शैक्षिक मेलामा पहिलो दिनै ३५ हजार सहभागी

प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने– ‘शिक्षामा ढुक्क भएर लगानी गर्नुस् ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । राजधानीको भृकुटीमण्डपमा बिहीबार छैटौं कान्तिपुर–हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै उनले सरकार र निजी क्षेत्रको लगानीले मात्रै शिक्षा क्षेत्रमा चाँडो सुधार आउने बताए ।

छैटौं कान्तिपुर–हिसान शैक्षिक मेला उद्घाटनपछि अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत (माथि बायाँ) । आयोजकका तर्फबाट कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र हिसानका महासचिव लोकबहादुर भण्डारी प्रधानमन्त्री ओलीलाई मायाको चिनो प्रदान गर्दै (माथि दायाँ) । र, मेलामा परामर्श लिँदै विद्यार्थी ।तस्बिर : इलिट जोशी/कान्तिपुर 

‘शिक्षामा राज्यको लगानी बढाउनुपर्छ, यसो भन्दै गर्दा निजी क्षेत्रलाई लगानी गर्न दिनु हुन्न भन्ने छैन,’ उनले भने, ‘सार्वजनिक शिक्षा क्षेत्रको सुधार भएपछि निजी आफैं पाखा लाग्नेछन् ।’

शिक्षा, स्वास्थ्य र विकासको अगुवाइ निजी क्षेत्रले गर्नुपर्ने भन्दै उनले प्रशंसासमेत गरे । ‘शिक्षाका विकासका लागि सार्वजनिक र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कसैलाई अलमलाउन भनेको कुरा होइन, सरकारले यहीअनुसार नीति बनाउँदै छ ।’ शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी बढाएर स्वदेशमै अन्तर्राष्ट्रियस्तरको पढाइ हुने वातावरण बनाउन आवश्यक रहेको उनले औंल्याए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई भने, ‘गुणस्तरीय शिक्षाका लागि ढुक्क भएर लगानी गर्नुस् । यस्तो लगानी सरकारबाट संरक्षित हुन्छ, प्रोत्साहन गर्छौं ।’

निजी क्षेत्रको लगानी बढे शिक्षा राज्यलाई धेरै भार नपर्ने प्रधानमन्त्रीको तर्क थियो । ‘अहिले राज्यले सबभन्दा बढी लगानी शिक्षामा गरेको छ, जहाँ निजी क्षेत्रले लगानी गर्छ, त्यहाँ राज्यलाई खुकुलो र सजिलो हुन्छ,’ उनले थपे, ‘संघीय सरकारलेछुट्याएको बजेटलाई मात्र हिसाब गरिन्छ, लगानी पुगेन भनिन्छ । प्रदेश, स्थानीय सरकार, निजी क्षेत्र र अभिभावकले गरेको लगानी जोड्दा सबभन्दा बढी खर्च शिक्षामा भएको छ ।’ सक्ने अभिभावकबाट पैसा लिने र नसक्नेलाई निःशुल्क पढ्ने वातावरण बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

राज्यको लगानी मात्रै शिक्षा सुधारका लागि पर्याप्त नहुने उनको जिकिर थियो । ‘सक्नुहुन्छ भने निजी क्षेत्रले सामुदायिक विद्यालयहरू पनि लिएर चलाउनुहोस्,’ उनले भने, ‘तपाईंहरूलाई नियन्त्रण गर्ने नीति कहिल्यै लिँदैनौं, बन्द गर्न आउँदैनौं, तर एक दिन आफैं बन्द गर्नुपर्ने वातावरण बनाउँछौं ।’ सरकारले सार्वजनिक शिक्षालाई स्तरवृद्धि गरेर निजी क्षेत्रका शैक्षिक संस्थालाई अप्ठ्यारोमा पार्ने उनले ठोकुवा गरे ।

‘अहिले मिलेर काम गरौं, कोही विद्यार्थी पढ्नका लागि बाहिर जान नपर्ने वातावरण बनाऔं,’ प्रधानमन्त्री ओलीले भने, ‘विद्यार्थीले स्वदेशमै पढ्दा तराई, पहाड, हिमाल बुझ्छ । उसले चिम्सा आँखा, चुच्चो नाक, कालो वर्ण, गोरो वर्णका साथी भेट्छ । देश बुझ्छ । त्यसैले यही अवसर उपलब्ध गराउनुपर्छ ।’

