२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सगरमाथामा पुगे ४५० आरोही 

सुरज कुँवर

काठमाडौँ — सगरमाथा आरोहण खुला भएको १० औं दिन बिहीबारसम्म साढे ४ सय आरोही चुचुरामा पुग्न सफल भएका छन् । यसमा विदेशीको संख्या अत्यधिक छ ।

सगरमाथामा पुगे ४५० आरोही 

आरोहण नियमन गर्ने पर्यटन विभागले बिहीबारसम्म एकिन तथ्यांक आइनसके पनि कम्तीमा साढे ४ सय आरोही चुचुरामा पुगेको जनाएको हो । ‘कम्तीमा ४५० आरोही यस सिजनमा विश्वको सर्वोच्च शिखर पुग्न सफल भएका छन्,’ विभागका निर्देशक मीरा आचार्यले भनिन् ।


सगरमाथा आधार शिविरमा रहेका विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार बिहीबार कम्तीमा १ सय २० जना चुचुरामा पुगेका छन् । अघिल्लो दिन (बुधबार) २ सय हाराहारीले आरोहण गरेका थिए ।


श्रेष्ठका अनुसार शुक्रबारपछि मौसम प्रतिकूलका कारण आरोहण रोकिनेछ । त्यसपछि सोमबार मात्रै एक दिन मौसम सुधार हुने पूर्वानुमान रहेकाले त्यस दिन केही आरोही चुचुरामा जाने कार्यक्रम छ । यसैबीच सगरमाथामा ज्यान गुमाएका दुई शेर्पा आरोहीका पत्नीको ‘एकल महिला आरोहण दल’ बिहीबार सगरमाथा चुचुरामा पुग्न सफल भएको छ । ‘हामी पनि गर्न सक्छौं’ अभियानका सदस्य ३६ वर्षीया ङिमाडोमा शेर्पा र ४२ वर्षीया फुरदिकी शेर्पा चुचुरामा पुगेका हुन् ।


फुरदिकीका पति मिङमार शेर्पा ६ वर्षअघि बाटो बनाउने क्रममा र ङिमाका पति छिरिङवाङछुको ५ वर्षअघि हिमपहिरोमा परेर निधन भएको थियो । त्यस्तै, लेवनानकी ३४ वर्षीया जोयस एजमले बिहीबार सगरमाथा आरोहण गरेकी छन् ।


सगरमाथा आरोहणसँगै सातवटै महाद्वीपका ७ वटा अग्ला हिमचुचुरा आरोहण गर्ने उनी पहिलो लेवनानी महिला झएकी छन् । यसैबीच, यस सिजनको हिमाल आरोहण क्रममा सगरमाथा, ल्होत्से, मकालु र कञ्चनजंघा आरोहण त्रममा मृत्यु भएकाको संख्या ९ र बेपत्ता भएकाको संख्या तीन पुगेको छ । ८ दिनअघि हराएका यी तीनै आरोहीको बाँच्ने सम्भावना न्यून रहेको एक्सपिडिसन एजेन्सीहरूको दाबी छ ।


पर्यटन विभागका अनुसार आरोहण सकेर फर्कंदै गर्दा भारतीय आरोही कल्पना दासको ८ हजार ६ सय मिटर आसपासमा पर्ने बाल्कोनीमा बिहीबार मृत्यु भएको छ । कल्पना काठमाडौंमा रहेको ड्रिम्स डेस्टिनेसन व्यवस्थापनमा सगरमाथा आरोहणमा गएकी थिइन् ।


त्यसैगरी, सगरमाथा आरोहणकै क्रममा ५४ वर्षीया भारतीय महिला अञ्जली शरद कुलकर्नीको पनि मृत्यु भएको छ । भारत मुम्बई निवासी कुलकर्नी उनका पति शरदसँगै आरोहणमा थिइन् । यसपटक सगरमाथा आरोहण क्रममा चार, विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघामा दुई, मकालु आरोहणमा दुई, विश्वकै चौथो अग्लो हिमाल ल्होत्सेमा एक गरी नौ विदेशी आरोहीको मृत्यु भइसकेको छ ।


त्यस्तै, आरोहणकै क्रममा सगरमाथामा एक, मकालुमा एक र कञ्चनजंघामा एक गरी तीन आरोही हराइरहेका छन् । आरोण सुरु भएको १० दिनमै भएको मानवीय क्षतिलाई विभागले यसपटक विगतका वर्षको दाँजोमा अत्यधिक भनेको छ ।


चार विदेशीका शव काठमाडौंमा

‘पहिलोपटक’ थालिएको सगरमाथा सफाइ अभियानले चारवटा विदेशी आरोहीका शव बिहीबार हेलिकप्टरबाट राजधानी ल्याएको छ । मनाङ एयरको हेलिकप्टरले ती शव सगरमाथा आधार शिविरबाट लुक्ला ल्याएको थियो । त्यहाँबाट शव काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याएको थियो ।


मे २९ मा पर्ने १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई छेको पारेर खुम्बु पासाङल्हामु गाउँपालिका, पर्यटन

विभाग, नेपाली सेनालगायत आठ वटा निकायले यसपटक ५ हजार ३ सय ८० मिटरमा रहेको सगरमाथा आधार

शिविरदेखि ७ हजार ९ सय मिटर उचाइमा रहेको साउथकोलसम्म सफाइ गरेको थियो । त्यस क्रममा १२ हजार किलो फोहोर र ४ वटा शव संकलन गरेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अधिकृत निशान श्रेष्ठले बताए । यी शवमध्ये एउटा रसियन नागरिकको भएको र अन्य तीन शव पहिचान हुन सकेका छैनन् ।


पोस्टमार्टमपछि मात्रै यी शवको पहिचान गरेर आफन्तलाई हस्तान्तरण गरिनेछ । यसपटकको सफाइ अभियानका लागि मात्रै २ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अभियान वैशाख १ गतेदेखि लुक्लाबाट सुरु भएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?