कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शान्ति पार्क अध्यक्ष सिग्देललाई हटाइयो

काठमाडौँ — सहरी विकास मन्त्रालयले राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माणमा सन्तोषजनक काम नगरेको भन्दै पार्क अध्यक्ष सुदर्शन सिग्देललाई हटाएको छ । ६ वर्षयता निर्माणाधीन पार्कमा सन्तोषजनक प्रगति नभएको भन्दै मन्त्रालयले उनलाई हटाएको हो । गत कात्तिकमा पार्क निर्माणमा ढिलाइ भएको भन्दै मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागका कामु आयोजना निर्देशक चक्रवर्ती कण्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले 'राष्ट्रिय सहिद तथा शान्ति पार्क' निर्माण अलपत्र परेको प्रतिवेदन विभागमा बुझाएपछि मन्त्रालयले अध्यक्ष सिग्देललाई हटाएको एक अधिकारीले बताए । 'समितिले प्रतिवेदन बुझाएको छ,' ती अधिकारीले भने, 'हालसम्म कुनै पनि काम सम्पन्न नभई अपुरो र अलपत्र छाडेको देखिएको प्रतिवेदनमा छ ।'


पार्कका अलपत्र छाडिएका भौतिक संरचनासमेत भत्कने अवस्थामा पुगेका छन् । डिजाइनअनुसार काम नभएको र खरिद सम्झौताबमोजिमको काम सम्पन्न भए पनि यथार्थमा काम सम्पन्न नदेखिएको प्रतिवेदनमा उल्लेख छ । रेस्टुरेन्ट, निजामती पार्क, शान्ति स्तुपा, सामुदायिक भवन र भजन मण्डलीलगायतका संरचना २/३ वर्षदेखि यथावत् अवस्थामा रहेकोसमेत प्रतिवदनमा छ । २०७४ देखि काम प्रायः ठप्प रहेको छ । सरकारले पार्क निर्माणका लागि ४६ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ प्रतिशत रकम ठेकेदारले भुक्तानी लिइसकेका छन् । ६ सय ५० रोपनी जग्गामा पार्कका विभिन्न संरचनाको निर्माण सुरु गरिएको थियो । सरकारले २०६४ मा पार्क बनाउन चारवटा ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो । यो २०६२/६३ को लोकतान्त्रिक आन्दोलनको सम्झनामा बनाउन थालिएको पार्क हो ।



डाँफे/गौरी/पर्वत/सुनौला खिम्ती जेभी, बोखिम कन्स्ट्रक्सन शान्ति निर्माण सेवा, सूर्य/आवि/जनपथ जेभी र चक्रेश्वरी/सूर्यजीवन जेभी निर्माण कम्पनीले उक्त पार्कमा भौतिक संरचना निर्माणको ठेक्का लिएका थिए । पार्कलाई चार भागमा विभाजन गरिएको छ । ७२ रोपनीमा स्मृति क्षेत्र, त्यसमा १८ मिटर अग्लो शान्ति पिरामिड राख्ने योजना छ ।


प्रकाशित : जेष्ठ १०, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?