२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

महन्तले बेचे गुठीको जग्गा

माधव ढुंगाना

भैरहवा — गुठीको करोडौं मूल्य पर्ने जग्गा यहाँका एक महन्तले आफ्नो स्वामित्वमा ल्याएर बिक्री गरेका छन् । सिद्धार्थनगर–६, गल्लामन्डीस्थित लक्ष्मीनारायण मठको कित्ता नम्बर १६५ को ३ कट्ठा ५ धुर जग्गा महोत्तरीका महन्त जगन्नाथदास वैष्णवले गत वैशाख १६ गते सिद्धार्थनगर–१० का उदयमान पाण्डे र साविकको वसन्तपुर–५ का सञ्जयप्रसाद पाण्डेलाई बेचेका हुन् ।

मालपोत कार्यालयमा सरकारी दररेटअनुरूप ६१ लाख रुपैयाँमा बिक्री गरेको देखिएको छ । उक्त जग्गाको मूल्य चलनचल्तीमा तीन करोड रुपैयाँभन्दा बढी रहेको दाबी स्रोतको छ ।


महन्तले आफ्नो स्वामित्व ल्याएर बेचेपछि जिल्ला प्रशासन कार्यालयले समिति बनाएर छानबिन थालेको छ । ०३२ सालको नापीअनुसार उक्त जमिन गाउँ ब्लक रहेको (व्यक्तिको नछुट्याई एकमुष्ट रूपमा नापिएको) उक्त जग्गा ०३८ सालमा छुट कित्ता भनी वैष्णवका नाममा दर्ता गरिएको थियो ।


‘छुट कित्ता दर्ताका लागि हुनुपर्ने निर्णय केही देखिएको छैन,’ छानबिन समिति संयोजक तथा नापी कार्यालय प्रमुख अजित कुँवरले भने । उनका अनुसार ०७० वैशाख ४ को निर्णयबमोजिम नाम कायम रहेको फिल्डबुकमा उल्लेख गरिए पनि निर्णय भेटिएको छैन । भैरहवामा कहिल्यै बसोबास नगरेका महन्तले जग्गा बिक्री गर्दा बाबु–बाजेको नाम लेख्नुपर्ने ठाउँमा गुरुको नाम उल्लेख गरेका छन् ।


वर्षौंदेखि जमिन सियारी गाउँपालिका–३, भैंसाखादरको रामजानकी मन्दिरले भोगचलन गर्दै आएको थियो । रामजानकी मन्दिर, लक्ष्मीनारायण मठ मटिहानीस्थानको शाखा हो । स्थानीयका अनुसार रामजानकी मन्दिरका तत्कालीन महन्त रामलोचनदास वैष्णवले उक्त जमिन मन्दिर निर्माण गर्न भनेर स्थानीय जमिनदारसँग किनेका थिए ।


किनेदेखि मन्दिरले भोगचलन गर्दै आएको थियो । महन्त रामलोचनदासको मृत्युपछि रामजानकी मन्दिरको स्वामित्वमा आउनुपर्ने जग्गा आफ्नो नाममा दर्ता गराउन जगन्नाथदास सफल भए । ‘रामलोचनदास बाबाले वर्षौंअघि जमुना साहु नामका जमिनदारबाट मन्दिर बनाउन जमिन किनेका हुन्,’ जमिनको पूर्वतर्फका सँधियार ७३ वर्षीय सुरेन्द्रनारायण मल्लिकले भने, ‘रामलोचनको देहान्तपछि उक्त जमिन स्वतः गुठीको नाममा हुनुपर्ने हो ।’ महन्त वैष्णवले ०३८ सालतिर आफ्ना केही सहयोगीलाई मिलाएर जमिन हत्याएको र आफू सँधियार भए पनि अहिलेसम्म हस्ताक्षर नगराएको दाबी उनले गरे ।


गुठी संस्थानको नियमअनुसार महन्तले व्यक्तिगत किनेको बाहेक गुरुको नामबाट आर्जन भएको जमिनको नामसारी र बिक्री गर्न पाइँदैन । मालपोतको निर्देशिकामै यस्तो जग्गा निजी हो वा गुरुको नामबाट आर्जन भएको हो, छुट्याएर माक्रै बित्री गर्न पाइने प्रावधान छ । महन्तले प्रवचन गरेर, दानबाट ल्याएर वा कुनै स्वआर्जनको निजी जमिन माक्र बित्री गर्न मिल्छ ।


ऊक्त जमिन बित्री गर्दा जगन्नाथले बुबाको नाम आफ्ना गुरु कौशलकिशोरदास वैष्णव लेखाएका छन् । ‘यो जमिन बिक्री गर्न पाइँदैन, गुरु आर्जन भएर आएको जमिनको नामसारी गराउन मिल्दैन,’ गुठी संस्थानका कार्यकारिणी प्रमुख नारायण चौधरीले भने, ‘कुनै कारणले नामसारी गराइहालेको भए पनि गुरु आर्जन बेच्न पाइँदैन ।’ त्यो जमिन महन्त जगन्नाथले व्यक्तिगत किनेको नभई अरूबाट नामसारी भई आएकाले बिक्री गर्न नपाइने चौधरीले बताए ।


चौधरीका अनुसार यसबारे गुठी संस्थानले कारबाही प्रक्रिया अघि बढाएको छ । ‘यसमा संलग्न को–को कारबाहीमा पर्छन्, छानबिनपछि मात्र भन्न सकिन्छ,’ चौधरीले भने, ‘बदमासी पुष्टिपछि जगन्नाथको महन्त पदवी कायम नरहन सक्छ ।’ महन्त जगन्नाथले गुठीको नझएर व्यक्तिगत स्वामित्वको जमिन बित्री गरेको दाबी गरे ।


‘व्यक्तिगत नाममा भएको जमिन बिक्री गर्न पाउनु मेरो अधिकार हो,’ उनले भने, ‘०३७ सालतिर त्यो जमिन मेरो नाममा नामसारी भएको थियो ।’ रामजानकी मन्दिर भैसाखादरका संरक्षक रवीन्द्रदास वैष्णवले मन्दिरले भोगचलन गर्दै आएको जमिन महन्त जगन्नाथले षड्यन्त्र रचेर बित्री गरेको आरोप लगाए । रवीन्द्र महन्त जगन्नाथका शिष्य तथा उत्तराधिकारी हुन् ।

प्रकाशित : जेष्ठ १३, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?