नेपाली विद्यार्थीले चाहेको विषयमा स्वदेशमै पढ्न पाउने प्रबन्ध मिलाउन उनले निजी क्षेत्रका शैक्षिक संस्था सञ्चालकहरूलाई आग्रह गरे । ‘म विद्यार्थीलाई बाहिर पढ्न पठाउने मेलाको विपक्षमा छु,’ उनले भने, ‘यहाँ शिक्षा दिने शैक्षिक माफिया हुने र बाहिर पठाउने बडो पवित्र हुन सक्दैन, नेपाललाई नै शिक्षा र स्वास्थ्यको आकर्षणको केन्द्र बनाउन सक्ने सम्भावना छ, सबै मिलेर बनाऔं ।’

आफ्नै देशलाई माया गर्ने शिक्षा दिन आवश्यक रहेको उनले औंल्याए । सोहीअनुसार शिक्षा, नीति, नियम र पाठ्यक्रममा परिवर्तन गरिने उनले जनाए । ‘आफ्नो भूमि र आवश्यकताको शिक्षा चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँमा प्रतिस्पर्धा गर्न सक्ने प्रतिस्पर्धी र उत्कृष्ट विद्यार्थी तयार गर्नुपर्छ ।’ गुणस्तरीय शिक्षा गुणवान नागरिक तयार पार्न सरकारले जोड दिने उनले प्रस्ट्याए ।

‘सरकारले सिंगो देशलाई समृद्ध र सबै जनतालाई खुसी बनाउन खोजेको हो,’ प्रधानमन्त्री ओलीले शिक्षा प्रतिस्पर्धी, रोजगारमूलक र राष्ट्रिय भावना जगाउन सक्ने हुनुपर्ने उल्लेख गर्दै भने, ‘हामीले कुनै विषयका पीएचडी उत्पादन गरेर मात्र हुँदैन । उनीहरूलाई देशभक्त र निष्ठावान नागरिक हुने शिक्षा पनि दिनुपर्दछ ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी, अभिभावकको विश्वास आर्जन गर्न यसरी स्वदेशमै गुणस्तरीय शिक्षा भन्ने नारा समय सान्दर्भिक रहेको बताए ।

‘गुणात्मक शिक्षाका लागि कुनै समय विदेश जानुपर्थ्यो अब त्यो बाध्यता हटेको छ,’ शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै उनले भने, ‘पुराना बेन्चमार्कले अब धान्ने छैन । नयाँ चुनौती थपिएका छन् । कक्षा ११ र १२ विद्यालय तह भइसकेकाले हिसानले अब विश्वविद्यालय शिक्षासँग जोडिनुपर्छ । व्यापारभन्दा सेवाको भावनाले अघि बढ्न जरुरी छ ।’

उनले विद्यालय शिक्षा औपचारिक, प्राविधिक, गुणात्मक, युगीन, वैज्ञानिक र आर्थिकले धान्न सक्ने हुनुपर्ने बताए । हिसानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक युवराज शर्माले माध्यमिक विद्यालयदेखि विश्वविद्यालयस्तरको शिक्षा हासिल गर्ने विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गरिएको उल्लेख गरे ।

‘विद्यार्थी तथा अभिभावकहरूलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा विविध परामर्श दिने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको हो,’ गुणस्तरीय शिक्षाको अभियान जारी रहेको उल्लेख गर्दै उनले भने, ‘नेपालमै सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउँछौं । यसरी मेलाको आयोजना गरेपछि शैक्षिक संस्थाका हामी सञ्चालकबीच स्वस्थ प्रतिस्पर्धाको विकास भएको छ ।’

मेला उद्घाटन सत्रको सभाध्यक्षसमेत रहेका शर्माले संघीय शिक्षा ऐन र स्थानीय शिक्षा ऐन निर्माणमा निजी क्षेत्रको विषयमा सरकारले गम्भीरता अपनाउनुपर्नेमा जोड दिए । ‘सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन गर्न नीतिगत आधार सहज बनाउन जरुरी छ,’ उनले भने, ‘हिसानले अब अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको आयोजना गर्नेछ । यसले सबै शैक्षिक निकायलाई एक ठाउँमा ल्याउनेछ ।’

मेला उद्घाटन सत्रमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइराला, हिसानका पूर्वअध्यक्ष तथा सांसद उमेश श्रेष्ठ, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन) का राष्ट्रिय अध्यक्ष टीकाराम पुरीलगायतको उपस्थिति थियो ।

