बढ्दै हिमखाडल

कुम्भराज राई

सोलुखुम्बु — सगरमाथा आधारशिविरदेखि थुक्लासम्म फैलिएको खुम्बु ग्लेसियर (हिमखाडल) बर्सेनि बढ्दै गएको छ । ७ हजार ६ सय मिटर लामो ग्लेसियर गहिरिने र भत्किने क्रम झनै बढेको हो । यसले सगरमाथा आधारशिविर जाने बाटो विगतको तुलनामा थप जोखिमयुक्त बन्दै गएको छ । 

ग्लेसियरबाट बग्दै आएको खोला गहिरिएपछि थुक्ला आसपासका पुरानो बाटो र अस्थायी पुल सबै बगिसकेका छन् । यात्रुहरू गोरक्सेप पुग्नुअघि ग्लेसियरले तानेको पहिरो छिचोलेर जानुपर्ने बाध्यता छ ।

‘तलबाट ग्लेसियरको पानी बगिरहेको छ । माथिको ढुंगा टेकेर हिँड्नुपर्ने अवस्था छ,’ एक पथ प्रदर्शक लाक्पा लामाले भने, ‘जोखिम यस्तो छ कि पहिरो वा सानोतिनो भूकम्पमात्र गए पनि बाँच्ने अवस्था छैन ।’ ग्लेसियरको चौडाइ बढ्दै गएपछि तीन वर्षअघि गोरक्सेपमा निर्माण गरिएको हेलिप्याड पहिराले लगिसकेको छ । अर्को हेलिप्याड निर्माण गरे पनि ग्लेसियरको पहिरो बस्तीको २० मिटर नजिक आइपुगिसकेको छ ।

‘गोरक्सेप, लोबुचे, थुक्ला तीनैवटा बस्ती जोखिममा छन्,’ स्थानीय पासाङ शेर्पाले भने, ‘त्योभन्दा तलका बस्तीलाई पनि बिस्तारै असर पुर्‍याउने स्थिति छ ।’ ग्लेसियरको आकार र गहिराइसँगै लम्बाइ पनि बढ्दै जानुको प्रमुख कारण हिउँ पग्लिने क्रम बढेको शेर्पा तथा आरोहीको भनाइ छ ।

‘सन् २००३ र अहिलेको आधारशिविर मात्र हेर्ने हो भने अहिले हिउँ छैन भन्दा फरक पर्दैन ।’ क्लाइम्बिङ शेर्पा छिरिङजाङ्बु शेर्पाले भने, ‘यसरी हिउँ पग्लिँदै जाने हो भने ग्लेसियर कत्रो हुने हो, अनुमान पनि गर्न सकिन्न ।’
सगरमाथामै हिउँको मात्रा बर्सेनि घटेको २४ पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाले बताए । उनले अहिले सगरमाथामा हिउँभन्दा बढी चट्टानमात्र देखिन थालेको बताए ।

पर्यटन व्यवसायीले भने आधारशिविर जाने बाटोको जोखिम कम गर्न खुम्बुपासाङल्हामु गाउँपालिकाले कम्तीमा पर्यटकीय मौसमका बेला भए पनि बाटो मर्मत गर्नुपर्ने बताए । गोरक्सेप पुग्नुअघि पहिरोमा याकसमेत हिँड्न नसक्ने अवस्थामा बाटो भए पनि गाउँपालिकाले कुनै काम गर्न नसकेको उनीहरूको आरोप छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्

खुम्बुमा खुम्चिए पर्यटक

कुम्भराज राई

नाम्चे, सोलुखुम्बु — केही वर्षयता सोलुखुम्बुको खुम्बु क्षेत्रमा एकैनाशले पर्यटकको आगमन हुन सकेको छैन । विभिन्न कारणले पर्यटक कहिले हात्तै बढ्ने र कहिले घट्ने गरेका छन् । संसारकै अग्लो शिखर सगरमाथाका कारण खुम्बु क्षेत्र पर्यटकको पहिलो रोजाइमा परे पनि उनीहरूको आगमन स्थिर हुन नसकेको हो ।

सन् २०१७ मा ५० हजार ३ सय ८८ ले खुम्बु क्षेत्र घुमेका थिए । सन् २०१८ मा ५७ हजार ७ सय २९ ले खुम्बु क्षेत्र प्रवेश गरेको तथ्यांक सगरमाथा राष्ट्रिय निकुञ्जसँग छ । सन् २०१९ को मे–अप्रिलसम्म २० हजार ३ सय १६ जना विदेशी पर्यटक खुम्बु क्षेत्रमा आइसकेका छन् ।

खुम्बुमा तथ्यांक हेरेर पर्यटक आउने अनुमान गर्न गाह्रो हुने गरेको होटल व्यवसायी बताउँछन् । ‘यसपटक पर्यटक भित्रिने बेला नै सरकारले काठमाडौंको एयरपोर्ट पिचको काम थालेर यता आउने पर्यटकलाई मन्थलीबाट उडाउन थाल्यो,’ नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले भने, ‘यसले पनि यता आउन चाहने पर्यटकले रुट फेरेर अन्तै घुम्न गए । ठूलो असर पर्‍यो ।’

सिजनकै बेला यस्तो काम गर्दा खुम्बुको पर्यटन प्रभावित भएको बारे सरकार बेखबरजस्तै भएको लामाकाजीले बताए । भूकम्पपछि खुम्बुमा पर्यटक केही मात्रामा बढ्न थालेका थिए । पछिल्लो समय गाउँपालिका, होटल व्यवसायी सबैले शुल्क उठाउन थालेको सन्देशका कारण पनि पर्यटकको रुचि अन्तै मोडिएको पर्यटक पथ प्रदर्शकहरूले बताए ।

‘होटलको कोठाको पैसा भन्दै बाटोमा चन्दा जसरी जबरजस्ती पर्यटकबाट पैसा असुल्न थाल्दासमेत संसारभर खुम्बुको सन्देश नकारात्मक रूपमा गयो,’ एक पथ प्रदर्शकले भने, ‘यसमा खुम्बुका केही बदमास प्रवृत्तिका होटल व्यवसायी संलग्न छन् । जसलाई सरकारले कारबाहीसमेत गर्न सकेको छैन ।’

दिङबोचेमा होटल व्यवसाय गर्दै आएका गेलु शेर्पाले भने खुम्बुको बदनाम हुनुको पछाडि ट्रेकिङ व्यवसायको नाममा स्थापना भएका झोले कम्पनीहरू र होटल व्यवसायीबीचको द्वन्द्व भएको बताए । ‘सबै कम्पनी खराब छैनन् । झोलामा कम्पनी राखेर नाफा कमाउन चाहने ट्रेकिङ कम्पनीलाई सरकारले व्यवस्थापन गर्दा गलत सन्देश गएको हो,’ उनले भने, ‘यसका लागि ट्रेकिङ कम्पनी, कम्पनीका कर्मचारी र खुम्बुका होटल व्यवसायी बसेर छलफल गर्ने हो भने समस्या समाधान हुन्छ ।’

प्रकाशित : जेष्ठ १३, २०७६ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्