१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मनाङको नारमा जेठमै हिमपात [तस्बिर र भिडियो]

आश गुरुङ

लमजुङ — कहिलेकाहीं पुसमाघमा समेत मनाङमा हिउँ पर्दैन । यसपटक अचम्मै भयो, बैशाख–जेठमा पनि हिउँ पर्‍यो । अलिअलिमात्रै नभई गाउँबस्ती नै ढाकिने गरी । तराईमा ४० डिग्री सेन्टिग्रेडमाथि तापक्रम पुगेको छ ।

मनाङको नारमा जेठमै हिमपात [तस्बिर र भिडियो]

हिमाली जिल्ला मनाङको नारमा भने हिमपात भइरहेको छ । गर्मीले तराईमा एकसरो लुगा लगाउन समेत मुस्किल परेका बेला मनाङको नारमा भने मुटु कमाउने जाडो बढेको छ ।


‘४/५ वर्षअघि बैशाखमा हिउँ परेको थियो । त्यतिबेला अलिअलि परेको थियो । यो त हिउँ पर्ने समय होइन,’ नारगाउँका फुर्पा ठेले लामाले भने, ‘पुसमाघमा हिउँ पर्दैन बरु । पछिल्लो समय त बैशाख जेठमै हिउँ पर्ने पो भयो ।’


नार्पाभूमि गाउँपालिका–१ का अध्यक्ष रितार छिपेल लामाले जेठमै हिउँ पर्नु नयाँ कुरा भएको बताए । नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाले जेठ १ गतेयता प्रायः दिनदिनै हिमपात भइरहेको बताए । ‘सुरुमा हावाहुरी चल्छ । त्यसपछि पानी पर्छ । पानी पर्दापर्दै हिमपात हुने गरेको छ,’ उनले भने, ‘जेठमै ३ इन्चसम्म हिउँ जम्ने गरेको छ ।’


उनले मंगलबार र बुधबारसमेत गाउँमा केही समय हिमपात भएको बताए । अहिलेको संकेत अनुसार जेठ महिनाभरी नै हिमपात हुनसक्ने उनले अनुमान गरे । ‘माघ फागुनको हिमपातले धेरै नोक्सान पुर्‍यायो । बैशाख जेठमा पनि हिउँ परेको छ । असार नलागेसम्म यस्तै होला जस्तो छ,’ उनले भने, ‘मौसम परिवर्तन भइरहेको छ । बेमौसमको हिमपातले बिउबालीलाई समस्या पारेको छ ।’


फागुनभरी हिमपात हुँदा स्थानीयमात्रै नभएर अस्थायी रुपमा मनाङ बस्दै आएकाहरु आत्तिएका थिए । एकदिन हिउँ पर्न छोडे उनीहरु सहरबजार झर्थे । अहिले मनाङकै नार गाउँका बासिन्दा जेठ महिनामा समेत हिमपातसँग जुधिरहेका छन् । घरेलु तथा साना उद्योग विकास समिति मनाङका उद्योग अधिकृत प्रदीप न्यौपानेले बर्खा लाग्ने बेलामा पनि हिमपातको अचम्मको दृश्य देखिएको बताए । ‘नारमा हाम्रो तालिम चल्दै थियो । हामी गयौं । गएकै दिन हिमपात भयो,’ उनले भने, ‘कस्तो अचम्म । हामीलाई पुसमाघ जस्तै लाग्यो ।’


नासों गाउँपालिका–१, तालगाउँकी कान्छी गुरुङ नारबासीलाई अचार बनाउने तालिम दिन गएकी थिइन् । ‘हाम्रो गाउँमा पुसमाघ मै हिउँ देख्न मुस्किल छ । २० वर्षपछि अहिले फागुनमा हिउँ पर्‍यो,’ उनले भनिन्, ‘नार गाउँमा जेठमै पनि हिउँ पर्दो रहेछ ।’ मनाङका जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले नारगाउँमा हिमपात हुँदा अचम्म मानेको बताए । ‘हिमाली जिल्ला चिसो त स्वभाविक हो । बैशाख–जेठमै हिमपात हुनु त त्यति स्वभाविक ठानिन मैले ।’


‘पहिले त मान्छे नै उडाउने गरी हावा चल्यो । पछि त हिमपात भैगो,’ अधिकृत न्यौपानेले भने । जिल्ला निर्वाचन अधिकारीले नारबाट काङला पास हुँदै मनाङ गाउँ निस्कने योजना भएपनि हिमपातले जान नसकिएको बताए ।


नारमा नार गेष्ट हाउससमेत संचालन गर्दै आएका लामाले मौसम परिवर्तन भइरहँदा अहिले हिमपात भएको हुनसक्ने अनुमान गरे । उनका अनुसार पुसमाघको हिमपातले बालीनाली सप्रिने भएपनि बेमौसममा परेको हिमपातले बालीनाली बिगार्छ । उनका अनुसार आलु र करु रोपेको २ साता पनि भएको छैन । एकसातापछि तोरी रोप्ने तयारी छ । ‘आलु र करु उम्रिएको छ । ‘पानी परेको भए खेती राम्रो हुने थियो । हिउँ पर्‍यो । साह्रै चिसो छ । चिसोले बाली पहेंलो बनाइदिन्छ । पहेंलो भएपछि मर्ने सम्भावना हुन्छ ।’


संघीय संरचनापछि नार्पाभूमि गाउँपालिकाको १, २ र ३ नं. वडामा नार गाउँ पर्छ । ४ हजार १ सय २० मिटर उचाईको नार गाउँमा ८६ घरधुरी छन् । स्थानीयको प्रमुख बाली आलु, जौ, करु र तोरी हो । तिनै बालीमा हिमपातले क्षति पुर्‍याएको वडाअध्यक्ष लामाले बताए ।

तस्बिर र भिडियो सौजन्यः प्रदीप न्यौपाने/मनाङ


प्रकाशित : जेष्ठ ९, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?