१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्रीले भने, 'सक्नुहुन्छ भने निजी क्षेत्रले सामुदायिक विद्यालयहरु पनि चलाउनुहोस्'

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले शिक्षा क्षेत्रको निजी लगानीलाई सरकारले प्रत्सोहान गर्ने बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा छैठौं कान्तिपुर हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै उनले सरकार र निजी क्षेत्रको लगानीले मात्रै शैक्षिक क्षेत्रमा चाँडो सुधार आउने जनाए । 'शिक्षामा राज्यको लगानी बढाउनु पर्छ । यसो भन्दै गर्दा निजी क्षेत्रलाई लगानी गर्न दिनु हुन्न भन्ने छैन,' उनले भने, 'सार्वजनिक शिक्षाको सुधार भएपछि निजी क्षेत्र आफैं पाखा लाग्छन् ।'

प्रधानमन्त्रीले भने, 'सक्नुहुन्छ भने निजी क्षेत्रले सामुदायिक विद्यालयहरु पनि चलाउनुहोस्'

शिक्षा, स्वास्थ्य र विकासको अगुवाइ निजी क्षेत्रले गर्नु पर्ने भन्दै उनले प्रशंसासमेत गरे । 'शिक्षाका विकासका लागि सार्वजनिक र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्छ,' उनले भने, 'यो कसैलाई अलमलाउन भनेको कुरा होइन, सरकारले यहीअनुसार नीति बनाउँदैछ ।'


शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी बढाएर स्वदेशमै अन्तर्राष्ट्रियस्तरको पढाइ हुने वातावरण बनाउन आवश्यक रहेको उनले औंल्याए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई भने, 'गुणस्तरीय शिक्षाका लागि ढुक्क भएर लगानी गर्नुस् । यस्तो लगानी सरकारबाट संरक्षित हुन्छ, प्रोत्साहन गर्छौ ।'


निजी क्षेत्रको लगानी बढे शिक्षामा राज्यलाई धेरै भार नपर्ने उनको तर्क थियो । 'अहिले राज्यले सबैभन्दा बढी लगानी शिक्षामा गरेको छ । जहाँ निजी क्षेत्रले लगानी गर्छ, त्यहाँ राज्यलाई खुकुलो र सजिलो हुन्छ,' उनले थपे, 'संघीय सरकारले छुट्टाएको बजेटलाई मात्र हिसाब गरिन्छ, लगानी पुगेन भनिन्छ । प्रदेश, स्थानीय सरकार, निजी क्षेत्र र अभिभावकले गरेको लगानी जोड्दा सबैभन्दा बढी खर्च शिक्षामा भएको छ ।' सक्ने अभिभावकबाट पैसा लिने र नसक्नेलाई निःशुल्क पढ्ने वातावरण बनाउनु पर्ने प्रधानमन्त्रीको भनाइ थियो । 'सक्नुहुन्छ भने निजी क्षेत्रले सामुदायिक विद्यालयहरु पनि लिएर चलाउनुहोस्,' उनले भने, 'तपाईहरुलाई नियन्त्रण गर्ने नीति कहिल्यै लिँदैनौं, बन्द गर्न आउँदैनौं, तर एकदिन आफैं बन्द गर्नुपर्ने वातावरण बनाउँछौं ।' सरकारले सार्वजनिक शिक्षालाई स्तर वृद्धि गरेर निजी क्षेत्रका शैक्षिक संस्थालाई अप्ठ्यारोमा पार्ने उनले ठोकुवा गरे । 'अहिले मिलेर काम गरौं, कोही विद्यार्थी पढ्नका लागि बाहिर जान नपर्ने वातावरण बनौं,' उनले भने, 'तर सरकारको लक्ष्य अन्ततः निजीलाई संकटमा पार्ने नै हो, नियन्त्रणमा लिएर होइन, सरकारी शिक्षण संस्थालाई सुधार गरेर निजी बन्द गर्नुपर्ने अवस्थामा पुर्‍याउँछौं ।'


नेपाली विद्यार्थीले चाहेको विषयमा स्वदेशमै पढ्न पाउने प्रबन्ध मिलाउन उनले निजी क्षेत्रका शैक्षिक संस्था सञ्चालकहरुलाई आग्रह गरे । 'म विद्यार्थीलाई बाहिर पढ्न पठाउने मेलाको विपक्षमा छु,' उनले भने, 'यहाँ शिक्षा दिने शैक्षिक माफिया हुने बाहिर पठाउने वडो पवित्र हुन सक्दैन, नेपाललाई नै शिक्षा, स्वास्थ्यको हव बनाउन सक्ने सम्भावना छ, सबै मिलेर बनाऔं ।' आफ्नै देशलाई माया गर्ने शिक्षा दिन आवश्यक रहेको उनले औंल्याए । सोहिअनुसार शिक्षा, नीति, नियम र पाठ्यक्रममा परिवर्तन गरिने उनले जानए । 'आफ्नो भूमी र आवश्यकताको शिक्षा चाहिन्छ,' प्रधानमन्त्री ओलीले भने, 'दुनियाँमा प्रतिस्पर्धा गर्न सक्ने प्रतिस्पधी र उत्कृष्ट विद्यार्थी तयार गर्नुपर्छ ।' गुणस्तरीय शिक्षा गुणवान नागरिक तयार पार्न सरकारले जोड दिने उनले प्रस्ट्याए ।


उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले शिक्षामा निजी क्षेत्रको लगानीलाई सम्मान गर्दै जाने बताए । सबै विद्यार्थीले देशभित्रै शिक्षा प्राप्त गर्ने वातारण बनाउन सरकार लागि रहेको उनले जनाए । शिक्षाले देशको वातावरण गर्ने हुँदा सोही अनुसारको शिक्षा नीति, प्राविधिक, विद्यालय र उच्च शिक्षा ऐनको तयारी भइरहेको उनले जानकारी दिए । 'शिक्षालाई व्यापारको दृष्टिकोणले नहेरी सेवा भावले काम गरे छिट्टै फड्को मार्छ,' मन्त्री पोखरेलले भने ।


प्रकाशित : जेष्ठ ९, २०७६ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?