३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तातोपानी नाका एक सातामा खुल्ने

घनश्याम खड्का

काठमाडौँ — भुईँचालो आएपछि बन्द भएको चीनसँगको प्रमुख व्यापारिक मार्ग तातोपानी नाका अन्ततः अब खुल्ने भएको छ । असुरक्षाका कारण देखाएर भूकम्प लगत्तै उक्त नाकालाई बन्द गरेको चीन सरकार चार वर्षपछि खोल्न तयार भएको हो ।

तातोपानी नाका एक सातामा खुल्ने

नेपालस्थित चिनियाँ दूतावासका अनुसार पूर्ण मर्मत सम्भार पुरा भएकाले नाका खुलाउन लागिएको हो । 'ढिलोमा अर्को साता नाका खुलिसक्छ' चिनियाँ राजदूत होऊ यान्छी भन्छिन्, 'यो नाका नेपाल र चीनलाई जोड्ने महत्त्वपूर्ण सेतु भएकाले सक्दो छिटो सुचारु गर्न लागिएको हो ।'


नेपाल सरकारले धेरै पटक आग्रह गरे पनि भूकम्पका कारण जोखिम कायमै रहेको भन्दै चीनले नाका खोल्न आनाकानी गर्दै आएको थियो । 'भूकम्पले नेपालमा जस्तै हाम्रोतिर पनि गम्भीर क्षति पुर्‍याएकाले यसअघि त्यसलाई चल्तीमा ल्याउने प्रयास सफल हुन सकेको थिएन' राजदूत यान्छीले भनिन्,'अहिले पनि पूर्णरुपमा जोखिम हटिसकेको त छैन, तर अधिकांश क्षतिको पुनर्निमाण भइसकेकाले जसरी पनि नाका सञ्चालन गर्न हामी तयार भएका हौँ ।'


चिनिया दूतावासका अनुसार नाका खुले पनि पहिलेजस्तो मानिस र मालगाडी दुवैको आवतजावत भने हुने छैन ।


राजदूत यान्छीले बिहीबार बिहान बालुवाटारस्थित दूतावासमा पत्रकार सम्मेलन गरी बेल्ट एन्ड रोड इनिसिएटिभ्सको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनाएको सहभागिता र त्यस दौरान दुई देशबीच भएको सम्झौताका बारेमा 'मिडिया ब्रिफ' गर्ने क्रममा तातोपानी नाका खुल्न लागेको जानकारी गराएकी हुन् ।


बीआरआई सम्मेलनमा राष्ट्रपति भण्डारीको अर्थपूर्ण सहभागिता भएको र दुई देशबीच रेल लगायत बहुआयामिक अन्तरदेशीय पारवहन सञ्जालको विकास गर्ने सहमति भएको र त्यस अनुसारै काम अघि बढ्ने विश्वास राजदूत यान्छीले व्यक्त गरेकी छन् ।

प्रकाशित : जेष्ठ ९, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?