१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मन मिल्यो, जमिन मिल्यो

दीपक परियार

लेखनाथ — खेतमा ट्याक्टर लैजान नसकिने, गोरुले जोत्दा लागत बढी पर्ने । धान र पराल ढुवानीमा पनि समस्या । तीन रोपनी ४ आना खेतमा जम्मा ८ मुरी धान फलाउँथे, कास्की, माछापुच्छ्रे गाउँपालिका घाचोकका किसान मोतीलाल पोखरेल ।

मन मिल्यो, जमिन मिल्यो

लागतबमोजिम मुनाफा नभएपछि ३ महिनाअघि घाचोकका किसान भेला भए । छलफलका क्रममा सबैको खेत मिसाएर चक्लाबन्दी गर्दै सामूहिक खेती गर्ने प्रस्ताव आयो । २२ कृषक सहमत भए ।


‘पहिला के–कसरी गर्ने भन्ने धेरै छलफल भयो, मन माझामाझ भयो,’ पोखरेलले भने, ‘छलफल हुँदै गएपछि मन मिल्यो । मन मिलेपछि जमिन पनि मिल्यो ।’ तिनै कृषक समेटिएर गाउँमा भूमे सिर्जनशील कृषक समूह गठन भयो । समूहका अध्यक्ष उनै मोतीलाल पोखरेल बने ।


समूहले ३ नम्बर वडाका २२ किसानको साढे ५१ रोपनी खेत एकै ठाउँ मिसायो । सिरानखेतका ससाना टुक्रा जमिन चक्लाबन्दीपछि ठूल्ठूला फाँट बने । एकीकृत जमिनलाई ५ भागमा विभाजन गरिएको छ । बाटो र सिँचाइ पुर्‍याइएको छ । खनजोतमा परम्परागत तरिका अपनाउनुपर्ने बाध्यता हटेको छ । वर्षमा ३ खेती लगाउने समूहको योजना छ ।


ब्याडमा जेठो बूढो धानको बीउ पलाइसकेको छ । ‘जेठमा बर्खे धान रोप्छौं, धान काटेपछि कात्तिक, मंसिरमा तोरी, आलु वा गहुँ लगाउँछौं,’ अध्यक्ष पोखरेलले भने, ‘फागुनमा चैतेधान रोप्छौं ।’ परम्परागत तरिकाले खेती गर्दा प्रतिरोपनी साढे दुर्ई मुरी धान उत्पादन हुन्छ ।


चक्लाबन्दीपछि उत्पादन दोब्बर बनाउने समूहको लक्ष्य छ । समूहका सचिव राजाराम पौडेल कृषिमा लागत कम गर्ने, उत्पादन बढाउने र जग्गा बाँझो नराख्ने उद्देश्य भएको बताउँछन् । ‘सामूहिक खेती गर्दा मल, बीउ सदुपयोग हुन्छ,’ उनी भन्छन्, ‘लागत कम पर्ने भएकाले किसानको आय वृद्धि हुन्छ ।’


सामूहिक खेतीबाट वार्षिक १३ लाख रुपैयाँ मुनाफा गर्ने लक्ष्य समूहले लिएको छ । चक्लाबन्दी गरिएको जमिनमा खेती गर्न सम्पूर्ण लगानी तथा व्यवस्थापन समूहले गर्छ । खेतमा काम गर्न समय नदिनेले उत्पादन लागत बेहोर्नुपर्छ । उत्पादित खाद्यान्न जग्गाको हिस्साअनुसार समूहले सदस्यलाई वितरण गर्छ । चक्लाबन्दी गरिएको जग्गामा १० वर्ष प्लटिङ, आवास तथा उद्योग स्थापना गर्न नदिने समूहको योजना छ ।


घाचोकमा यसअघि पनि स्थानीय महिलाले १२ रोपनी जमिनमा सामूहिक बदाम खेती गरिरहेका छन् । एक सय ४० महिला सदस्य रहेको अन्नपूर्ण महिला प्रांगारिक सहकारी संस्था स्थापना भएको छ । सामूहिक खेतीले आयआर्जनमा सहयोग पुगेको सहकारीकी कोषाध्यक्ष पार्वती पोखरेलले बताइन् ।


वडाध्यक्ष सूर्यप्रसाद लम्सालका अनुसार ३ नम्बरमा दैनिक ३ हजार ५ सय लिटर दूध उत्पादन हुन्छ । वडामा ३ सय ७२ रोपनी खेतीयोग्य र २ सय ४३ रोपनी सिँचाइ पुगेको भूभाग छ । ६ सय ५० मध्ये ४ सय २३ घरधुरी कृषिमा आश्रित छन् ।


गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चक्लाबन्दीको पूर्वाधारमा सहयोग गरेको छ । चक्लाबन्दीस्थलको नापी नक्सा संकलन र नयाँ नापी गरी आधार नक्सा मन्त्रालयले तयार गरेको हो । मन्त्रालयका भूमि स्रोत नक्सांकन महाशाखा प्रमुख गंगालाल पोखरेलका अनुसार आधार नक्सामा योजनाको रूपरेखा तयार गरी ब्लकको डिजाइन मन्त्रालयले गर्‍यो ।


मन्त्रालयले प्रत्येक ब्लकमा सिँचाइ, निकास बाटो र बिजुली व्यवस्था गरेको छ । त्यसका लागि १० लाख रुपैयाँ अनुदान छुट्याएको छ । समूहले भने हालसम्म पूर्वाधार, मल, बीउलगायतमा १५ लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ ।


भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले घाचोकमा भएको चक्लाबन्दी शनिबार अवलोकन गरे । उनले चक्लाबन्दीलाई प्रदेशव्यापी बनाउने योजना रहेको बताए । ‘यसलार्ई हामी अभियानकै रूपमा लैजान चाहन्छौं,’ कृषकसँग उनले भने, ‘आवश्यकताका आधारमा अनुदान दिन्छौं ।’ उनले घाचोकलाई जेठो बूढो धानको बीउ स्रोत केन्द्र बनाउन किसानलाई सुझाव दिए ।


उत्पादकत्व वृद्धि गरी ३ वर्षभित्रमा प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको योजनामा सहयोग पुग्ने उनले जनाए । प्रदेश सांसद रामजी बरालले कृषिमा आमूल परिवर्तन ल्याउन चक्लाबन्दीले सहयोग पुर्‍याउने बताए । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले चक्लाबन्दी गर्दा उत्पादकत्व बढे, नबढेको ध्यान दिन किसानलाई आग्रह गरे ।


चक्लाबन्दीमा छनोट भएका सहकारी तथा समूहलाई आवश्यक यन्त्र, उपकरण र मल, बीउ खरिदका लागि मन्त्रालयले अनुदान उपलब्ध गराउने नीति लिएको छ । उक्त प्रयोजनका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


यस वर्ष घाचोकसँगै फेवाताल पारिको पामे र स्याङ्जामा चक्लाबन्दी सुरु भएको छ । कयरबारी पञ्चासे कृषि सहकारी संस्था र पञ्चासे पोखरा बहुउद्देश्यीय प्रालिले पामेमा चक्लाबन्दी गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका–१ मा रहेको सागरदेवी किसान समूहले पनि चक्लाबन्दीका माध्यमबाट समूहीकृत खेती गर्न सुरु गरेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?