यसरी पक्राउ परे साढे ७ करोड नक्कली भारुसहित अन्सारी

जनकराज सापकोटा

काठमाडौँ — नक्कली नोटको कारोबारमा कैद भुक्तान गरी छुटेको एक वर्षलगत्तै युनिस अन्सारी उस्तै घटनामा फेरि पक्राउ परेका छन् ।

यसरी पक्राउ परे साढे ७ करोड नक्कली भारुसहित अन्सारी

शुक्रबार कतारको राजधानी दोहाबाट कतार एयरवेजको क्यूआर ६४४ कल साइन विमानमा आएका तीन पाकिस्तानीले सुटकेसमा ल्याएको दुई हजार दरका ७ करोड ६७ लाख ९४ हजार भारतीय रुपैयाँ लिन अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला पक्राउ परेका हुन् ।


उनीसँगै रौतहट रमौली बैरिया घर भएका उनका साला सुयल खान र गाडीचालक सुदन रानाभाट पनि पक्राउ परेका छन् । प्रहरीले नक्कली भारतीय रुपैयाँ लिएर आएका ४९ वर्षीय मोहम्मद अख्तर, ३९ वर्षीया नादिया अनबर र ६७ वर्षीय नासिर उद्धिनलाई पनि पक्राउ गरेको छ ।


तत्कालीन नेसनल न्युज टेलिभिजनका सञ्चालकसमेत रहेका अन्सारी २०६६ पुस ७ मा थापाथलीस्थित ब्लु स्टार कम्प्लेक्सबाट २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । प्रहरीले त्यतिबेला उनीसँगै रहेका दुई पाकिस्तानी नागरिक सज्जा मोहम्मद खुराम, मोहम्मद इकवाल र सहयोगी काशीराम अधिकारीलाई पक्राउ गरेको थियो ।


त्यतिबेला खोटा चलन मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि अन्सारी २०६६ माघ १७ मा सुन्धारास्थित केन्द्रीय कारागार चलान भएका थिए । कारागारमै रहेका बेला २०६७ फागुन २६ मा उनीमाथि गोली प्रहार भएको थियो ।


भारतीय नागरिक मनमित सिंहले हानेको गोलीबाट उनी संयोगले बाँचे तर त्यसपछिका दिनमा पनि नक्कली नोटको कारोबारमा उनको संलग्नता हटेन । झन्डै पाँच वर्ष कैद सजाय भुक्तान गरेर उनी २०७० असोज १८ मा थुनामुक्त भएका थिए ।


कैदमुक्त भएको चार महिनापछि २०७० माघ १० मा उनी उस्तै घटनामा फेरि पक्राउ परेका थिए । प्रहरीको विशेष ब्युरोले उनलाई ललितपुरबाट ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो ।


अदालती मुद्दाको कारबाहीपछि उनी २०७० चैत १७ गते केन्द्रीय कारागार चलान भएका थिए । त्यहाँ एक रात राखेपछि अर्थात चैत १८ मा सुरक्षाको कारण देखाउँदै उनलाई ललितपुरको नख्खु कारागारमा सारिएको थियो । नख्खु कारागारको अभिलेखअनुसार उनी २०७४ वैशाख २ गते कैद सजाय झुक्तान गरेर छुटेका हुन् ।


जेलमुत्त भएको एक वर्ष बितेकै केही दिनपछि उनी फेरि पुरानै धन्दामा संलग्न भएको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परे । घटनाबारे जानकारी दिन महानगरीय प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा डीआईजी शैलेश थापाले अन्सारी र पाकिस्तानीबीच बारम्बार प्रविधिमार्फत संवाद भएको बताए । पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको जानकारी उनले दिए ।


बरामद नक्कली भारतीय रुपैयाँ पाकिस्तानमा छापिएर कतार हुँदै नेपाल आएको हो कि कतारमै छापिएर नेपाल पठाइएको हो भन्नेबारे भने अनुसन्धान भइरहेको छ । विमानस्थलमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली भारतीय रुपैयाँले मात्रै भरिएको सुटकेस कसरी दोहास्थित अध्यागमनको सुरक्षा जाँच पास भयो भन्ने अचम्मको विषय भएको बताए ।


अनुत्तरित प्रश्न

नक्कली भारतीय नोटको अन्तरदेशीय कारोबारमा तेस्रोपटक पक्राउ पर्दा युनिसको अनुहारमा चिन्ताको भाव थिएन । विमानस्थल प्रहरीका अनुसार पक्राउ परेपछि पनि उनी आत्तिएका देखिएनन् ।


विमानस्थलबाट रानीपोखरीको महानगरीय प्रहरी कार्यालयमा ल्याइँदा पक्राउ परेका सबैको अनुहार छोपिए पनि अन्सारीको अनुहार खुलै थियो । आफ्नो अनुहार ढाक्न नमानेका अन्सारीलाई पत्रकार सम्मेलनमा पनि मास्कबिना नै प्रस्तुत गरिएको थियो ।


एक समय नक्कली भारतीय रुपैयाँको कारोबारको अनुसन्धानमा खटिएका एक पूर्वप्रहरी अधिकारीले शुक्रबारको अन्सारी पक्राउको घटना केही अनौठो देखिएको बताए । ती अधिकारी अन्सारी आफैं नोट लिन विमानस्थल जानु र पक्राउपछि पनि उनको अनुहारमा शान्त भाव देखिनुले केही संकेत गरिरहेको बताउँछन् ।


