कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाँचथर हत्याकाण्ड : सीतालाई मनोपरामर्श

अर्जुन राजवंशी

दमक — आरुबोटे हत्याकाण्डमा भागेर बाँचेकी १३ वर्षीया सीता खजुम नयाँ मान्छे देख्दा डराउँछिन् । आफ्ना कुरा राम्ररी भन्न सकिरहेकी छैनन् ।

पाँचथर हत्याकाण्ड : सीतालाई मनोपरामर्श

पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा सोमबार राति भएको कहालिलाग्दो घटनाको एक मात्र प्रत्यक्षदर्शी उनलाई चिकित्सकले मनोपरामर्श गरिरहेका छन् । ‘उनलाई सहज हुने गरी परामर्शमार्फत उपचार गरिरहेका छौं,’ वरिष्ठ फिजिसियन डा.मुक्ति भट्टराईले भने, ‘मानसिक रूपमा उक्त घटना भुलाउने प्रयास गरिरहेका छौं ।’


उनलाई शारीरिकभन्दा मानसिक असर बढी परेको भट्टराईले बताए । भट्टराईका अनुसार उनको दायाँ हातको कुइनामा चोट छ । घरबाट भाग्ने क्रममा चिप्लिएर लडदा चोट लागेको हो । घाउमा चार टाँका लगाइएको छ । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।


हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.मनोज शाहले सीतालाई लामो समयसम्म मनोपरामर्श आवश्यक रहेको बताए । ‘शारीरिक चोट ठूलो नभएकाले औषधिभन्दा बढी मनोपरामर्शमा जोड दिएका छौं,’ उनले भने, ‘हामीबाट हुनेसम्मको परामर्श गरिरहेका छौं ।’


मनोपरामर्शका कारण सीताको शारीरिक एवं मानसिक अवस्थामा सुधार आएको उनले जनाए । सीतालाई मंगलबार अपराह्न ४ बजेदेखि अस्पतालमा राखिएको हो । कडा सुरक्षाबीच उनको उपचार भइरहेको दमकका डीएसपी श्यामल सुब्बाले बताए ।


घटना भएको दिनदेखि सीताले नजिकका आफन्तलाई भेट्न पाएकी छैनन् । मावली घरमा बस्दै आएकी उनका ९ जना आफन्तको सोमबार राति हत्या भएको थियो । सीताकी आमा बुद्धिमाया फियाक दोस्रो विवाह गरी दमकमै बस्छिन् । घटनाको खबर पाएलगत्तै बुद्धिमाया मंगलबारै माइती घर आरुबोटे पुगेकी छन् ।


आमा आरुबोटे पुग्दा सीतालाई स्थानीयले दमक ल्याइसकेका थिए । ‘त्यति ठूलो घटना भएदेखि सीता नजिकका आफन्तसँग बस्न पाएकी छैनन्, त्यसकारण उनले आफूलाई सहज महसुस गर्न सकिरहेकी छैनन्,’ डा. शाहले भने ।


प्रहरीले पनि उनीसँग कुराकानीकै आधारमा अनुसन्धान गरिरहेको छ । अस्पतालमा आएका मानिसले उनको फोटो खिच्ने, उनलाई देखाएर कुरा गर्ने गरेकाले पनि सीताको मानसिक असर कम गर्न गाह्रो भइरहेको चिकित्सकले बताए ।


अस्पतालमा उनलाई भेट्न प्रहरीका उच्च व्यक्तिहरू, मन्त्री, सांसद, नेता, स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्थाका व्यक्तिहरू नियमित पुग्ने गरेका छन् । सीताले सहज महसुस गर्ने एकजना महिला प्रहरी २४ सै घण्टा साथमा राखेको डीएसपी सुब्बाले बताए ।


‘दमककी उपमेयर गीता अधिकारी र म बहिनीलाई भेट्न गएका थियौं, उनी हामीसँग केही बोलिनन्,’ सामाजिक अगुवा महिला वसन्तलक्ष्मी उदासले भनिन्, ‘एक्लै बसेर न्यास्रो लागेकाले आफू पढ्ने कक्षा ९ को किताब ल्याइदिन आग्रह गरिन् ।’


शुक्रबार प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनी शारीरिक एवं मानसिक रूपमा स्वस्थ नभएसम्म सबैखाले उपचार गर्न चिकित्सकसँग आग्रह गरेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?