कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित  मेला सकियो

अब स्टडी इन नेपाल अभियान : हिसान

काठमाडौँ — ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित छैटौं कान्तिपुर हिसान शैक्षिक मेला सम्पन्न भएको छ । चारदिने मेलामा २ लाख ५० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त रूपमा मेलाको आयोजना गरेको थियो ।  

‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित  मेला सकियो

हिसानले अर्को वर्षदेखि मुलुकभित्र क्षेत्रीय रूपमा शैक्षिक मेलाको आयोजना गर्ने र विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आकर्षित गर्न ‘स्टडी इन नेपाल’ अभियान अघि बढाउने जनाएको छ । ‘कान्तिपुर हिसान एडुफेयरको उद्घाटनका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आश्वस्त तुल्याउनुभएको छ,’ हिसानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक युवराज शर्माले भने, ‘अब हाम्रो अभियान स्टडी इन नेपाल भन्ने रहनेछ । नेपाललाई शैक्षिक गन्तव्य स्थल बनाउनेतर्फ हिसानले पहल गर्नेछ ।’


त्यसनिम्ति मुलुकमा सञ्चालित विद्यालयदेखि विश्वविद्यालय तहका ३० वटा शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम तथा भौतिक पूर्वाधार सम्पन्न तुल्याइने शर्माले बताए । ‘ती संस्थालाई अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन आवश्यक तयारी गराउने र राज्यबाट अनुदान दिलाउन पहल गरिनेछ,’ विद्यमान शैक्षिक संस्थाहरूमध्येबाट छनोट गरिने उल्लेख गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय बन्नका लागि न्यूनतम आधार तयार गर्न तीन/चार वर्ष लाग्छ ।


ती संस्थामा चीन, कोरिया, जापान, थाइल्यान्डलगायत दक्षिण एसियाका विद्यार्थीलाई ६ महिनादेखि चारवर्षे कोर्स पढ्न आउने बनाउन सकिन्छ । अंग्रेजी माध्यम, कम शुल्क, सबैखाले सुरक्षाको सुनिश्चितता, राम्रो हावापानी तथा वातावरणले उपयुक्त गन्तव्य बन्न सक्छ ।’


अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरी साझेदारीमा तिनका कार्यक्रम नेपालमा सञ्चालन गर्ने तथा विद्यार्थी आदानप्रदान गर्न सकिने शर्माको दाबी छ । दुई वर्षदेखि सुचारु नेपाल खुला विश्वविद्यालयलाई नयाँ प्रविधि प्रयोग गरी संसारभरि छरिएका नेपालीलाई शिक्षा दिने नीति अघि बढाउन सरकारी शिक्षण संस्थाले समेत हातेमालो गर्न जरुरी रहेको उनी बताउँछन् । त्यसैगरी, स्वदेशभित्र क्षेत्रीय रूपमा हिसान शैक्षिक मेलाको आयोजना गर्ने शर्माले बताए ।


सेलेब्रिटीका साथ समापन

शैक्षिक मेलाको अन्तिम दिन आइतबार विभिन्न सेलेब्रिटीका साथ दर्शकहरू झुम्मिएका थिए । ‘जात्रै जात्रा’ फिल्मका कलाकारहरू विपिन कार्की, राजाराम पौडेल, कालु राना, जेबी रुवाली, यादव पौडेल, सिंगे लामा उपस्थित थिए ।


त्यसैगरी हास्य कलाकार मनोज गजुरेलले विद्यार्थीमाझ कला प्रस्तुत गरेका थिए । ‘तपाईँ अंग्रेजी जान्नोस् र संसार घुम्नोस्,’ निष्कर्ष दिँदै गजुरेलले भने, ‘तर मातृभूमि, मातृभाषा र आमालाई कहिल्यै नभुल्नोस् ।’ हिसानले विज्ञप्तिमार्फत शैक्षिक मेलामा सहभागी विद्यार्थी, शैक्षिक संस्थाहरूलगायत प्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?