२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

हिंसात्मक गतिविधिमा चन्द समूह

हिंसात्मक गतिविधि रोकेर चन्द समूहले ठोस रूपमा माग प्रस्तुत गर्नुपर्छ । हामी सहजीकरण गर्छौं ।– जनार्दन शर्मा, नेकपा नेता 
दुर्गा खनाल

काठमाडौँ — नेत्र विक्रम चन्द समूहले संघीय राजधानीमा गरेको शृंखलाबद्ध विस्फोट र सोमबारको बन्दले हिंसा पुनरावृत्ति हुने शंका बढाएको छ । आइतबार राजधानीमा विस्फोट हुँदा चार जनाको ज्यान गयो । सोमबार पनि मुलुकका विभिन्न स्थानमा बम भेटिए, सवारीसाधनमा आगजनी भयो । यसले सर्वसाधारणमा भय सिर्जना भएको छ । 

हिंसात्मक गतिविधिमा चन्द समूह

गृहमन्त्री रामबहादुर थापाले संघीय संसदको बैठकमा चन्द समूहले लडाकु दस्ता रहेको चारवटा कम्पनी निर्माण गरेको र उपत्यकालाई कारबाहीको निशाना बनाएको जानकारी दिएका छन् । यो सूचनाले चन्द समूहको शक्ति विस्तार हुँदै गएको संकेत दिन्छ ।


सरकारले त्यस समूहका गतिविधिलाई गत फागुनमा प्रतिबन्ध घोषणा गरेको थियो । यसपछि चन्द समूह झन् आक्रोशित बनेको देखिन्छ ।


चन्द समूहले गत फागुनमै एनसेलको कार्यालयअघि एक जनाको ज्यान जाने गरी विस्फोट गराएपछि सरकारमाथि शान्ति सुरक्षा कायम गर्नुपर्ने चुनौती थियो । त्यसैले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाइएको थियो ।


प्रतिबन्धपछि वार्ताको माहौल बन्ने भन्दै केही नेताले आन्तरिक पहलसमेत गरिरहेको सूचना बाहिर आएको थियो । गत साता भोजपुरमा उक्त समूहका एक जना कार्यकर्ता तीर्थराज घिमिरे प्रहरीको गोली लागी मारिए । त्यसको विरोधमा आइतबार र सोमबार आतंक फैलाउने घटना गराइएका छन् ।


यो घटनापछि प्रधानमन्त्री केपी ओलीले चन्द समूहलाई ‘आतंककारी’ को संज्ञा दिएका छन् । ‘हिजो बम पडकाउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?’ राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संविधानबमोजिम भएको निर्वाचनबाट बनेको सरकार छ, अब के चाहियो ?’ चन्द समूहको उद्देश्य नै पैसा उठाउनेबाहेक केही पनि नभएको प्रधानमन्त्रीको टिप्पणी थियो । ‘नेपाललाई अशान्तितिर लैजाने प्रयासलाई सरकारले रोक्छ,’ उनले भनेका छन् ।


यस्ता घटनाक्रम बढदै गए सरकार र चन्द समूहको दूरी झन् बढ्ने भएकाले दुवै पक्ष तत्काल वार्तामा बस्नुको विकल्प नभएको सत्तारुढ दलका नेताहरू नै बताउँछन् । उनीहरूले वार्ताबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।


‘यस्तो गतिविधिले कहीँ पुगिन्न, वार्तामा बस्नुपर्छ,’ नेकपाका स्थायी समिति सदस्य एवं चन्द समूहलाई वार्तामा ल्याउन आन्तरिक पहल गरिरहेका नेता जनार्दन शर्माले कान्तिपुरसँग भने, ‘विप्लव (चन्द) जीले आफ्नो माग ठोस रूपमा प्रस्तुत गर्नुपर्छ, हामी सहजीकरण गर्छौं ।’ हिंसात्मक गतिविधि गरिरहेको अवस्थामा वार्तामा बस्न समस्या हुने भन्दै उनले यस्ता गतिविधि रोकेर चन्द समूहले माग प्रस्तुत गर्नुपर्ने बताए ।


सरकारले गत फागुनमा चन्द समूहको गतिविधिमा रोक लगाएपछि नेकपाभित्रै पनि नेताहरूको ठूलो समूहले राजनीतिक ढंगबाटै समस्या समाधान गर्न पहल गर्नुपर्ने भन्दै नेतृत्वलाई दबाब दिएको थियो । त्यसपछि तत्कालीन माओवादी पृष्ठभूमिका नेताहरू चन्द समूहलाई मूलधारमा ल्याउन सकिने विश्वाससहित अनौपचारिक सम्पर्कमा छन् ।

