१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भारतीय लोकसभा निर्वाचन : भाजपालाई प्रचण्ड बहुमतको संकेत

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणनाको पछिल्लो परिणामले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) भारी बहुमतसहित पुनः सत्तामा फर्कने निश्चित देखिएको छ । अपराह्न ३ बजेसम्मको मतगणनाअनुसार चुनाव भएको ५४२ लोकसभा सिटमध्ये एनडिएले ३४३ सिटमा अग्रता कायम राखेको छ भने विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) ९१ सिटमा मात्र अगाडि छ ।

भारतीय लोकसभा निर्वाचन : भाजपालाई प्रचण्ड बहुमतको संकेत

त्यसैगरी अन्य क्षेत्रीय दलहरुले १०६ सिटमा अग्रता कायम गरेका छन् । लोकसभामा बहुमतका लागि २७२ सिट भए पुग्छ । मतगणनाको ताजा परिणामले नरेन्द्र मोदी अर्को पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।


बिहीबार बिहान ८ बजे सुरु भएको मतगणनाको पछिल्लो अवस्थालाई हेर्ने हो भने भाजपा र ऊ नेतृत्वको गठबन्धनले उत्तरप्रदेश, बिहार, मध्यप्रदेश, राजस्थान, गुजरातलगायतका राज्यमा 'क्लिन स्वीप' गर्ने संकेत दिएको छ । यो अग्रता कायम रहे भाजपाले यसपटक पश्चिम बंगाल र पूर्वोत्तर भारतमा दह्रो उपस्थित देखाउने भएको छ । पाँच वर्षअघि पश्चिम बंगालको ४२ मध्ये २ सिटमात्र जितेको भाजपाले यसपटक भने त्यो आँकडा डेढ दर्जन नघाउने देखिएको छ । पार्टीको जित सुनिश्चित देखिएसँगै प्रधानमन्त्री मोदीले 'भारतले फेरि एक पटक जित्यो' भन्दै टि्वटसमेत गरेका छन् ।


सत्तारुढ दल भाजपा ऐतिहासिक सफलता उन्मुख रहेका बेला विपक्षी कांग्रेस र अन्य कतिपय क्षेत्रीय दलहरुले नमिठो पराजय व्यहोर्ने संकेत देखिएको छ । क्षेत्रीय दलहरुमध्ये पनि लालु यादवको राष्ट्रिय जनता दल, समाजवादी पार्टी, बहुजन समाज पार्टीका लागि यो चुनाव बिर्सनलायक हुने देखिएको छ । हालसम्मको मतगणनामा कंग्रेसका अध्यक्ष राहुल गान्धी स्वयं उत्तरप्रदेशको अमेठी लोकसभा सिटमा पछाडि चलिरहेका छन् । केरलाको वायनाडा सिटमा भने गान्धी अगाडि छन् ।


यसैगरी सलमान खुर्सिद, दिग्विजयसिंह, ज्योतिरआदित्य सिन्धियालगायत चर्चित राजनीतिक अनुहारहरु मतगणनाको प्रारम्भदेखि नै पछि परेका छन् । अन्तिम चरणको मतदान सकिएपछि सार्वजनिक भएका एग्जिट पोलहरुले पनि एनडिएले भारी बहुमत ल्याउने प्रक्षेपण गरेका थिए । यद्यपि विगतमा यस किसिमका एग्जिट पोलहरुको गलत साबित हुँदा विपक्षी दलहरुले ती प्रक्षेपणहरुलाई ठाडै नकारेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?