कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पाँचथर हत्याकाण्ड : 'एक जना मात्र’ संलग्न

‘घटनास्थलमा भेटिएका प्रमाण र बालिकाले दिएको बयानका आधारमा एक जनाबाहेक अरुको संलग्नता रहेको शंका गर्ने अवस्था छैन ।’

विराटनगर — पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा चार दिनअघि ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानबाट एक जना मात्र संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलको अध्ययन, स्थानीय बासिन्दासँग सोधपुछ, प्राप्त प्रमाण संकलन गरेको छ । 

पाँचथर हत्याकाण्ड : 'एक जना मात्र’ संलग्न

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार घटनास्थलमा भेटिएका वस्तु संकलन गरी प्रयोगशाला परीक्षणका लागि काठमाडौं मगाइएको छ । ‘घटना बीभत्स र ठूलो भए पनि हत्यामा संलग्न पहिचान भइसकेको छ,’ पोखरेलले बिहीबार साँझ फोनमा भने, ‘घटनास्थलमा भेटिएका प्रमाण र बालिकाले दिएको बयानका आधारमा एक जनाबाहेक अरूको संलग्नता रहेको शंका गर्ने अवस्था छैन ।’

सोमबार राति बमबहादुर फियाकसहित उनको परिवारका चार जनाको हत्या भएको थियो । बमबहादुरका ज्वाइँ धनराज सेर्मासहित परिवारमा पाँचजनाको हत्या भएको थियो । सबैलाई धारिलो हतियारले टाउको र शरीरमा क्षतविक्षत हुने गरी काटिएको थियो ।

हालसम्मको अनुसन्धानमा देखिएअनुसार घटनाको एक मात्र प्रत्यक्षदर्शी १२ वर्षीया सीता खजुम हुन् ।

उनी घटनाका बेला भाग्दै छिमेकी घरमा शरण लिएर बाँच्न सफल भएकी थिइन् । भाग्ने क्रममा लडेर घाइते भएकी उनको झापा, दमकस्थित अस्पतालमा प्रहरीको सुरक्षामा उपचार गरिएको छ । उनले प्रहरीमा दिएको बयानअनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएको एक जना व्यक्तिले धारिलो हतियारले पालैपालो परिवारका सबैलाई प्रहार गरेका थिए ।

हत्यामा संलग्न आशंका गरिएका व्यक्ति बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम हुन् । उनी घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमा पर्ने मिक्लाजुङ–७ लिम्बा गाउँमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

केही स्थानीय बासिन्दाले मानबहादुर ‘डिप्रेसन’ बाट ग्रसित रहेको बताएका छन् । उनले औषधि सेवन गर्ने गरेको भनिए पनि कुन औषधि भन्ने खुलेको छैन । मिक्लाजुङका एक जनप्रतिनिधिका अनुसार उनी केही समययता अनौठो व्यवहार गर्ने, निराशजस्तो देखिने गरेका थिए ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले धरानबाट आएको एसएपीसहितको टोलीले प्रारम्भिक अनुसन्धान गरेर फर्केको बताए । ‘मसहितको टोली एक रात घटना भएको गाउँमा बसेर फर्केका हौं,’ वस्तीले भने, ‘अहिलेसम्मको अनुसन्धानमा बाहिर चर्चामा आएका व्यक्ति (मानबहादुर) नै संलग्न भएको अनुमान छ ।’ घटनास्थलमा भेटिएका कतिपय वस्तुको ल्याब परीक्षण गर्नुपर्ने उल्लेख गर्दै वस्तीले तीन दिनभित्र सबै रिपोर्ट बाहिर आउने जानकारी दिए ।

पाँचथरको प्रदेशसभा ‘ख’ का सांसद एवं प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्क्री इन्द्रबहादुर आङ्बोले अनुसन्धानमा सबै शत्ति लगाइएको बताए । उनले स्थानीय जनता, जनप्रतिनिधि सबैसँग समन्वय गरी अनुसन्धान अघि बढिरहेको जनाए ।

के गर्दै छ सीआईबी ?

काठमाडौं– एसपी उमा चतुर्वेदी नेतृत्वको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले घटनास्थलमा प्राविधिक सबुत संकलन गरिरहेको छ । स्रोतका अनुसार ब्युरो टोलीले शंकास्पद भनिएका मानबहादुर माखिमको मानसिक अवस्थाको इतिहास, घटनाअघिका दिनहरूमा उनका गतिविधि र उनको संगत केलाउने प्रयास गरिरहेको छ । ब्युरोले उनले प्रयोग गर्ने मोबाइलको कल डिटेल निकालेर अनुसन्धान थालिसकेको छ भने घटनास्थलमा भेटिएको धारिलो हतियार र त्यसको फिंगर प्रिन्ट निकाल्ने प्रक्रिया सुरु भएको छ ।