परामर्श लिनेको भीड
भर्खरै कक्षा १२ को परीक्षा दिएर फुर्सदमा रहेका अञ्जन श्रेष्ठ शैक्षिक मेलामा उत्साहित मुडमा भेटिए । ‘साँच्चै जान्न चाहेको जानकारी पाएँ,’ साथीसँग शैक्षिक मेलामा भेटिएका उनले भने, ‘तर, पहिलो दिन सबै स्टल घुम्नै भ्याइनँ । चाहेको विषयबारे अझै धेरै बुझ्ने इच्छा छ । अब अभिभावकसँग फेरि आउने सोचेको छु ।’ म्यानेजमेन्ट पढेका उनले अब ब्याचलर्समा बीबीएस, बीबीए, बीआईटीमध्ये कुनै एक छान्ने सुनाए ।

यसैगरी, एसईई परीक्षा दिएर बसेकी अल्का शर्मा विज्ञान विषय लिएर कक्षा ११ पढ्ने तयारीमा रहेको सुनाइन् । ‘साइन्स पढ्ने निर्णय गरेकी छु,’ साथीको हूलमाझ शैक्षिक मेलामा भेटिएकी उनले भनिन्, ‘तर कस्तो कलेज, कुन कलेज, कहाँ पढ्ने भन्नेचाहिँ टुंगो लागेको छैन । त्यसैले एडुफेयरमा बुझ्न जान्न आएँ ।’ उनी हातभरि कलेजका शैक्षिक कार्यक्रमबारे ब्रोसरका झोला सम्हाल्दै थिइन् ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलाको दृश्य हो । शैक्षिक मेलामा परामर्श लिने विद्यार्थी र अभिभावकको भीड लागेको छ । बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीबाट औपचारिक उद्घाटन हुने मेलामा बिहानैदेखि परामर्श स्टलहरू खुला गरिएको थियो ।

हिसानका महासचिव लोकबहादुर भण्डारीले दिनुभएको जानकारीअनुसार पहिलो दिन साँझसम्ममा ३५ हजार जनाभन्दा बढीले शैक्षिक मेलाको अवलोकन गरेका छन् । प्रवेश निःशुल्क रहेको मेलामा विद्यार्थी र अभिभावकले कुन विषय किन पढ्ने, विषय छनोटजस्ता विषयमा जानकारी लिएका थिए । परामर्श लिन आउनेमा एसईई तथा कक्षा ११ र १२ परीक्षा दिएर बसेका विद्यार्थी रहेका छन् ।

शैक्षिक मेलामा १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता रहेको छ । मेलामा विभिन्न कलेजले निःशुल्क छात्रवृत्तिसमेत उपलब्ध गराउने स्किम अघि बढाएका छन् । शैक्षिक मेला चार दिनसम्म जारी रहनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सगरमाथामा पुगे ४५० आरोही 

सुरज कुँवर

काठमाडौँ — सगरमाथा आरोहण खुला भएको १० औं दिन बिहीबारसम्म साढे ४ सय आरोही चुचुरामा पुग्न सफल भएका छन् । यसमा विदेशीको संख्या अत्यधिक छ ।

आरोहण नियमन गर्ने पर्यटन विभागले बिहीबारसम्म एकिन तथ्यांक आइनसके पनि कम्तीमा साढे ४ सय आरोही चुचुरामा पुगेको जनाएको हो । ‘कम्तीमा ४५० आरोही यस सिजनमा विश्वको सर्वोच्च शिखर पुग्न सफल भएका छन्,’ विभागका निर्देशक मीरा आचार्यले भनिन् ।

सगरमाथा आधार शिविरमा रहेका विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार बिहीबार कम्तीमा १ सय २० जना चुचुरामा पुगेका छन् । अघिल्लो दिन (बुधबार) २ सय हाराहारीले आरोहण गरेका थिए ।

श्रेष्ठका अनुसार शुक्रबारपछि मौसम प्रतिकूलका कारण आरोहण रोकिनेछ । त्यसपछि सोमबार मात्रै एक दिन मौसम सुधार हुने पूर्वानुमान रहेकाले त्यस दिन केही आरोही चुचुरामा जाने कार्यक्रम छ । यसैबीच सगरमाथामा ज्यान गुमाएका दुई शेर्पा आरोहीका पत्नीको ‘एकल महिला आरोहण दल’ बिहीबार सगरमाथा चुचुरामा पुग्न सफल भएको छ । ‘हामी पनि गर्न सक्छौं’ अभियानका सदस्य ३६ वर्षीया ङिमाडोमा शेर्पा र ४२ वर्षीया फुरदिकी शेर्पा चुचुरामा पुगेका हुन् ।

