प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
काठमाडौँ — नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) केशवराज कार्की भ्रष्टचारको आरोपमा पदबाट बर्खास्तमा परेका छन् । गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि उनलाई समरी जनरल सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहितको फैसला गरिएको सैन्य स्रोतले जानकारी दिएको छ ।
प्रमुख सेनानी कार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन् ।
कार्कीले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको अदालतले ठहर गरेको छ । चुरे तराई मधेस संरक्षण कार्यक्रममा कार्कीले १ लाख ६७ हजार हिनामिना गरेका थिए ।
सहायक रथी हिमांशु खड्काको अध्यक्षतामा रहेको अदालतले प्रमुख सेनानी कार्कीविरुद्ध उक्त आदेश दिएको हो । कार्की ३५ दिन भित्र पुनारवेदन अदालतमा जान सक्नेछन् ।
प्रकाशित : जेष्ठ ११, २०७६ १३:४९