कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पाँचथर हत्याकाण्ड– 'सबैलाई मारेर मर्छु भन्थे’

विराटनगर — पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

पाँचथर हत्याकाण्ड– 'सबैलाई मारेर मर्छु भन्थे’

९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । ‘घटनाको करिब एक महिना अघिदेखि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार र साथीभाइसँग भन्ने गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।


घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको परिवारले प्रहरीसँगको बयानमा बताएका छन् । ससुराली गाउँ आरुबोटेमा मानबहादुर हत्या घटना हुनुभन्दा दुई घण्टाअघि पुगेको प्रहरीले अनुमान गरेको छ ।


हत्या घटना राति साढे १० देखि साढे १२ बीच भएको अनुसन्धानबाट देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आएको टोलीका प्रमुख एसपी उमा चतुर्वेदीले बताए । उनीसहितको तीन सदस्यीय टोली र स्थानीय प्रहरीसमेतको संलग्नतामा अनुसन्धान जारी छ ।


प्रदेश १ प्रहरी कार्यालयका अनुसार अनुसन्धानक्रममा घटनास्थल, गाउँका विभिन्न स्थान र आफन्तको निगरानीजस्ता काममा करिब ७५ प्रहरी परिचालित छन् ।


शुक्रबारसम्म सीआईबीको टोलीले २५ जनाभन्दा बढीसँग घटना र त्यसअघिको परिस्थितिबारे सोधपुछ गरिसकेको छ । अझै केही दिन सोधपुछ र अनुसन्धानको क्रम जारी रहने चतुर्वेदीले बताए । ‘हालसम्म घटनामा एकजना मात्र संलग्न रहेको प्रमाण भेटिएको छ’, उनले भने, ‘अरू कोही संलग्न थिए, थिएनन् भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेका छौं ।’


प्रहरीका अनुसार घटनापछि बिहानको ३ बजे एकजना आफन्तलाई फोन गरी आवश्यक परेको छ भन्दै रकम मागेका थिए । कोसँग मागेको भन्ने प्रहरीले खुलाएको छैन । घटनास्थलको प्रकृति र अन्य पक्षहरू अध्ययनपछि मानबहादुरले बिहान साढे ३ देखि ५ बजेभित्र झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुमान छ ।


अनुसन्धानमा संलग्न पाँचथरको टोलीका एक सदस्यका अनुसार यतिन्जेलसम्मको अध्ययन/अनुसन्धानबाट मानबहादुर सबैभन्दा पहिले साढुदाइ धनराज सेर्माको घर गएका थिए । त्यहाँ सुरुमा उनले धनराजलाई त्यसपछि परिवारका अरू चारजनालाई खुकुरी प्रहार गरेको घटनास्थलमा संकेत पाइएको प्रहरीको भनाइ छ ।


४१ वर्षीय धनराजको घरका उनीसहित ३६ वर्षीया श्रीमती जस्मिता र तीनजना बालिकाको हत्या भएको थियो । त्यसपछि मानबहादुर करिब एक किलोमिटर दूरीमा रहेको ससुरा ७४ वर्षीय बमबहादुर फियाकको घर पुगेका थिए । त्यहाँ उनले सुरुमा बमहादुरमाथि आक्रमण गरेका थिए ।


प्रहरीका अनुसार त्यसक्रममा बमबहादुरले पनि खुकुरी निकालेर प्रतिकार गरेको पाइएको छ । घटनास्थलमा उनले प्रयोग गरेको भनिएको खुकुरी उनकै शवछेउ भेटिएको थियो ।


आक्रमण गर्ने भनिएका मानबहादुरको हातको एउटा औंलामा गहिरो गरी काटिएको चोट त्यसबेलाको प्रतिकारमा भएको ठम्याइ अनुसन्धान टोलीको छ । बमबहादुरसहित उनकी श्रीमती र छोरी र एक बालिकाको हत्या भएको थियो ।


भागेर बाँच्न सफल बमबहादुरकी १२ वर्षीया नातिनी सीता खुजुम आक्रमण सुरु भएपछि हजुरबुबाले प्रतिकार गरेकै बेला भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय र केही आफन्तसँगको कुराकानीमा प्रहरीले मानबहादुर डिप्रेसनको समस्याबाट ग्रस्त रहेको पाइएको जनाएको छ ।


उनले यो समस्याबारे विराटनगरमा जाँच गरेर दुईखाले औषधि खाने गरेका थिए । औषधिको नाम प्रहरीले खुलाएको छैन । डाक्टरले लामो समयसम्म औषधि खानुपर्छ र चाँडै निको हुँदैन भनेकाले आफू चिन्तित रहेको मानबहादुरले आफन्तलाई सुनाउने गरेका थिए ।


घटनाको करिब ६ महिनाअघि श्रीमती मनकुमारीले सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन् । यसपछि मानबहादुर बढी तनावमा रहेको स्थानीयको भनाइ छ । उनीहरूको २०६८ सालमा मागी बिहे भएको थियो । बिहेअघि मानबहादुर २ वर्ष मलेसिया बसेर फर्केका थिए ।


मनकुमारीले विराटनगरस्थित नोबेल अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी थिइन् । तीमध्ये एकजनाको अस्पतालमै र अर्कीको घर पुगेपछि मृत्यु भएको थियो । यसै बेलादेखि मानबहादुरमा निराशाको संकेत देखिन थालेको उनका निकट साथीभाइ र आफन्तले प्रहरीले गरेको सोधपुछका क्रममा बताएका छन् ।


त्यसको केही समयपछि फेरि मलेसिया गएका थिए । मलेसिया गएको केही समयपछि श्रीमतीले आफ्नो पेटमा बच्चा भएको टेलिफोनमा जानकारी गराएकी थिइन् ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?