कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चलेन पिरामिड प्रयोगशाला

विश्वकै सबभन्दा उच्च हिमाली क्षेत्रमा रहेको पिरामिड प्रयोगशालामा इटाली सरकारले बजेट कटौती गरेपछि काम अवरूद्ध छ
गोविन्द पोखरेल

काठमाडौँ — सगरमाथा आधारशिविर नजिकै लोबुचेस्थित पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला र अवलोकन केन्द्रमा काम अवरुद्ध भएको छ । सन् १९९० देखि सञ्चालनमा आएको पिरामिड प्रयोगशालाको बजेट कटौती भएपछि काम अवरुद्ध हुन पुगेको हो ।

चलेन पिरामिड प्रयोगशाला

विश्वकै सबभन्दा उच्च हिमाली क्षेत्रमा रहेको यो प्रयोगशाला संसारभरका वैज्ञानिकका लागि उत्कृष्ट अध्ययनस्थलका रूपमा चर्चित छ । इटालीको ईभी–के२–सीएनआर र नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को साझेदारीमा यो प्रयोगशाला हिमाली क्षेत्रको पर्यावरण, जलवायु अध्ययन गर्न स्थापना गरिएको हो ।

इटाली सरकारले प्रयोगशालालाई ईभी–के२–सीएनआरमार्फत बजेट उपलब्ध गराउँदै आएको थियो । बजेट सन् २०१४ देखि कटौती भएको छ । ‘बजेट अभावमा पिरामिडले ५ वर्षदेखि अनुसन्धान र तथ्यांक उपलब्ध गराउन छाडेको छ,’ ल्याबका प्रबन्धक काजी विष्टले भने, ‘यसको संरक्षण र सञ्चालनको जिम्मेवारी नास्टको हो तर उसले चासो देखाएको छैन ।’

प्रयोगशाला र अवलोकन केन्द्र खुम्बु उपत्यकामा पिरामिड ५ हजार ५० मिटरको उचाइमा छ । यसको व्यवस्थापन जिम्मा ईभी–के२–सीएनआर र नास्टको हो । ईभी–के२–सीएनआर सन् १९८९ मा स्थापना भएको एक इटालियन संस्था हो, जसले हिन्दुकुश, काराकोरम र हिमालय पर्वत क्षेत्रमा उच्च प्रविधि र वैज्ञानिक अनुसन्धान गर्छ । यसलाई इटाली

सरकारले आर्थिक सहयोग गर्दै आएको थियाे।

विश्वका १ सय ४३ वटा वैज्ञानिक संस्थाका २ सय २० जना अनुसन्धानकर्ताले प्रयोगशाला प्रयोग गरिसकेका छन् । यस क्रममा ५ सय २० वटाभन्दा बढी वैज्ञानिक अध्ययन भ्रमण भए भने १२ सयभन्दा बढी वैज्ञानिक दस्तावेज प्रकाशन भएका छन् ।

प्रदूषण र वातावरणीय स्वास्थ्यको सम्बन्ध जानकारी दिँदै रोगबारे विश्व स्वास्थ्य संगठनलाई मद्दत पुर्‍याउनुका साथै मानवशास्त्र, विज्ञान, सूचना र विकासबारे जानकारी दिई प्राकृतिक स्रोत संरक्षण र व्यवस्थापनमा मानवीय अतिक्रमण घटाउन प्रयोगशाला स्थापना गरिएको हो ।

उच्च प्राविधिक उपकरणहरूको सम्मिश्रण रहेको यो प्रयोगशालालाई विश्वकै नमुनाका रूपमा लिइन्छ । भौगोलिक विकटताका बावजुद विश्वको सबभन्दा बढी उचाइमा निर्माण गरिएकाले प्रयोगशालाको विशिष्ट महत्त्व रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विज्ञान विभागका उपप्राध्यापक एवं खुम्बु क्षेत्रमा आधा दशक अनुसन्धानमा संलग्न रहेका नारायण घिमिरेले बताए ।

यसमा जलवायु तथा भौगोलिक स्थिति अनुगमन गर्ने स्टेसनहरू छन् । ‘यी स्टेसनले वातावरणको तथ्यांक संकलन, विश्लेषण, मनसुन चक्रको उतारचढाव, प्रदूषणकारी तत्त्वहरूको अनुसन्धान, भूगर्भशास्त्र र हिमताल तथा हिमनदीका ज्ञान प्रवाह गराउँछन्,’ घिमिरेले भने ।