चन्द समूहप्रति नेकपाको पूर्वमाओवादी खेमा केही नरम छ । शर्मालगायतका दोस्रो तहका नेता मात्र होइन, अध्यक्ष पुष्पकमल दाहालको बोली पनि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको भन्दा फरक छ ।


सोमबार प्रधानमन्त्री ओलीले चन्द समूहलाई ‘आतंककारी’ को संज्ञा दिइरहँदा अर्का अध्यक्ष दाहालले भने चन्द समूहका गतिविधि अब धेरै अघि नजाने र पछिल्लो घटना वार्ताको एउटा प्रस्थान विन्दु हुनसक्ने बताए ।


‘मलाई लाग्छ यो अन्तिम हुनुपर्छ । उहाँहरू अन्ततः वार्तामा आउनुको विकल्प छैन,’ उनले भने, ‘उहाँहरूले गरिरहेको बन्द इत्यादि प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो भन्ने मलाई लागिरहेको छ ।’ उनले भित्रभित्रै वार्ताको पहल भइरहेको हुनसक्ने पनि संकेत गरेका छन् । चन्द समूह पूर्वमाओवादीबाट छुट्टिएको हो ।


त्यसैले चन्दको राजनीतिक रसायन नेकपाभित्रको पूर्वमाओवादी समूहलाई बढ्ता थाहा छ । त्यही पृष्ठभूमिका रामबहादुर थापा गृहमन्त्री छन् । ‘सरकारले आफ्नो ढंगले पनि पहल गर्ला, हामी पनि वार्ताका लागि पहल गर्छौं । मुख्य कुरा माग स्पष्ट रूपमा आउनुपर्‍यो,’ नेकपा नेता शर्माले भने ।


सरकारले गत साउनमा पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा राजनीतिक वार्ता टोली बनाएको थियो । उक्त टोलीले चन्द समूहसँग अनौपचारिक पहल गरेको थियो । उक्त समूहबाट पक्राउ परेका खड्गबहादुर विश्वकर्मालगायत नेतालाई छुटाउन वार्ता टोलीले लबिइङ गरेको थियो । ‘पक्राउ परेका व्यक्ति छुटेपछि उहाँहरू अलिक फरक ढंगले अघि बढ्नुभयो, वार्तातर्फ ध्यान दिनुभएन,’ तत्कालीन सरकारी वार्ता टोलीका संयोजक पाण्डेले भने ।


उनका अनुसार त्यसबेला चन्द समूहका झन्डै एक दर्जन केन्द्रीय नेतासँग कुराकानी भएको थियो । पक्राउ परेका विश्वकर्मालगायतका नेता छुटेपछि चन्द समूह शक्ति सञ्चय गर्नतर्फ लाग्यो । ‘व्यक्तिहरू नै मारिन थालेपछि सरकारले पनि बाध्य भएर गतिविधिमा प्रतिबन्ध लगाएको हो । त्यसैका कारण वार्ता नै नगर्ने भन्ने अडानमा कोही पनि रहनुहुन्न,’ पाण्डेले भने, ‘सरकार पनि केही लचिलो बन्नुपर्छ र हिंसात्मक काम चन्द समूहले पनि बन्द गर्नुपर्छ, वार्ताबाटै निकास निकाल्नुपर्छ ।’


हिंसात्मक गतिविधि जति नै ठूलो भए पनि त्यसको निकास वार्ता र शान्तिपूर्ण प्रयासबाट मात्र निस्किन्छ भन्ने माओवादी आन्दोलनभित्रै एउटा ठूलो उदाहरण छ । त्यसैले चन्द समूह सधैँ हिसात्मक गतिविधि जारी राखेर वार्ताबाट निरपेक्ष बसिरहन कठिन छ । वार्ता समाधानको विधि हो भन्ने बुझाई चन्द समूहमा पनि छ । यसको पुष्टि गत जेठ ३ गते महासचिव चन्दले ‘इरातोखबर टीभी’ लाई दिएको अन्तर्वार्ताबाट हुन्छ ।


गुणराज लोहनीसँगको उक्त अन्तर्वार्तामा चन्दले भनेका छन्, ‘जनता र राज्य, विद्रोही र सत्ता पक्ष, एऊटा राज्य र अर्को राज्य, संघर्षशील शक्ति र दमन गरिराखेको शत्तिका बीचमा वार्ता हुने र भइराखेका छन् । यसको हामी निरपेक्ष विरोध वा समर्थन गर्दैनौँ । वार्ता हुँदै हुँदैन भन्ने कुरा होइन र सजिलै भइहाल्छ भन्ने पनि होइन । प्रयोगले के साबित गरेको छ भने समस्या आएपछि, संघर्ष र विद्रोह भएपछि वार्ता हुन्छ । वार्ता पनि राजनीतिको एक भाग हो ।’

प्रकाशित : जेष्ठ १३, २०७६ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?