कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बैंगलोरबाट झन्डै दुई करोड बराबरको धनमाल चोरेर पाँच नेपाली फरार, पीडित परिवार न्याय खोज्दै नेपालमा

जनकराज सापकोटा

काठमाडौँ — भारतको बैंगलोरस्थित कल्याणनगर निवासी नागराज रेड्डीको घरमा कार्यरत दुई नेपाली कामदारसहित अन्य तीन नेपाली मिलेर गरेको झन्डै दुई करोड रुपैयाँ बराबरको चोरीको घटनाबारे काठमाडौंस्थित भारतीय दूतावासले समेत चासो देखाएको छ ।

बैंगलोरबाट झन्डै दुई करोड बराबरको धनमाल चोरेर पाँच नेपाली फरार, पीडित परिवार न्याय खोज्दै नेपालमा

बाजुराको बुढीगंगा नगरपालिका-९ जुवापानीका हेमनाथ सिंह र उनकी पत्नी मान्डवी सिंहले अन्य तीन नेपालीको सहयोगमा २१ बैशाखमा नागराजको घरबाट चोरी गरेर फरार भएका हुन् । पीडित परिवारबाट कान्तिपुरले प्राप्त गरेको घटनाको सिसिटिभी फुटेजमा चार पुरुष रातिको समयमा घरभित्र छिरेको र चोरिएको सामानसहित गाडीमा भाग्ने व्यवस्था मान्डवीले मिलाएको देखिन्छ ।

चोरीको घटनामा सिंह दम्पत्तीका अलावा बाजुरा जुवापानीकै दीपक भनिने जीवन, राजेन्द्र शाही र अछाम सेलागाउँका राजु शाही रहेको भन्दै परिवारले बैंगलोरस्थित प्रहरीमा किटानी जाहेरी दिएको छ । नागराज परिवारले करिब ५ महिना पहिले हेमनाथ र मान्डवीलाई मासिक १५ हजार भारु र आवास सुविधा दिने गरी कामदारका रूपमा राखेका थिए । कान्तिपुरसँग सर्म्पकमा आएका रेड्डी परिवारका सदस्य सुदीप रेड्डीले परिवारका सबै सदस्य तमिलनाडुको तिर्थाटनमा गएका बेला घरमा चोरी भएको बताए । उनले भने,'२२ बैशाखको बिहान साढे एक बजे घर आउँदा ढोका र भित्रको दराज फुटेको थियो । कपडाहरू भुइँमा असरल्ल छरिएका थिए ।’


घटना लगत्तै परिवारले स्थानीय प्रहरीमा तीन केजी २ सय ५४ ग्राम सुनका गरगहना, १५ केजी चाँदीका गरगहना, पाँच लाख मूल्य बराबरका २३ थान घडी, डेढ लाख भारतीय रुपैयाँ बराबरको विदेशी रकम र ५ लाख भारतीय रुपैयाँ चोरी भएको भन्दै निवेदन दिएका छन् ।

सुदीपका अनुसार चोरीमा संग्लन दम्पती बाहेकका अन्य तीन नेपाली पनि कल्याणनगरमै काम गर्थे । कान्तिपुरलाई प्राप्त कागजातहरूका आधारमा चोरीमा संग्लन दम्पत्तीले नक्कली रासन कार्ड समेत बनाएको देखिन्छ । घरमा धनमाल भएको पत्तो पाएपछि उनीहरूले परिवारका सदस्य बाहिर रहेको मौका छोपेर चोरी गरेको देखिन्छ । रेड्डी परिवारले चोरीमा संग्लनलाई पक्राउ गरिदिन भन्दै काठमाडौंस्थित भारतीय दूतावासमा समेत निवेदन दिएका छन् । सोही निवेदनमा आधारमा दूतावासले परराष्ट्र मन्त्रालय अर्न्तगतका कन्सुलर शाखा र प्रहरी प्रधान कार्यालयलाई घटनाबारे जानकारी गराएको देखिन्छ ।


चोरीमा संग्लन दम्पती भागेर नेपालस्थित घर आएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले समेत अनुसन्धान अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंहले पीडित परिवारका सदस्य चोरको खोजीमा बाजुरामै आएको बताए । घटनाबारे छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालय हुँदै पत्र आएको बताउँदै भने, 'चोरीमा संग्लन भनिएका दम्पत्तीको घरमैपुगेर छानबिन गरेका छौँ ।’

उनका अनुसार दम्पत्तीका बाबुले छोरा बुहारी घरमा नआएको र सर्म्पक नभएको बताएका छन् । डिएसपी सिंहले विदेशमा नेपालीहरूको कमाएको इमान्दारीको छवि यस्ता घटनाले गर्दा बिग्रन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, 'हामी निरन्तर अनुसन्धानमा छौँ ।'


प्रकाशित : जेष्ठ ९, २०७६ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?