यस क्षेत्रमा रहेको हिमताल (गोक्यो, इम्जा) एवं हिमनदी (खुम्बु, चांग्रेनुप, इम्जा) हरूको अवस्था र तिनीहरूमा भइरहेको परिवर्तनको अध्ययन, अनुसन्धानलगायत उच्च हिमाली क्षेत्रको मौसमी अवस्थाबारे तथ्यांक संकलन गर्न प्रयोगशालाले धेरै ठूलो मद्दत गरेको जलवायु परिवर्तनका विज्ञ एवं त्रिवि विश्वविद्यालय केन्द्रीय वातवरण विज्ञान विभागका सहप्राध्यापक सुदीप ठकुरीले बताए । ठकुरी ईभी–के२–सीएनआरसँग २००६ देखि प्रत्यक्ष रूपमा वैज्ञानिक अनुसन्धानमा संलग्न रहँदै आएका थिए ।

मर्मत भएनन् उपकरण

पिरामिड ल्याबअन्तर्गतकै स्वचालित जलवायु केन्द्र अहिले बिग्रिएको छ । एरोसोल, ब्लायक कार्बन, पारोजस्ता प्रदूषणकारी तत्त्वहरूबारे जानकारी दिने सेन्सरहरू बिग्रिएका हुन् । दुई वर्षदेखि यो केन्द्रले तथ्यांक दिन छाडेको प्रबन्धक विष्टले बताए ।

स्वचालित मौसम मापन केन्द्रलगायतका अन्य महत्त्वपूर्ण केन्द्रका केही सेन्सर चलेका छैनन् । प्रयोगाशालाका प्रबन्धक विष्टअनुसार कालापत्थरमा रहेको स्वचालित मौसम मापन केन्द्रको ‘विन्ड सेन्सर’ मा समस्या आएको छ । पारो र कार्बनको मात्रा दुई वर्षदेखि मापन गरिएको छैन ।


स्वचालित मौसम मापन केन्द्र । तस्बिर सौजन्य: काजी विष्ट


बजेट नभएर उपकरण मर्मत हुन नसकेको विष्टले बताए । नेपालका तर्फबाट नास्टले प्रयोगशालाका लागि चाहिने स्रोत/साधन जुटाउन चासो नदेखाएको उनले बताए । ‘एनसीओपी (नेसनल क्लाइमेट अब्जर्भभेटरी) का सफ्टवेयरहरूमा पनि समस्या देखापरेको छ,’ उनले भने, ‘जीपीएस स्टेसन र स्वचालित मौसम मापन केन्द्रले तथ्यांक दिइरहे पनि केही कम्प्युटर बिग्रिएर थन्किएका छन् ।’ गत मंगलबार कालापत्थरको विन्ड स्पिड, विन्ड स्पिड सेन्सर परिवर्तन गरिएको विष्टले जानकारी दिए ।

अनुसन्धानमा पिरामिडको योगदान

पिरामिड प्रयोगशाला र जलवायु मापन केन्द्रको तथ्यांकबाट पछिल्लो अनुसन्धान सन् २०१५ मा प्रकाशित भएको थियो । ९ जना इटालियन, एक नेपाली र एक चाइनिज अनुसन्धानकर्ता मिलेर सन् १९९४ देखि २०१३ सम्मको हिमाली क्षेत्रको तापक्रम र वर्षा अध्ययन गरेका थिए ।

इटालियन वैज्ञानिक फ्रान्को स्यालार्नो, जियानी ट्यारटरी, सुदीप ठकुरीसहितको उक्त टोलीले प्रत्येक वर्ष शून्य दशमलव शून्य ४४ प्रतिशतका दरले हिमाली क्षेत्रमा तापक्रम बढिरहेको अनुसन्धनात्मक रिपोर्ट निकालेको थियो । यस्तै, त्यस क्षेत्रमा औसत वर्षा घटदो दरमा पाइएको थियो । जसमा प्रत्येक वर्ष ९ दशमलव ३ मिलिमिटरका दरले वर्षा घटदो पाइएको थियो ।

विष्टका अनुसार २० वर्षअघि कालापत्थरमा जाडोयाममा माइनस २७ डिग्री रेकर्ड गरिएको थियो । अहिले माइनस २३ रेकर्ड गरिएको सुनाए । ‘लोबुचेमा सन् २००६ मा माइनस २४ डिग्री तापक्रम रेकर्ड भएको थियो । गत वर्ष माइनस १७ डिग्री सेल्सियसमा पुगेको छ,’ विष्टले भने । ‘२० वर्षअघि यहाँ ९० सेन्टिमिटर हिउँ पर्थ्यो । २०१८ मा ४ सेन्टिमिटर मात्रै पर्‍यो । यसपालि अलिकति बढेर १९ सेन्टिमिटर पुगेको छ । २०१७ मा ७० सेन्टिमिटर थियो,’ विष्टले भने ।

