१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भारतीय पक्षले च्यानलमा पानी छोड्दा सप्तरीका ९० परिवार कोसीमा घेरिए, पश्चिमी तटबन्धमा जोखिम बढ्यो

मेयर साह भन्छन्, 'भारतीय ज्यादती अब अति नै भयो'
अवधेशकुमार झा

हनुमाननगर (सप्तरी) — कोसीमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छोडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढाबाट सम्पर्कबिच्छेद भएको छ । गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा तीन वर्षदेखि कोसीमा भारतीय पक्षले खन्दै आएको पाइलट च्यानलमा शुक्रबार साँझ अचानक पानी छोडिएपछि गोबरगाढाको पश्चिमबाट पनि भंगालो बगेकाले ९० परिवार कोसीमै घेरिएका हुन् ।

भारतीय पक्षले च्यानलमा पानी छोड्दा सप्तरीका ९० परिवार कोसीमा घेरिए, पश्चिमी तटबन्धमा जोखिम बढ्यो

भारतीयले एकतर्फी खनेको च्यानलमा पानी छोड्दा हनुमाननगर १३ गोबरगाढाका बासिन्दा बीच कोसीमै घेरिएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए । शुक्रबार साँझबाट गोबरगाढा जान-आउन सकिने अवस्था छैन । उक्त बस्तीमा करिब ३ सय जना नागरिक रहेका छन् ।


'शुक्रबार नगरपालिकाको तालिममा हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय हनुमाननगरमा आएकाहरु साँझ घर फर्किन लाग्दा गोबरगाढा भन्दा पश्चिमको भंगालोमा बेगसहित पानीको बहाव थियो' बस्तीमै रहेका हनुमाननगर कंकालिनी नगरपालिका १३ का वडाध्यक्ष विन्देश्वरी यादवले,'हनुमाननगर आएकाहरुमध्ये केही पुरुष पौडेर बस्तीतर्फ गए, महिलाहरु यतै बस्नुपर्‍यो ।'


मेयर साहले नेपाली जनतालाई वर्षा अगावै डुबाउने प्रपञ्चका साथ भारतीय पक्ष लागिपरेको बताए । उनले प्रश्न गर्दैभने, '७०-८० किलोमिटर प्रतिघण्टाका दरले च्यानलमा बहाव छ' कसरी बस्ती पुग्न सक्छन् त स्थानीय ?'


कोसी योजनाबारे नेपाली र भारतबीच समन्वयको भूमिका खेल्ने सम्पर्क तथा भुआर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बुले पनि आफूहरुलाई पनि जानकारी नदिइ भारतीय पक्षले पाइलट च्यानल खन्न थालिएको बताए । 'हामीलाई जानकारी नदिइ एकतर्फी रुपमा पाइलट च्यानल खन्दा आज गोबरगाढा बस्ती कोसीमा घेरिएको हो' भुआर्जन अधिकृत लिम्बुले भने, 'यसबारे मैले धेरै अघि नै सिँचाईमन्त्री र सचिवलाई भेटेरै तथा लिखित रुपमै जानकारी गराइसकेको छु ।'


नदीको प्राकृतिक बहाव पूर्वतर्फ रहेका बेला भारतीय अधिकारीहरुले नदीको मध्यभागभन्दा पश्चिम आएर पाइलट च्यानल खनी बहावलाई कृतिम तरिकाले पश्चिमतर्फ फर्काउँदै गोबरगाढा बस्ती डुबानमा पार्नुका साथै नेपालमा रहेको कोसीको पश्चिमी तटबन्धमाथिको जोखिमलाई बढाएको मेयर साहले बताए ।

अढाई वर्ष अघिदेखि कोसी ब्यारेजको २८ नम्बर ढोका अगाडि दक्षिणी भागमा भारतीयले पाइलट च्यानल खन्न सुरु गरेको थियो ।


यो पनि पढ्नुहोस्ः

कोसीमा च्यानल बनाउँदै भारतीय ट्रयाक्टर

यसरी बनाइँदै छ कोसीमा 'च्यानल' [फोटोफिचर]

प्रकाशित : जेष्ठ ११, २०७६ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?