फुरदिकीका पति मिङमार शेर्पा ६ वर्षअघि बाटो बनाउने क्रममा र ङिमाका पति छिरिङवाङछुको ५ वर्षअघि हिमपहिरोमा परेर निधन भएको थियो । त्यस्तै, लेवनानकी ३४ वर्षीया जोयस एजमले बिहीबार सगरमाथा आरोहण गरेकी छन् ।

सगरमाथा आरोहणसँगै सातवटै महाद्वीपका ७ वटा अग्ला हिमचुचुरा आरोहण गर्ने उनी पहिलो लेवनानी महिला झएकी छन् । यसैबीच, यस सिजनको हिमाल आरोहण क्रममा सगरमाथा, ल्होत्से, मकालु र कञ्चनजंघा आरोहण त्रममा मृत्यु भएकाको संख्या ९ र बेपत्ता भएकाको संख्या तीन पुगेको छ । ८ दिनअघि हराएका यी तीनै आरोहीको बाँच्ने सम्भावना न्यून रहेको एक्सपिडिसन एजेन्सीहरूको दाबी छ ।

पर्यटन विभागका अनुसार आरोहण सकेर फर्कंदै गर्दा भारतीय आरोही कल्पना दासको ८ हजार ६ सय मिटर आसपासमा पर्ने बाल्कोनीमा बिहीबार मृत्यु भएको छ । कल्पना काठमाडौंमा रहेको ड्रिम्स डेस्टिनेसन व्यवस्थापनमा सगरमाथा आरोहणमा गएकी थिइन् ।

त्यसैगरी, सगरमाथा आरोहणकै क्रममा ५४ वर्षीया भारतीय महिला अञ्जली शरद कुलकर्नीको पनि मृत्यु भएको छ । भारत मुम्बई निवासी कुलकर्नी उनका पति शरदसँगै आरोहणमा थिइन् । यसपटक सगरमाथा आरोहण क्रममा चार, विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघामा दुई, मकालु आरोहणमा दुई, विश्वकै चौथो अग्लो हिमाल ल्होत्सेमा एक गरी नौ विदेशी आरोहीकोमृत्यु भइसकेको छ ।

त्यस्तै, आरोहणकै क्रममा सगरमाथामाएक, मकालुमा एक र कञ्चनजंघामा एक गरी तीन आरोही हराइरहेका छन् । आरोण सुरु भएको १० दिनमै भएको मानवीय क्षतिलाई विभागले यसपटक विगतका वर्षको दाँजोमा अत्यधिक भनेको छ ।

चार विदेशीका शव काठमाडौंमा
‘पहिलोपटक’ थालिएको सगरमाथा सफाइ अभियानले चारवटा विदेशी आरोहीका शव बिहीबार हेलिकप्टरबाट राजधानी ल्याएको छ । मनाङ एयरको हेलिकप्टरले ती शव सगरमाथा आधार शिविरबाट लुक्ला ल्याएको थियो । त्यहाँबाट शव काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याएको थियो ।

मे २९ मा पर्ने १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई छेको पारेर खुम्बु पासाङल्हामु गाउँपालिका, पर्यटन
विभाग, नेपाली सेनालगायत आठ वटा निकायले यसपटक ५ हजार ३ सय ८० मिटरमा रहेको सगरमाथा आधार
शिविरदेखि ७ हजार ९ सय मिटर उचाइमा रहेको साउथकोलसम्म सफाइ गरेको थियो । त्यस क्रममा १२ हजार किलोफोहोर र ४ वटा शव संकलन गरेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अधिकृत निशान श्रेष्ठले बताए । यी शवमध्ये एउटा रसियन नागरिकको भएको र अन्य तीन शव पहिचान हुन सकेका छैनन् ।

पोस्टमार्टमपछि मात्रै यी शवको पहिचान गरेर आफन्तलाई हस्तान्तरण गरिनेछ । यसपटकको सफाइ अभियानका लागि मात्रै २ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अभियान वैशाख १ गतेदेखि लुक्लाबाट सुरु भएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्