१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पत्ता लाग्दैनन् गम्भीर अपराधका दोषी

प्रकाश बराल

बागलुङ — काठेखोला–६ की रूपा गौतमको हत्या भएको पाँच वर्ष भइसक्यो । तर, प्रहरीले हत्यामा संलग्न भएकाको अझै पहिचानसम्म गर्न सकेको छैन । अझ अधिकारकर्मी, स्थानीय र मृतकका आफन्तले पटक–पटक प्रहरीमा धाए पनि सुनुवाइ भएको छैन । घटनापछि भने जिल्लामा ६ जना प्रमुख फेरिइसकेका छन् । सबैले ‘घटनाको नजिक पुगेको’ मात्र भन्ने गरेका छन् । मृतकका दुई सन्तान र श्रीमान् छन् । 

त्यस्तै, गत साउनमा ढोरपाटन–१ का २० वर्षीय संगीन जीसीको काठमाडौंस्थित स्वयम्भूमा हत्या भएको थियो । शरीर काटिएको अवस्थामा भेटिएका जीसीको हत्यामा संलग्नको खोजी गर्नुको साटो लडेर मृत्यु भएको भन्दै प्रहरी उम्कन खोजेको परिवारको गुनासो छ । हरेक वर्ष भएका कतिपय हत्याका घटनामा प्रहरीले अनुसन्धानको क्रममा रहेको भन्दै पत्ता लगाउन नसकेको पीडित बताउँछन् । तत्काल पक्राउ वा किटानी जाहेरी परेका घटनामा मात्र प्रहरीले पक्रेर अनुसन्धान गरेको र रहस्यमय घटनामा अनुसन्धान नगरेको अधिकारकर्मीहरू बताउँछन् ।


प्रहरी प्रमुख आएका बेला, मानव अधिकारसँग सम्बन्धित अभियानी र मन्त्री तहको उपस्थितिमा यी दुई घटनाबारे उठान गरिए पनि हत्यामा संलग्न भएकाको सम्बन्धमा प्रहरीले केही नबोलेको इन्सेक प्रतिनिधि सिर्जना पन्तले बताइन् । प्रहरीले भने अनुसन्धान भइरहेको दाबी गर्दै आएको छ । ‘अनुसन्धान नजिक पुगेको छ, हत्यामा संलग्न व्यक्ति विदेशमा भएकाले सार्वजनिक गर्न सकिएन,’ प्रहरी उपरीक्षक दीपक रेग्मीले भने, ‘प्रहरीलाई आन्तरिक रूपमा सर्कुलर गरेर विदेशसम्म पनि जानकारी पुगेको छ ।’ जिल्ला प्रहरी बागलुङको प्रमुख भएर डेढ वर्ष बसेका रेग्मी हाल अपराध अनुसन्धान महाशाखामा छन् ।


बागलुङमै २५ वर्षअघि भएको प्रहरी अधिकृत हत्याकाण्ड पनि अहिलेसम्म रहस्यमै छ । जैमिनीमा लागेको माघेसंक्रान्ति मेलामा प्रहरी निरीक्षकको हत्या भएको थियो । उक्त घटनामा प्रहरी र प्रशासनले स्थानीयलाई जबर्जस्ती कुट्ने, मुद्दा लगाउने गरेको जानकार बताउँछन् । तर, वास्तविक हत्यारा पत्ता लगाउन सकेको थिएन । उक्त घटनापछि जैमिनीस्थित कालीगण्डकी किनारमा लाग्ने माघेसंक्रान्ति मेला हुनै छाडेको छ ।


हाल स्थानीयले कुश्मीसेरा बजारमा मेला भर्न जान्छन् । कतिपय घटनामा प्रहरीले कुनै स्वार्थ समूह र कसैको प्रयोग भएर अनुसन्धान कमजोर बनाउने गरेको अधिकारकर्मी शकुन्तला शर्माले बताइन् । ‘जघन्य प्रकारको अपराध प्रमाणित हुँदा ठूलो सजाय हुने भएकाले अपराधीले धेरै प्रमाण नष्ट गरेकाले पत्ता लगाउन नसकिएको समेत पाइन्छ,’ उनले भनिन्, ‘राजनीतिक नेतृत्वबाट पनि उनीहरू संरक्षित हुँदा अनुसन्धान फितलो हुने गर्छ ।’ हरेक बहानामा संरक्षण खोज्ने प्रवृत्तिले प्रहरीको अनुसन्धान कमजोर भएको उनले टिप्पणी गरिन् ।


बागलुङमा भएका घटनाको सन्दर्भमा भने अनुसन्धान र अध्ययन भइरहेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए । ‘यसअघि के कस्तो काम भएको छ, त्यसबारे मैले भन्न सकिनँ,’ उनले भने, ‘पुराना फाइल अध्ययन गरेपछि अनुसन्धान कता पुगेको छ बताउन सकिएला ।’ तत्कालै अभियुक्त पक्राउ परेका र किटानी जाहेरीमा परेका बाहेकका घटनामा हत्या, बलात्कार, बेपत्तामा दोषी पत्ता नलागेको टिप्पणी भने नियमित हुने गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?