२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पाँचथर हत्याकाण्ड : सीआईबीले थाल्यो अनुसन्धान

ज्ञानु घिमिरे

पाँचथर — मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली बुधबार घटनास्थल पुगेको छ । एसपी उमा चतुर्वेदीको नेतृत्वमा आएको ६ जनाको अनुसन्धान टोलीले स्थलगत अवलोकन र स्थानीयसँग छलफल सुरु गरेको छ ।

पाँचथर हत्याकाण्ड : सीआईबीले थाल्यो अनुसन्धान

एसएसपी सुरज खत्री नेतृत्वको टोलीले पनि बुधबार बिहानैदेखि स्थानीयसँग सोधपुछ गरेको छ । प्रहरीले हत्यामा संलग्न रहेको शंका गरिएका मानबहादुर माखिमको परिवारलगायतसँग सोधपुछ गरेको हो । मानबहादुर सोमबार राति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।


एसएसपी सुरज खत्रीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मानबहादुरले हत्या गरेको शंका भए पनि उनी एक्लैले घटना घटाए वा अरू पनि संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेको छ । हत्या गरिएका ९ जना र मानबहादुरको शव पोस्टमार्टमका लागि धरान लगिएको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार बुधबार बिहान ५ बजे शव धरान पुर्‍याइएको हो ।


प्रहरी नायब उपरीक्षक नरेद्र कुँवरले मानबहादुरले झुन्डिएर आत्महत्या गर्नुअघि कसैलाई टेलिफोन गरेर ‘पहिलेको बिराम बल्झेला जस्तो छ, ५ हजार रुपैयाँ सापटी पाऊँ न, उपचारका लागि जानुपर्‍यो’ भनेको बताए । घरमा पनि दबाई किन्न जानु छ भनेर सोमबार बिहान ९ बजे निस्किएको परिवारका सदस्यले बताएका छन् । उनले अरू क–कसलाई फोन गरेका थिए, त्यसको पनि अनुसन्धान हुने कुँवरले बताए । कुँवरका अनुसार मानबहादुरको साथमा केही रकम र मोबाइल थियो । हत्यामा प्रयोग भएको हतियार र उनले लगाएको कपडा भने उनी झुन्डिएको स्थानबाट केही टाढा थियो ।


छिमेकी हस्तराज फागोका अनुसार माइला जेठान धनराज सेर्मा र जस्मितासँग मानबहादुरको पारिवारिक विवाद थियो । बोलचाल नभएको एक वर्ष भएको थियो । उनीहरू दुवै जनाको हत्या भएको छ । मानबहादुरले बमबहादुरकी कान्छी छोरी मनकुमारीसँग प्रेम विवाह गरेका थिए ।


विवाह भएको केही समय मात्र श्रीमान्सँग बसेकी मनकुमारी करिब ३ वर्षदेखि माइतमा थिइन् । उनको पनि हत्या गरिएको छ । मनकुमारीका जेठा भिनाजु रणबहादुर तुम्साका अनुसार मानबहादुर र मनकुमारीका जुम्ल्याहा सन्तान जन्मिएको भए पनि मृत्यु भइसकेको थियो । मनकुमारी ढाकाको कपडा सिलाइबुनाइ गर्थिन् । उनीहरूबीच सम्बधविच्छेदको कुरा चलिरहेको स्थानीयले बताए ।


मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राईका अनुसार गाउँपालिकामा पनि सम्बन्धविच्छेदको कुरा आएको थियो । गाउँपालिकामा दोहोरो पक्षबीच कुरा नमिलेपछि जिल्लातर्फ जाने तयारी भइरहेको थियो । घटनास्थलमा प्रहरीले कडा सुरक्षा अपनाएको छ । करिब ५०/६० जना प्रहरी टोली परिचालित छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?