संविधान संशोधन नभए सडक सङ्घर्ष : यादव

रासस

काठमाडौँ — उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् । समाजवादी पार्टी नेपालद्वारा विराटनगर यहाँ आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले विभेदको अन्त्य, संविधानमा रहेको त्रुटि सच्याउन र समावेशी बनाउन मात्र सरकारमा समावेश भएको प्रस्ट पारे ।

समाजवादी पार्टी नेपालका कार्यसमिति अध्यक्षसमेत रहेका यादवले जनताको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुकमा समृद्ध कायम हुने भएकाले यसलाई संस्थागत र प्राप्त उपलब्धिलाई रक्षा गर्नलाई पार्टी एकीकरण गरिएको जानकारी दिए । समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले जातीय विविधता, पहिचानलाई सम्बोधन गर्न पार्टीको एकीकरण गरिएको बताए । उनले भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई पूर्ति गर्नु नै पार्टीको उद्देश्य रहेको धारणा व्यक्त गर्दै सम्पूर्ण जनताको सहभागितामूलक एकमात्र राष्ट्रिय पार्टीका रुपमा विकास गर्ने उल्लेख गरे ।
अध्यक्ष डा भट्टराईले वर्तमान अवस्थामा रहेका दुई ठूला पार्टीको विकल्पमा समाजवादी पार्टी रहने चर्चा गर्दै पदका निम्ति पार्टीका कार्यकर्तामा कुनै लोभलालच नभएकाले जनताको सेवा नै मुख्य रहेको छ भने । पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको चाहनाअनुसार पार्टीबीच एकीकरण भएको बताउँदै पार्टीले शोषित पीडित जनताको मुक्तिका लागि कार्य गर्ने धारणा व्यक्त गरे । प्रदेश अध्यक्ष प्रविन चाम्लिङको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष पर्शुराम खापुङ, हेमराज राई, हिसिला यमी, रकम चेम्जोङ र प्रा महेन्द्र सुब्बा लावती लगायतले पार्टी एकताबाट आगामी निर्वाचनमा ठूला पार्टीलाई पराजित गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : जेष्ठ ११, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय पक्षले च्यानलमा पानी छोड्दा सप्तरीका ९० परिवार कोसीमा घेरिए, पश्चिमी तटबन्धमा जोखिम बढ्यो

मेयर साह भन्छन्, 'भारतीय ज्यादती अब अति नै भयो'
अवधेशकुमार झा

हनुमाननगर (सप्तरी) — कोसीमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छोडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढाबाट सम्पर्कबिच्छेद भएको छ । गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा तीन वर्षदेखि कोसीमा भारतीय पक्षले खन्दै आएको पाइलट च्यानलमा शुक्रबार साँझ अचानक पानी छोडिएपछि गोबरगाढाको पश्चिमबाट पनि भंगालो बगेकाले ९० परिवार कोसीमै घेरिएका हुन् ।

भारतीयले एकतर्फी खनेको च्यानलमा पानी छोड्दा हनुमाननगर १३ गोबरगाढाका बासिन्दा बीच कोसीमै घेरिएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए। शुक्रबार साँझबाट गोबरगाढा जान-आउन सकिने अवस्था छैन। उक्त बस्तीमा करिब ३ सय जना नागरिक रहेका छन्।

'शुक्रबार नगरपालिकाको तालिममा हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय हनुमाननगरमा आएकाहरु साँझ घर फर्किन लाग्दा गोबरगाढा भन्दा पश्चिमको भंगालोमा बेगसहित पानीको बहाव थियो' बस्तीमै रहेका हनुमाननगर कंकालिनी नगरपालिका १३ का वडाध्यक्ष विन्देश्वरी यादवले,'हनुमाननगर आएकाहरुमध्ये केही पुरुष पौडेर बस्तीतर्फ गए, महिलाहरु यतै बस्नुपर्‍यो।'

मेयर साहले नेपाली जनतालाई वर्षा अगावै डुबाउने प्रपञ्चका साथ भारतीय पक्ष लागिपरेको बताए। उनले प्रश्न गर्दैभने, '७०-८० किलोमिटर प्रतिघण्टाका दरले च्यानलमा बहाव छ' कसरी बस्ती पुग्न सक्छन् त स्थानीय?'

कोसी योजनाबारे नेपाली र भारतबीच समन्वयको भूमिका खेल्ने सम्पर्क तथा भुआर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बुले पनि आफूहरुलाई पनि जानकारी नदिइ भारतीय पक्षले पाइलट च्यानल खन्न थालिएको बताए। 'हामीलाई जानकारी नदिइ एकतर्फी रुपमा पाइलट च्यानल खन्दा आज गोबरगाढा बस्ती कोसीमा घेरिएको हो' भुआर्जन अधिकृत लिम्बुले भने, 'यसबारे मैले धेरै अघि नै सिँचाईमन्त्री र सचिवलाई भेटेरै तथा लिखित रुपमै जानकारी गराइसकेको छु।'

नदीको प्राकृतिक बहाव पूर्वतर्फ रहेका बेला भारतीय अधिकारीहरुले नदीको मध्यभागभन्दा पश्चिम आएर पाइलट च्यानल खनी बहावलाई कृतिम तरिकाले पश्चिमतर्फ फर्काउँदै गोबरगाढा बस्ती डुबानमा पार्नुका साथै नेपालमा रहेको कोसीको पश्चिमी तटबन्धमाथिको जोखिमलाई बढाएको मेयर साहले बताए।
अढाई वर्ष अघिदेखि कोसी ब्यारेजको २८ नम्बर ढोका अगाडि दक्षिणी भागमा भारतीयले पाइलट च्यानल खन्न सुरु गरेको थियो।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : जेष्ठ ११, २०७६ १८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्