कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला हत्या प्रकरण : १० महिना बित्यो, पत्ता लागेन दोषी

प्रहरीमा २ घण्टा धर्ना
भवानी भट्ट

(कञ्चनपुर) — निर्मला पन्तको बलात्कार र हत्या घटनामा छानबिन निष्कर्षमा पुर्‍याउन माग गर्दै परिवार र अधिकारकर्मीले शुक्रबार कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयको गेटमा धर्ना दिएका छन् । भीमदत्त नगरपालिका-२ की १३ वर्षीया पन्तको शव विभत्स अवस्थामा फेला परेको शुक्रबार १० महिना पुगेको छ । 

निर्मला हत्या प्रकरण : १० महिना बित्यो, पत्ता लागेन दोषी

लामो अवधि बिते पनि घटनाका दोषी अझै पक्राउ परेका छैनन् । बलात्कारपछि हत्या गरिएको उक्त घटनाको चरण चरणमा विभिन्न टोलीले अनुसन्धान गरेपनि छानबिन अझै निष्कर्षमा पुगेको छैन । अपराधी पत्ता लगाउन ढिला गरेको भन्दै अधिकारकर्मीले दिउसो ११ देखि नारावाजीसहित २ घण्टा धर्ना दिएका हुन् । धर्नामा निर्मलाका पिता यज्ञराज पनि सहभागी थिए ।


'१० महिनासम्म बितिसक्यो, अहिले पनि प्रहरी अनुसन्धान चलिरहेको छ मात्रै भन्छ । अपराधी पत्ता लागेको छैन,' बुवा यज्ञराजले भने, 'अब त न्याय पाउने आस नै छैन । प्रहरी हत्यारा पत्ता लगाउने भन्दा पनि लुकाउन लागेको छ कि भन्ने आशंका छ ।' न्यायका लागि आफू नथाकेको र हत्यारा पत्ता नलागेसम्म दबाब दिइरहने उनले बताए ।


बालिका पंत हत्याको घटना लगतै मुलुकभर प्रदर्शन भएका थिए । घटनाको लामो समय बित्दै जाँदा पछिल्लोपटक धेरै महिनापछि शुक्रवार पुनः दवावमुलक कार्यक्रम गरिएको हो । लामो समयसम्म प्रदर्शन गर्दा र धर्ना बस्दा पनि अपराधी पत्ता लाग्न नसक्दा पीडित परिवार र अधिकारकर्मी निरास छन् । 'हामी थाकेका छैनौं, हत्यारा सार्वजनिक नभएसम्म दवाव दिइरहने छौं,' अधिकारकर्मी शारदा चन्दले भनिन्, '१० महिनासम्म पनि अपराधी पत्ता नलाग्नु दुःखको कुरा हो ।' बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा पनि प्रहरी प्रशासन गम्भीर हुन नसकेको उनको आरोप छ ।

पछिल्लोपटक निर्मलाकी आमा दुर्गादेवी अधिकारकर्मीसंग अलग्गिएकी छन् । अधिकारकर्मीहरुले गलत आरोप लगाएको र आफूलाई डर देखाउने र धम्की दिएको उनको आरोप छ । निर्मलाका बुवा यज्ञराज र अधिकारकर्मीहरुको विरोधका बावजुद पनि दुर्गादेवीले सरकारले घोषणा गरेको राहत रकम बुझेकी छन् । उनले संघीय सरकारबाट १० लाख, प्रदेश सरकारबाट ५ लाख र भीमदत्त नगरपालिकाबाट ३ लाख रकम विभिन्न समयमा बुझेकी हुन् । यज्ञराज र अधिकारकर्मीहरुले उक्त रकम नबुझ्न दवाव दिँदै आएका थिए ।


गत साउन १० मा साथीको घरमा पढन गएकी भीमदत्त-२ उल्टाखामकी १३ वर्षीया निर्मला दोस्रो दिन १८ नम्बर वडाको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । शव भेटिएकै दिनदेखि स्थानीय महिला र अधिकारकर्मीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै निरन्तर आन्दोलन गरेका थिए । भदौ ४ मा प्रहरीले मुख्य आरोपीका रुपमा भीमदत्त २ बागफांटाका दिलिप विष्टलाई सार्वजनिक गरेपनि आन्दोलन झनै चर्केको थियो । प्रहरीले विभिन्न समय सोधपुछका क्रममा नियन्त्रणमा लिएकाहरू कसैको पनि कसुर पुष्टि हुन नसक्दा प्रहरीको अनुसन्धानको शैली नै विवादमा पर्दै आएको छ ।


दोषी पक्राउको माग गर्दै गत भदौ ७ र ८ मा भएको प्रदर्शनमा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा थुप्रैजना घाइते भए भने वडा १८ कै शनि खुनाको मृत्यु भएको थियो । त्यो बेलाका घाइतेमध्ये केहीको अहिले पनि उपचार चलिरहेको छ । उनीहरुले उपचार खर्च नपाएको गुनासो गरेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?