३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

काठमाडौंका दुई स्थानमा बम विस्फोट, ३ को मृत्यु, ७ जना घाइते

जनकराज सापकाेटा

काठमाडौँ — सुकेधारा र अनामनगरमा आइतबार अपराह्न सिलिन्डर बम विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । बम पड्किएर सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटमा ७ जना घाइते भएका छन् । सुकेधारामा ढलाने पुलनजिकको सटरभित्र र अनामनगरमा कोठाभित्र सिलिन्डर पड्किएको हो । मृतकको सनाखत भइसकेको छैन । 

काठमाडौंका दुई स्थानमा बम विस्फोट, ३ को मृत्यु, ७ जना घाइते

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले सोमबारका लागि आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेका सिलिन्डर बमहरु पड्किएका प्रहरीले जनाएको छ । घटनास्थलहरुमा प्रहरी टोली खटिएका छन् । घटनाको अनुसन्धान जारी छ । स्थानीयका अनुसार विस्फोटको ठूलो आवाजले आसपासका घरका सिसासमेत फुटेका छन् ।


सरकारले आफ्ना गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै दमन गरेको भन्दै चन्द समूहले भोलिका लागि बन्द आह्वान गरेको हो । मंगलबार भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागि घाइते तीर्थराज घिमिरेको बुधबार मृत्यु भएको थियो । घिमिरेको खुट्टामा गोली लागेको प्रहरीले बताएको थियो ।


उक्त जंगलमा चन्दका समूहका केही दर्जन कार्यकर्ता हातहतियारसहित बसेको सूचनाका अनुसार प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय भोजपुरका टोलीले गस्ती गरेका थिए । त्यसक्रममा प्रहरीमाथि नै आइलागेपछि गोली चलाइएको थियो ।



'विस्फोटनमा मृत्यु हुने विप्लव कार्यकर्ता हुनसक्छन्'


आइतबार काठमाडौंमा ग्यास विस्फोटनमा मृत्यु हुनेहरु चन्द समूहका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विस्फोटन भएका स्थानमा चन्द नेतृत्वको नेकपाको पर्चासमेत भेटिएको प्रहरीले दाबी गरेको छ ।


घटनास्थलहरुमा प्रहरीले अनुसन्धान जारी राखेका छन् ।


प्रकाशित : जेष्ठ १२, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?