एसपी चतुर्वेदीले प्राविधिक पक्षबाट घटनाको पुष्टि गरेपछि मात्रै थप तथ्य बाहिर ल्याउन सकिने बताए । ब्युरोले पनि घटनामा मानबहादुरको संलग्नता हुन सक्ने बलिया आधारहरू फेला पारेको छ । ब्युरोले मानबहादुरको विगत, उनको पछिल्लो मानसिक अवस्था र पत्नीसँगको उतारचढावपूर्ण सम्बन्धलाई केन्द्रमा राखेर अध्ययन गरिरहेको छ । हत्याका घटनामा मानबहादुरलाई अरू कसैले उकास्ने भूमिका खेलेको थियो कि भन्नेमा पनि अनुसन्धान गरिरहेको छ ।

ब्युरोका एक अधिकारीका अनुसार मानबहादुरले केही महिनायता मानसिक रोगसम्बन्धी औषधि सेवन गरिरहेको बताए । उनले प्रत्येक दुई–दुई महिनामा विराटनगरबाट औषधि ल्याएर खाने गर्थे ।

मलेसियामा तीन वर्ष रोजगारी गरेर फर्केपछि मानबहादुरले २०६८ मा विवाह गरेका थिए । विवाहपछि दुई वर्ष मानबहादुर घरमै बसेका थिए । ब्युरोका एक अधिकारीका अनुसार मानबहादुरकी श्रीमती मनकुमारीले जुम्ल्याहा छोरी जन्माएकी थिइन् तर एकको अस्पतालमै र अर्कोको केही दिनपछि घरमा मृत्यु भएको थियो । त्यसपछि मानबहादुर कतार गएर दुई वर्ष बसेका थिए । कतार बसाइका बेला श्रीमती मनकुमारीसँग सम्बन्ध बिग्रेको थियो ।

प्रहरी बयानका क्रममा केही छिमेकीले मानबहादुरले शंका गर्ने त्रम बढेपछि उनीहरूको सम्बन्ध चिसिएको बताएका छन् । ‘उनीहरूबीच अविश्वास र आरोपप्रत्यारोप बढेको देखिन्छ,’ अनुसन्धानमा संलग्न ब्युरोका एक अधिकारीले भने, ‘पछिल्लो समय मनकुमारीले जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी थिइन् ।’

कतारबाट फर्केपछि माइत गएकी श्रीमती फर्काउन नसकेपछि र अदालतमा मुद्दा नै दर्ता भएपछि मानबहादुर विक्षिप्त बनेका थिए ।

केही साथीसँग मानबहादुरले सम्बन्धविच्छेदपछि सम्पत्ति पनि जाने बताएको अनुसन्धानमा पाइएको छ । ‘सोझो र एकोहोरो मान्छे भएकाले प्रतिशोध साध्न घटना गराएको हुन सक्छ,’ ब्युरोका एक अधिकारीले भने ।

छोरीलाई घर जिम्मा

पाँचथर– सोमबार राति हत्या गरिएका ९ जनाकै बिहीबार अन्त्येष्टि गरिएको छ । आरुबोटको चिहानडाँडामा बमबहादुर, बिर्छाहाङमा, मनकुमारी फियाक र आशिका खजुमलाई एउटै चितामा राखेर अन्त्येष्टि गरिएको थियो । धनराज, जस्मिता, युहाना, मुना र इक्सा सेर्माको मिक्लाजुङ–२, सराङडाँडामा अन्त्येष्टि गरिएको हो ।

मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमका अनुसार बमबहादुरको घर उनका जेठी छोरी दिलमाया र साइली छोरी बुद्धिमायालाई प्रहरीले जिम्मा दिएको छ । घटनापछि प्रहरीले घर घेराबारा गरेको थियो । धनराजको घर भने आफन्त सराङडाँडामा रहेकाले प्रशासनकै सुरक्षामा रहने भएको छ । वैशाख ३० गते धनराजको घरमा नुनको बट्टामा सिसाका कण भेटिएको विषय अनुसन्धानमा गम्भीरता नअपनाइएको स्थानीयले बताए । ‘नुन काण्डमा गम्भीर अनुसन्धान भइदिएको भए सोमबारको घटना हुने थिएन कि,’ स्थानीय भानु फियाकले भने ।

धनराजकी श्रीमती जस्मिता ढाका बुनाइसम्बन्धी तालिम दिइरहेकी थिइन् । उनले तालिमका सहभागीलाई खाजा खुवाउने क्रममा नुनमा सिसा मिसिएको पाइएको थियो । नुनमा सिसा मिसाएको आशंकामा धनराजले कान्छा साडुभाइ मानबहादुर माखिमविरुद्ध वडा कार्यालयमा उजुरीसमेत गरेको स्थानीयको भनाइ छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?