सुन्धारास्थित केन्द्रीय कारागारभित्रै अन्सारीमाथि गोली प्रहार भएको घटनामा तत्कालीन प्रहरी प्रवक्ता डीआईजी हेमन्त मल्लको संयोजकत्वमा छानबिन कमिटी गठन भएको थियो । उक्त कमिटीले तयार पारेको प्रतिवेदनमा पाकिस्तानी गिरोहका लागि काम गर्दै अन्सारीले भारतीय अर्थतन्त्रलाई ध्वस्त पार्न भूमिका खेलेकाले मनमितलाई गोली हान्न खटाइएको तथ्य उल्लेख छ ।


यो प्रतिवेदनले अन्सारी भारतीय खुफिया एजेन्सीको टार्गेटमा रहेकोतर्फ इंगित गरेको छ ।

भारतीय पक्षबाट आफूमाथि जुनसुकै बेला गोली प्रहार हुनसक्ने भयमा देखिएका अन्सारीले ज्यान जोगाउन पनि पछिल्लो घटना रचेको हुनसक्ने प्रहरीका केही उच्च अधिकारीहरूको आंकलन छ ।


ठूला अपराधको प्रवृत्ति हेर्दा मुख्य नाइके आफैं खटिने हुँदैन । एक उच्च प्रहरी अधिकारीले कान्तिपुरसँग भने, ‘तर, शुक्रबारको घटनामा भने अन्सारी आफैं एयरपोर्ट पुगेको देखिन्छ । अनि पाकिस्तानीहरू विमान अवतरणको धेरैबेरपछि बाहिरिँदा पनि ढुक्कसँग प्रतीक्षा गरिरहेको देखिन्छ । घटनाको यो आयामले केही अनुत्तरित प्रश्नतर्फ संकेत गर्छ । त्यो भनेको के अन्सारी आफूलाई सुरक्षित राख्न आफैंले घटना बनाएका त होइनन् ?’


यसरी पक्राउ परे

विमानस्थल प्रहरी र भन्सार अधिकारीहरूले कालो रङको सुटकेस गुडाउँदै अगाडि बढिरहेका ६७ वर्षीय नासिर उद्धिनलाई विमानस्थलको भन्सार जाँच कक्षमै पक्राउ गरेका थिए ।


लगत्तै उस्तै आकारको नीलो सुटकेस गुडाउँदै निस्कन लागेका नादिया अनबर र मोहम्मद अख्तरलाई पनि पक्राउ गर्‍यो । प्रहरी त्यतिबेला अचम्ममा पर्‍यो, जब उनीहरूको सुटकेस खोलेर हेर्दा भारतीय दुई हजार दरका नोटका बन्डलले भरिएको थियो ।


विमानस्थल प्रहरीका अनुसार नासिरले बोकेको कालो सुटकेसमा ३ करोड ७३ लाख २ हजार भारतीय रुपैयाँ थियो भने मोहम्मद र नादियाले बोकेको नीलो सुटकेसमा ३ करोड ९४ लाख ९२ हजार भारुको बन्डल थियो ।


भन्सार अधिकारीहरूका अनुसार नोटको बन्डल सामान्य फोटोकपी पेपरले बेरिएको थियो भने नोटको गड्डीमाथि बुर्का र केही थान कुर्ता पाइजामा थियो । एउटा सुटकेसमा भने नोटको गड्डीमाथि चिकेन बिर्यानीमा प्रयोग हुने मसला राखिएको थियो । सुटकेस खोल्न खटिएका एक प्रहरीका अनुसार दुवै सुटकेस पूरै पैसाले भरिएको थियो ।


नक्कली नोटसहित पाकिस्तानी पक्राउ परेलगत्तै विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारी, विमानस्थलमै रहेको विशेष ब्युरोको टोलीले ‘कोभर्ट अप्रेसन’ गरेको थियो । प्रहरीले सुटकेसको रकम निकालेर त्यसका कपडा मात्रै राखेर पाकिस्तानीलाई विमानस्थल बाहिर जान दिएको थियो ।


प्रहरीको कडा निगरानीमा सुटकेस गुडाउँदै बाहिरिएका उनीहरूलाई लिन को आउँछ भन्ने प्रहरीको चासो थियो । तीन पाकिस्तानी बाहिरिएको धेरैबेरपछि युनिस अन्सारी, उनका साला सुयल खान र चालक सुदन रानाभाटले उनीहरूलाई भेटे । त्यसलगत्तै प्रहरीले तीनै जनालाई पक्राउ गर्‍यो ।


विमानस्थलको नयाँ पार्किङमा गाडी राखेर युनिस उनीहरूलाई लिन पुगेका थिए । युनिससहित तीन जना पक्राउ परेपछि मात्रै प्रहरीले विमानस्थलको भन्सार कक्षमा नोट गन्ने र मुचुल्का उठाउने काम गरेको थियो । नोटको नम्बरसहितको मुचुल्का उठाउन र दुवै सुटकेसमा रहेको सबै पैसा गन्न मात्रै प्रहरीलाई झन्डै तीन घण्टा लागेको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?