चन्द समूहको आतंक : राजधानीमा शृंखलाबद्ध विस्फोट

सुकेधारा : ३ को मृत्यु, ४ घाइते   
घट्टेकुलो : १ को मृत्यु, १ घाइते 
थानकोट : २ घाइते
जनकराज सापकोटा

काठमाडौँ — प्रतिबन्धित नेक्रवित्रम चन्द समूहले राजधानीका विभिन्न ठाउँमा आइतबार शृंखलाबद्ध विस्फोट गराउँदा ४ जनाको मृत्यु हुनुका साथै ७ घाइते भएका छन् । घट्टेकुलो, सुकेधारा र थानकोटमा विस्फोट गराइएका हुन् । सुकेधाराको विस्फोटमा तीन र घट्टेकुलोमा एक जनाको मृत्यु भएको हो । ती दुवै स्थानमा गरी ५ जना र थानकोटमा भएको बेग्लै विस्फोटमा दुई घाइते छन् । 

चन्द समूहको आतंक : राजधानीमा शृंखलाबद्ध विस्फोट

घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको घरमा अपराह्न करिब ४ बजेर २० मिनेटमा भएको विस्फोटमा शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) इकाईका विद्यार्थी नेता प्रज्वल शाहीको मृत्यु भएको छ । ४ बजेर ३० मिनेटमा सुकेधारास्थित एक सैलुनमा विस्फोट भएको थियो । राति ८ बजेतिर थानकोटको एक इँटाभट्टामा भएको विस्फोटमा चन्द समूहका दुई नेता घाइते भएको प्रहरीले जनाएको छ । थानकोट वृत्तका डीएसपी कुमार थापाका अनुसार विस्फोटमा बुद्ध लामा र अर्का एक घाइते भएका हुन् ।

घट्टेकुलो विस्फोटमा रवीन केसी र सुकेधारामा सुरेन्द्र महर्जन, हरि खड्का, छोटु ठाकुरसहित ४ जना घाइते छन् । केसी रुकुम सानुभेरी स्थायी घर भई त्रिचन्द्र क्याम्पसमा अध्ययनरत थिए । उनले प्रहरीलाई आफू प्रज्वल शाहीलाई भेट्न गएका बेला उनको कोठामा विस्फोट भएको बताएका छन् ।

घाइतेहरूको वीर अस्पताल र चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको छ । ओममा उपचाररत पाँचमध्ये तीन जनालाई सघन उपचार कक्षमा राखिएको छ । घाइते एक जनाको टाउकोमा गम्भीर चोट रहेको र अर्काको खुट्टाको भाग गुमेको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटका घाइते सुरेन्द्रको अनुहारमा तथा हरिको पेट र दुवै खुट्टामा चोट लागेको छ ।

महानगरीय प्रहरी कार्यालयले दुवै विस्फोटका घटनामा चन्द समूहको हात रहेको बताएको छ । प्रहरी कारबाहीका क्रममा भोजपुरमा गोली लागी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको विरोधमा सोमबार बन्द आह्वान गरेको चन्द समूहले त्यसैका लागि आतंक फैलाउन विस्फोटक सामग्री परीक्षण गर्ने क्रममा घट्टेकुलो र सुकेधारामा विस्फोट भएको प्रहरीले जनाएको छ । थानकोटमा भने विस्फोट सामग्री ओसार्ने क्रममा विस्फोट भएको अनुमान छ ।


प्रहरीले तीनै ठाउँमा प्रेसरकुकर बम पड्काइएको र विस्फोटको प्रकृति एकैखाले देखिएको जनाएको छ । महानगरीय प्रहरी कार्यालयका डीआईजी शैलेश थापाले घटनाको प्रारम्भिक अध्ययनमा प्रेसरकुकर विस्फोट भएको बताए । डीआईजी थापाले ‘घटनामा चन्द समूहको कथित सैन्य विभागका कार्यकर्ता संलग्न रहेको’ सूचना आएको बताए । प्रहरीले तीनै स्थानमा भएको विस्फोट शक्तिशाली रहेको अनुमान गरेको छ ।

घट्टेकुलोमा भुइँतलाको कोठामा भएको विस्फोटबाट घरको गाह्रो चर्किएको छ भने विस्फोटका बेला छिमेकका घरसमेत थर्किएको थियो । सुकेधारा विस्फोटमा मृतकको शरीरका अंग उछिट्टिएको देखिएको स्थानीयले बताएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलश थापाले घटना कसरी भयो र त्यसमा संलग्न व्यक्तिहरू कसरी परिचालित भएका थिए भन्नेबारे थप अनुसन्धान भइरहेको बताए । उनले राजधानीको सुरक्षा व्यवस्था कडा पार्न थप प्रहरी परिचालित गरिएको जानकारी दिए । सादा पोसाकका प्रहरी परिचालन गरिएको, नाकाहरूमा जाँच कडा बनाइएको र अनुसन्धानमा पोख्त कुकुरहरूको प्रयोग सुरु गरिएको उनले बताए ।


चन्द समूहका ७ पक्राउ

प्रहरीले विस्फोटक पदार्थसहित चन्द समूहका ७ जनालाई कोटेश्वरको नरेफाँटबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी गोविन्द काफ्लेले नरेफाँटस्थित एक घरबाट पक्राउ परेकाको साथबाट चारवटा प्रेसरकुकर, बन्द आह्वान गरिएको पम्प्लेट र बाँसको भाटा फेला परेको बताए ।

४ ठाउँमा सेनाद्वारा डिस्पोज

ललितपुरको लगनखेलस्थित बसपार्क, सानेपा, ग्वार्को र काठमाडौंको अनामनगरमा दिउँसो विस्फोट भएकै घरमा बेलुकी शंकास्पद प्रेसरकुकर फेला परेका छन् । चारै स्थानमा भेटिएका कुकरलाई बेलुकी नै सेनाले डिस्पोज गरेको छ ।

सुरक्षा कडा पार्नू : गृहमन्त्री

विस्फोटका घटनालगत्तै गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सबै सुरक्षा निकायलाई कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदीले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७६ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?