वतारोहीले सफल आरोहण गरेका छन् । यो वसन्तकालीन सिजनका लागि बाटो खुला भएको एक सातामा एकै दिनमा अत्यधिक आरोहण भएको यो पहिलो पटक हो । 

सर्वोच्च शिखरमा एकै दिन २ सय

‘बुधबार चानचुन २ सय आरोही चुचुरोमा पुगे,’ आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने, ‘चुचुरोबाट चौथो शिविरमा ओर्लिने क्रम साँझसम्म चल्यो ।’


पर्यटन विभागका अनुसार यसअघि २०७३ जेठ ३ मा एकै दिनमा २ सय ५ आरोही चुचुरोमा पुगेका थिए । विभागले उक्त दिनलाई सर्वाधिक संख्यामा आरोहण भएको भनेको थियो । त्यसअघि सन् २०६५ मा १ सय ३५ आरोहीले एकै दिन चुचुरोमा पाइला राखेका थिए । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका अनुसार तिब्बत र नेपालतर्फबाट २०६९ जेठमा एकै दिन २ सय ६७ आरोही चुचुरोमा पुगेका थिए ।


मौसम अनुकूल भएका कारण बुधबार आरोहीहरूको भीड लागेको थियो । ८ हजार मिटरभन्दा माथि साउथकोल, बालकोनी र हिलारी स्टेपमा आरोहीहरूको भीड भएको सम्पर्क अधिकृत श्रेष्ठले बताए । ‘पर्वतारोहीहरूको भीडले आरोहणमा बाधा पुग्यो,’ उनले भने । यसैबीच विभागकी निर्देशक मीरा आचार्यले बुधबारको आरोहणका क्रममा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । ‘एजेन्सीका अनुसार आरोहण सकेर फर्किंदै गरेका अमेरिकी आरोही डोनाल्ड लियन क्यासको बालकोनीमा ३ बजे मृत्यु भएको छ,’ निर्देशक आचार्यले भनिन् ।


यस वर्षको वसन्तकालीन आरोहणको समय एक साता हाराहारी बाँकी रहँदा आधार शिविरमा रहेका आरोहीमध्ये अधिकांश दोस्रो शिविरभन्दा माथि पुगेको श्रेष्ठले बताए । बिहीबारका लागि सयभन्दा बढी आरोही चुचुरोमा जाने तयारीमा छन् । चौथो शिविरदेखि माथि डोरीको सहायतामा बनाइएको बाटो हुँदै चुचुरोमा पुग्नुपर्छ । चौथो शिविरदेखि चुचुरोमा पुग्न १२ घण्टा हाराहारी समय लाग्छ । चुचुरोमा पुग्न बेलुकी ९ देखि बिहान १२ बजेसम्मको समय उपयुक्त मानिन्छ ।


यसैबीच २५ वर्षदेखि एचआईभीबाट संक्रमित पूर्वराष्ट्रिय खेलाडी गोपाल श्रेष्ठले बुधबार बिहान सगरमाथा चुचुरोमा पाइला राखेका छन् । ५६ वर्षीय श्रेष्ठ पोखराका हुन् । सम्पर्क अधिकृत श्रेष्ठले उनको रेकर्डलाई विश्वकै पहिलो दाबी गरेका छन् । तर, पर्यटन विभागले यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।


संक्रमितलाई दया, माया वा हेलाँ नभई अवसर र सहभागिताको अनुकूल वातावरण भए अरूसरह परिवार, समाज, राष्ट्र र विश्वकै लागि केही गर्न सक्छन् भन्ने सन्देस प्रवाह गर्ने उद्देश्य राखेर आरोहण गरेका हुन् । श्रेष्ठ ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिको व्यवस्थापनमा आरोहणमा गएका थिए ।


सन् २०१५ मा सगरमाथा आरोहणमा गएका उनी त्यस घटनामा घाइते भएपछि फर्किएका थिए । काठमाडौंको कलंकीमा रहेको एलआरआई स्कुलको झन्डा बोकेर गएका पूर्वविद्यार्थी कामी तेम्बा शेर्पासहितको टोलीले पनि सगरमाथा आरोहण गरेको छ । त्यस्तै चिनियाँ महिलाहरूको आरोहण दल ‘फर्स्ट चाइनिज वुमेन एभरेस्ट एक्सपिडिसन’ को टोली पनि बुधबार चुचुरोमा पुग्न सफल भएको छ ।


४ शव संकलन

आरोही शेर्पाहरूले चार जनाको शव संकलन गरेका छन् । जसमा गत वर्षको आरोहणमा मृत्यु भएका एक रसियन नागरिक पनि रहेको सम्पर्क अधिकृत श्रेष्ठले बताए । त्यसैगरी अन्य तीन शव कुन मुलुक र कुन वर्षको घटनाका हुन् भन्नेबारे पहिचान नभएको उनले बताए । यस सिजनका लागि शुक्रबारसम्म मौसम अनुकूल रहने अनुमान गरिएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?