शेर्पाहरूको फोक्सो अरूको भन्दो ठूलो हुनुका साथै उच्च हिमाली क्षेत्रमा उनीहरू ‘एडप्ट’ हुनुको कारणबारे थाहा पाउन यो प्रगोशालाको देन ठूलो रहेको नास्टका तत्कालीन योजना शाखा प्रमुख एवं प्राज्ञ रमेशमान सिंहले बताए ।


पन्छिँदै नास्ट

पिरामिड ल्याबको व्यवस्थापन ईभी–के२–सीएनआर र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले संयुक्त रूपमा गर्ने सम्झौता भएको थियो ।

सन् १९९१ मा नास्टका तत्कालीन सचिव एवं प्राज्ञ ऋषिविक्रम शाहले इटालीमा गएर प्रयोगशालाको व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौता गरेका थिए । ईभी–के२–सीएनआरले इटाली सरकारको सहयोगमा प्रयोगशालाका लागि चाहिने बजेट व्यवस्था गरिदिँदै आएको थियो । प्राज्ञ शाहले नास्टको कमजोरी कारण प्रयोगशाला सदुपयोग हुन नसकेको बताए ।


ईभी–के२–सीएनआरले सन् २००७/८ देखि नै प्रयोगशालाको सम्पूर्ण जिम्मेवारी नेपाललाई हस्तान्तरण गर्न खोजिरहेको थियो । प्राविधिक र आर्थिक कारण देखाउँदै नास्टको तत्कालीन नेतृत्व यसबाट पन्छिएको थियो । नास्टका एक जना प्राज्ञले भने, ‘नास्टले प्रयोगशालालाई गम्भीर रूपमा लिएकै देखिँदैन । विश्वको उच्च क्षेत्रमा रहेको प्रयोगशालालाई विश्वव्यापी बनाउनुको सट्टा नास्ट सुतेर बसेको छ । नास्ट आफैँ अग्रसर हुनुपर्छ । दाताले बजेट व्यवस्था नगरिदिए नास्टले बजेट उपलब्ध गराउनुपर्छ ।’

नास्टको उत्साहजनक सहभागिता नहुँदा र नेपाली अनुसन्धानकर्ताको संलग्नता अत्यन्त न्यून रहँदा पिरामिड सञ्चालनमा चुनौती थपिएको सहप्राध्यापक ठकुरी बताउँछन् । ‘नास्टको गैरजिम्मेवारीपनले वैज्ञानिक उपलब्धिहरू आदानप्रदान गरिरहेका बेला पिरामिड प्रयोगशाला बन्द हुने अवस्थामा पुगेको हो,’ उनले भने, ‘सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा छ । प्रयोशाला चलिरहँदा पनि नेपालले पूर्ण रूपमा व्यवस्थापकीय पक्ष लिन नसक्नु विडम्बना हो ।’ नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठले पिरामिड प्रयोगशालालाई नास्टले गम्भीर रूपमा लिएको दाबी गरे । ‘हामी छलफल गरेर अघि बढ्छौं,’ उनले भने ।

पिरामिड प्रयोगशालामा एक जनामात्र कर्मचारी छन् । कर्मचारी काजी विष्टले सन् २०१५ देखि तलब पाएका छैनन् । यसअघि ल्याबमा ५ देखि ७ जनासम्म कर्मचारी हुन्थे । नास्टका प्राज्ञसमेत रहेका वनस्पतिविद् प्राडा प्रमोदकुमार झाले पिरामिड प्रयोगशालाको विषयमा नास्ट नेतृत्वलाई पटकपटक ध्यानाकर्षण गराएको बताए ।

नेपाललाई ठूलो अवसर : भेर्जा

ईभी–के२–सीएनआरका प्रमुख टेक्निकल डाइरेक्टर जान पिटर भेर्जाले पिरामिड ल्याब नेपालका लागि ठूलो अवसर रहेको बताए । कान्तिपुरसँगको कुराकानीमा उनले नेपालले पिरामिड ल्याबमार्फत विश्वको ध्यान आफूतिर केन्द्रित गर्न सक्ने बताए ।

‘वैज्ञानिक जगतका लागि पिरामिड ल्याब ठूलो स्रोत हो,’ उनले भने, ‘इटाली र नेपालले प्रयोगशालाको दायरालाई विश्वभर विस्तार गर्न सक्छन् ।’ प्रयोगशालालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सबै गम्भीर हुनुपर्नेमा उनले जोड दिए । उनी पिरामिड ल्याब तथा अवलोकन केन्द्रका उपकरण मर्मत गर्नका लागि खुम्बु क्षेत्र पुगेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?